हलेसीमा निर्माणको काम सुरु

इनेप्लिज २०७२ चैत १२ गते २:२८ मा प्रकाशित

खोटाङ, १२ चैत । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीको गुरुयोजना मुताबिक निर्माण कार्य सुरु गरिएको छ ।

मन्दिरको जग्गा स्थानीय जनताबाट अतिक्रमण भई घरटहरा निर्माण गर्ने क्रम बढेपछि गुरुयोजना मुताबिक निर्माण कार्य अघि बढाइएको हो ।

निर्माण कार्यका लागि समितिको नाममा रहेको जग्गा तथा साँध सिमानाको सर्भेक्षण गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मर भुजेलले बताउनुभयो । “विगतमा बनाइएका गुरुयोजनाको समीक्षा गर्दै आगामी गुरुयोजनाबारेमा छलफल र सर्भेक्षण गर्ने काम सम्पन्न भएको छ,” उहाँले भन्नुभयो – “यसलाई चाँडै सार्वजनिक गर्ने तयारी गरेका छौँ ।”

निर्माणसँगै हलेसीको दीर्घकालीन विकासका लागि तीनवटा विषयलाई पहिलो प्राथमिकतामा राखिएको निर्देशक भुजेलको भनाइ छ । मुख्यरुपमा मन्दिर क्षेत्रको पहिचान गरी दिगो विकासका लागि के गर्न सकिन्छ भन्ने कुरालाई समेटिएको भुजेलले बताउनुभयो ।

मन्दिरलाई पर्यटकीय हिसाबले लोभ लाग्दो र शानदार बनाउन अतिक्रमित जग्गाको पहिचान गरी राज्यसँग मुआब्जा माग गर्न र मन्दिर आसपासको जग्गा मन्दिरको नाममा ल्याउन समिति लागिपरेको छ ।

मन्दिर क्षेत्रको दिगो विकासका लागि जग्गा एकीकरण गरी बजार लाग्ने चौरको १६ रोपनी जग्गा, महत वनको जग्गा र वरिपरिका सार्वजनिक जग्गालाई मन्दिरको नाममा ल्याउने विषयलाई समेत गुरुयोजनामा समेटिएको छ ।

निजी जग्गालाई राज्यसँग उचित क्षतिपूर्ति माग गरी मन्दिरको नाममा ल्याउने विषयलाई समेत गुरुयोजनामा समेटिएको निर्देशक भुजेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “गुरुयोजना लागू गरेर हलेसीको विकास गर्नसके समग्र जिल्लाको मुहार फेरिन्छ ।”

हलेसीको गुरुयोजनाका लागि चार किल्लासमेत तोकिएको छ । सञ्चालनमा रहेको सडकलाई परिवर्तन गर्ने, पूर्वमा महत वन, दक्षिणमा लोकमार्ग, पश्चिममा पञ्चवतिदेखि लाकुरी भञ्ज्याङ र उत्तरमा पुरीडाँडा वा स्वास्थ्य चौकीसम्मको क्षेत्रलाई चार किल्लाका रुपमा आकलन गरिएको छ ।

गुरुयोजना लागू गर्नसके केन्द्रबाट आएको रकमसमेत एकद्वार प्रणालीबाट खर्च गर्न सकिने हलेसी विकास समितिका अध्यक्ष खडेन्द्र राईले बताउनुभयो । “सर्भेक्षणका क्रममा हलेसीको जग्गा ३५ रोपनी देखिएको छ,” उहाँले भन्नुभयो – “यसलाई लागू गर्न सबै पक्षले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।”

हिन्दू, बौद्ध र किराँतको धार्मिकस्थलका रुपमा प्रसिद्ध महादेवस्थान–४ मा रहेको हलेसीमा गाडी, पैदल यात्रा र हेलिकप्टरबाट पर्यटक आउने गरेका छन् । यहाँ दुई वटा गुफा छन् । एउटा गुफा शिवलिङ्गको पश्चिमपट्टि पर्दछ । यसलाई बसाह गुफा भनिन्छ । सरदर १५० फिट लम्बाइ, २० फिट चौडाइ र १५ फिट उचाइ भएको यस गुफाको प्रवेशद्वारसँगै बसाहको आकृतियुक्त पत्थर र शिवलिङ्ग रहेको छ जसलाई महादेव भगवान्को रुपमा पूजा गरिन्छ ।

हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र तीजमा एक दिन मेला लाग्ने गर्छ । मेला भर्न नेपालका साथै भारत, चीन, भुटान, तिब्बत, जापान, श्रीलङ्कालगायतका भक्तजनको ओइरो लाग्ने गरेको छ ।

प्रतिक्रिया