झडपमा तीन प्रहरी घाइते, ३० जना आन्दोलनकारी प्रहरी नियन्त्रणमा

इनेप्लिज २०७२ चैत ९ गते ८:०१ मा प्रकाशित

चितवन, ९ चैत । अस्पतालको बहिरङ्ग सेवा बन्द गराउन खोेज्ने मजदुर कर्मचारीलाई नियन्त्रणमा लिने क्रममा झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजको अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर सङ्घ मूल एकाइ समितिले आज बिहान ८ बजे अस्पतालको बहिरङ्ग सेवा बन्द गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा सामान्य झडप भएको हो ।

घाइते प्रहरीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको छ ।

चितवन मेडिकल कलेजमा कार्यरत मजदुर गत माघ २० गतेदेखि चरणबद्ध आन्दोलनमा छन् । उनीहरुलाई दिनहुँ नियन्त्रणमा लिएर प्रहरीले सेवा सञ्चालन गराउँदै आएको थियो । प्रहरीले बिहान नियन्त्रणमा लिने र साँझ छोड्ने गरेको थियो ।

समितिले श्रम ऐनअनुसारको तलब सुविधा दिनुपर्ने, सञ्चयकोषको व्यवस्था हुनुपर्ने, स्थायी नियुक्ति दिनुपर्ने, दसँैभत्ता दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया