बाढीपीडित व्यवसाय गरी आत्मनिर्भरको बाटोमा

इनेप्लिज २०७२ चैत १ गते ५:१६ मा प्रकाशित

तुलसीपुर (दाङ), १ चैत । “गत साल साउनको अन्त्यमा आएको बाढीले घरसहित जम्मै बगायो, सुरुमा त कसैले सहयोग गरेनन्, तरपछि अलिअलि भए पनि सहयोग गरेपछि अहिले खुद्रा पसल गरेको छु, राम्रै छ”– दाङ फूलबारी गाविस–६ बखरियाका देवबहादुर वलीले भन्नु भयो ।

उहाँको पसलमा नुनचिनीदेखि चाउचाउ, बिस्कुट, चकलेटलगायतका सामान रहेका छन् । पसलमा भएको सामानको बिक्रीबाट उहाँको दैनिकीमा सहयोग पनि भएको छ ।

२०७१ सालको साउन २९ गते बबइ खोलामा आएको बाढीले वलीको घरगोठदेखि पशुचौपाया सबै बगायो ।

घरमा भएको सबै थोक बाढीले बगाएपछि अप्ठेरोमा परेका वलीलाई तत्काल स्थानीय प्रशासनले रु पाँच हजार दिनेबाहेक अरु सहयोग भएन ।

पछि सहयोगी निकायको साथ पाएपछि वलीले पसल सञ्चालन गरेको बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल जिल्ला महासङ्घ दाङले केन्द्रीय महासङ्घको साझेदारीमा सञ्चालित हरियो वन कार्यक्रमअन्तर्गत फूलबारी र उरहरीका बाढीपीडितलाई जीविकोपार्जन सुधार कार्यक्रमअन्र्तगत प्रतिपरिवार रु १५ हजारका दरले सहयोग गरेको थियो ।

वन महासङ्घले सहयोगस्वरुप दिएको रु १५ हजारले आफूलाई पसल सुरुवात गर्न सजिलो भएको र त्यसैबाट आफूले पसल विस्तार गरेको वलीले बताउनुभयो ।

वलीले पसल सञ्चालन गरेपछि वन महासङ्घबाट सहयोग पाउने सोही ठाउँका बाढीपीडित सूर्यप्रसाद चौधरीले अहिले बाख्रापालनको तयारी गर्नुभएको छ । सूर्यप्रसाद र देवबहादुर जस्तै फूलबारी र उरहरीका धेरै बाढीपीडितले अहिले व्यवसाय सुरु गरेका छन् । आफ्नै बलबुता र सहयोगीको सहयोगबाट बाढीपीडित व्यवसायतर्फ लागेका हुन् ।

वन महासङ्घ दाङले सञ्चालन गरेको हरियो वन कार्यक्रमअन्तर्गत केन्द्रीय महासङ्घको साझेदारीमा ३६ र केयर नेपालको सहयोगमा ३२ फूलबारी र उरहरीका बाढीपीडित रहेका छन् ।

सोही कार्यक्रमबाट उरहरीमा तरकारीको बीउबिजन सहयोगअन्तर्गत ७१ बाढीपीडित घरधुरीलाई एक हजार ९८८ आलुको बीउ वितरण गरिएको छ । त्यस्तै फूलबारीका ८९ घरधुरीलाई ९७९ वटा आँप र २६७ वटा लिचिका बिरुवासमेत विरतण गरिएको थियो ।

प्रतिक्रिया