टोड्के महायज्ञबाट २१ लाख सङ्कलित

इनेप्लिज २०७२ चैत ९ गते ८:०३ मा प्रकाशित

म्याग्दी, ९ चैत । धार्मिक एवम् पर्यटकीयस्थल टोड्केमा सम्पन्न शिवपुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञबाट रु २१ लाख बढी दान सङ्कलन भएको छ ।

प्युठानका स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको स्थानको रुपमा परिचित टोड्केमा गत फागुन २७ देखि यही चैत ७ गतेसम्म िमहायज्ञ सञ्चालन गरिएको थियो । पं भीमनाथ पराजुलीले कथा वाचन गर्नुभएको महायज्ञमा रु २१ लाख ३१ हजार १०० सङ्कलन भएको टोड्के क्षेत्र विकास कोषका सचिव याम शेरपुञ्जाले जानकारी दिनुभयो । महायज्ञबाट करिब ३०० मुरी धान र दुई मुरी चामलसमेत सङ्कलन भएको छ ।
स्वर्गद्वारी शाखा टोड्के तपोवन शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ आचार्यले महायज्ञबाट सङ्कलित रकम र धान चामल बिक्रीबाट प्राप्त हुने रकम टोड्के क्षेत्रमा धार्मिक पूर्वाधार निर्माण र मन्दिरको पुनःनिर्माणमा परिचालन गरिने बताउनुभयो । टोड्केमा गत फागुन २५ देखि २९ गतेसम्म दोस्रो टोड्के महोत्सव समेत गरिएको थियो ।

महायज्ञ आयोजक समितिका अध्यक्ष जमानबहादुर बानियाँले कुहुँ, झीँ, पात्लेखेत गाविस र बेनी नगरपालिका–१२ पुलाचौरको सीमा क्षेत्रमा समुद्री सतहदेखि दुई हजार ३८० मिटरको उचाइमा अवस्थित टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल, पहाडी भूगोल र ग्रामीण मगर संस्कृतिको अवलोकनका हिसाबले महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा चिनिँदै आएको बताउनुभयो ।

प्रतिक्रिया