पोखरा, १३ चैत । नारायणस्थान धार्मिक क्षेत्र विकास समिति, रामानन्दाचार्य ध्यान साधना केन्द्र र नरनारायण बाबा आश्रम पोखराको संयुक्त आयोजनामा यही चैत २६ देखि २०७३ वैशाख ४ गतेसम्म पोखरामा रामनवमी महोत्सव हुने भएको छ ।
नरनारायण बाबा आश्रम रामघाट पोखरामा हुने महोत्सवमा महायोगी सिद्धबाबा वैष्णव कृष्णदासजी महाराजको ध्यान समाधिसहित नौ दिनसम्म १०८ जनाबाट रामचरितमानस रामायण पाठ गरिने छ ।
महोत्सव आयोजक समितिका सदस्य गोविन्दबाबु तिवारीका अनुसार चैत शुक्ल प्रतिपदा चैत २६ गते बृहत् रामार्चन पूजा र द्वितीयादेखि नवमी (२७ गतेदेखि ४ गतेसम्म) सम्म लघु पद्धति अनुसार रामार्चन पूजा गरिने छ ।
महोत्सवलाई व्यवस्थित बनाउन अर्थ व्यवस्थापनमा मदन शर्मा, भोजन व्यवस्थापनमा भोला बराल, ध्वजारोहणमा महेश पराजुली, पूजा व्यवस्थापनमा वासुदेव अधिकारी र रामजी वास्तोला, प्रचारप्रसारमा विनोदचन्द्र बराललाई संयोजकको जिम्मेवारी दिइएको छ ।
पाँच हजार आर्थिक सहयोग
नारायण स्थान क्षेत्र विकास समितिअन्तर्गत नारायण स्थान क्षेत्रको भौतिक संरचना निर्माणका लागि सञ्चारकर्मी एवम् रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले रु पाँच हजार नगद सहयोग प्रदान गर्नुभएको छ ।
पौडेलले महायोगी सिद्धबाबा कृष्णदासजी महाराजमार्फत शुक्रबार नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीलाई उक्त सहयोग रकम प्रदान गर्नुभएको हो ।
प्रतिक्रिया