फरार पक्राउ गर्न विशेष अभियान

इनेप्लिज २०७२ चैत ३ गते १२:०३ मा प्रकाशित

मोरङ, ३ चैत । अदालतले कैद जरिवाना तोकेपनि पूर्वमा फरार रहेका अपराधीलाई पक्राउ गर्न प्रहरीले विशेष अभियान नै चलाएको छ ।

पूर्वाञ्चलमा फरार रहेका १७ हजारभन्दा धेरै अपराधीलाई पक्राउ गर्न विशेष अभियान नै चलाइएको क्षेत्रीय प्रहरी कार्यालय मोरङ विराटनगरले जनाएको छ । पूर्वमा फरार सूचीमा रहेकामध्ये पचास प्रतिशतभन्दा धेरैलाई पक्राउ गरेर जेल चलान तथा जरिवाना भराउने प्रहरीले लक्ष्य लिएको छ ।

फरार अभियुक्त पक्राउ गर्ने विशेष अभियान नै सुरु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेले जानकारी दिनुभयो । क्षेत्रीय प्रहरी कार्यालयका अनुसार पूर्वमा १७ हजार ४५१ अपराधी फरार सूचीमा छन् । प्रहरीका अनुसार मेची अञ्चलमा सबैभन्दा धेरै फरार अपराधी छन् जसको सङ्ख्या तीन हजार ५७० छ । कोसीमा ३७६ र सगरमाथामा एक हजार १२ जना रहेका छन् ।

हिरोइनसहित दुईजना पक्राउ

यसैबीच, मोरङको उर्लावारीबाट मङ्गलबार ६ ग्राम खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । उर्लावारी–१ स्थित भेटघाट होटल अगाडिबाट भारतबाट खुट्टामा सेतो पानीटेपले बाँधेर लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी–७ सिरुझर बस्ने २७ वर्षीय उमेश चौधरी र उर्लावारी–६ थापा चौक बस्ने २६ वर्षीय सुदीप थापा रहेका छन् ।

उनीहरुलाई क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुले प्रयोग गरेको मे ५ प ६३२८ नम्बरको कालो पल्सर मोटरसाइकल समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ ।

यसैगरी, मोरङको विराटनगर बसपार्कबाट प्रहरीले मङ्गलबार साँझ लागुऔषध सहित एक किशोरलाई पक्राउ गरेको छ ।

भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा सुनसरीको इटहरी–४ का १८ वर्षीय विशाल परियारलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । शरीर खातलासी गर्ने क्रममा परियारको गोजीमा लागुऔषध फेला परेको थियो । एभिल दुई, डिजिल्याब दुई, लुपिजेसिक दुई र दुई थान सिरिन्ज साथमा भेटिएपछि उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

प्रतिक्रिया