डियर ह्यारी,
नमस्ते,
हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थ क्वेक ? परदेशमा काम गर्दा गर्दै टेलिभिजनमा देखेँ तिमीलाई, तिमी त कोहि नपुगेको भुकम्प पिडितका च्यातिएका त्रिपाल मुनि पुग्यौ रे , भत्किएका घर मुनि गयौ रे, अनि आँखामा आँशु टिल पिल गर्दै गरेका चेलीहरु संगै बसेर दुख साट्यौ रे !
म खुशीले रोएँ ह्यारी । म चाहन्थे मेरा आँशुहरु निरन्तर झरिरहून, त्यसको एउटा खहरे बनोस र हाम्रा दुख बगाओस। मैले यो चिट्ठी तिमीलाई अंग्रेज़ीमा लेखिन किनकि यो तिमीले हैन हाम्रा धेरै नेपालीले पढ्नु छ । यहि चिट्ठीले हामी मध्ये कसैको आँखा खोल्छ कि भन्ने मलाई लागेको छ ।
ह्यारी, तिमी त युवराज मान्छे,त्यो पनि संसारकै शक्तिशाली देश मध्ये एकको । तिमी त आफ्नो जागिर गर्छौ, देशको लागि सेना भएर लड्छौ, तर हामी साधारण नेपाली भन्दा पनि सामान्य छौ , हामीले भन्दा बढि शिर निहुरिएर शिष्टाचार गर्छौ । तर उफ़ ! हाम्रा युवराजहरु के के गर्छन यो सानो चिट्ठीमा के लेख्नु र ? बि. बि. सी. लाई सोध्नु न है !
मेरो प्यारो राज कुमार , तिमी त लडाईको मैदानमा खट्ने मान्छे, गुण पनि त गोर्खालीको जस्तै छ नि है । त्यसैले त तिमी हाम्रा झुप्रोमा अटाएछौ, हाम्रा त्रिपालमुनि अटाएछौ , भत्केका घरहरुमा अटाएछौ, यो भन्दा बढि श्रद्दा अरु के हुन सक्थ्यो र ? तिमी मलाई मात्रै हैन धेरै भुकम्प पिडितलाई धुरुक्कै रुवायौ ह्यारी ।
हाम्रा युवराज र नवयुवराजहरु आफ्नै देश लुट्न उद्दत छन तर तिमी त लुटिएको देशमा मलम पट्टि लगाउँदैमा ब्यस्त छौ । तिमी भत्किएका वस्तीमा पीडा सुन्दैछौ रे तर त्यहिंका भुकम्प पिडितका नाममा आएको जस्ता र त्रिपाल निलेर बसेका छन हाम्रा नव युवराजहरु ।
मेरो प्यारो ह्यारी ,
तिमीलाई चिट्ठी लेख्दा श्रद्दाका अाँशु झरिरहेछन , तिमी ईशाई भएर टिका लगाईरहेछौ, मन्दिर धाईरहेछौ, होली खेलीरहेछौ तर यहाँ मान्छेहरु धर्म र स्वाभिमान बेचिरहेका छन, तिमी गल्ती गरेकोमा प्रायश्चित गर्छौ तर यहाँ घुस्याहाहरु घुस खाएकोमै गर्व गर्छन , पटक पटक गल्ती गर्छन तर कहिल्यै सुध्रदैनन । विडम्बना ह्यारी , बिडम्वना यहाँ त भ्रष्टाचारीहरु हाई हाई हुन्छन । सदाचारीहरु आत्महत्या गर्छन ।
ह्यारी तिमी गंगा जमुना संग नाच्यौ, तर यहाँ राजकुमार हरु भट्टीमा नाच्छन, नवयुवराजहरु रिसोर्टमा नाँच्छन तर जनताका भत्केका घरहरुमा पुग्न सक्दैनन । भन म के सुखद समाचार लेखूँ ?
मैले अचेल सबैलाई चिट्ठी लेखिरहेछु, आगो ओकल्ने गरि तर तिमीलाई लेख्दा माया र सद्भाव बाहेक केहि झरेन किनकी तिमी ह्यारी होईन हरि बनेर नेपाल आयौ, तिमी किन हरि बनेर नेपालमै जन्मिएनौँ ?
मेरो ह्यारी ,
तिमी त संसारमै प्रिय राज कुमार , तिमी त जनताको ढुकढुकीमा बस्ने मान्छे ,प्लिज हाम्रा नेताहरुलाई पनि यो कसी सिकाईदेऊ न है ! यहाँ जनतालाई जाति, धर्म र क्षेत्रको नाममा लडाईएको छ , हार्दिकता र भाइचारा हराएको छ । जनताको मन फुटाएर यहाँ मस्ती गरिदै छ ।
तिमी भुकम्प पिडित मंगली तामांगको घरको मैलो ओछ्यानमा आराम गरिरहँदा हाम्रा नवयुवराजहरु पाँचतारेमा सुसारे सहित सुकिलो ओछ्यानमा कृडा गरिरहेछन ह्यारी ! भन म कसरी सुखद समाचार लेखुँ ? तिमी जनतासंग होली खेली रहँदा यहाँका भारदारहरु सोमरसको चुस्की लिएको खबर कति लेखिरहनु !
तिम्रो देशमा पाँच बर्ष सम्म बस्दा मैले देखेको बिकास र शालीनता संझेर म द्रबिभुत छु तर राजनीति र प्रकृति दुबै प्रत्युत्पादक भएपछि के गर्नु र ? आधा करोड नेपाली युवाहरु आज बिदेशिएका छन , देख्यौ होला नि हैन ! गाउँमा सुनसान भएको ! देँख्यौ होला नि एयरपोर्टमा युवाहरु बिदेशिन लाम लागेको !
अन्त्यमा,
तिम्रो आदर्शले हाम्रा नवयुवराजहरुको तन्द्रा भंग होस भन्ने कामना गर्दछु ।यसै गरि नेपाल र नेपालीको ढुकढुकीमा बसिरहनू है । यस जुनिलाई यस्तै भो अर्को जुनिमा ह्यारी होईन हरि भएर नेपालमै जन्मनू है ! तिमी हाम्रो नेता भएको हेर्ने मन छ ।
तिम्रो डाईंग फ्यान :,
सरगम भट्टराई ,
भृकुटी -६ कपिलवस्तु
हाल : अमेरिका
प्रतिक्रिया