डिजेल तस्करी गर्न लागेको अवस्थामा ट्याङ्करसहित पाँच पक्राउ

इनेप्लिज २०७२ चैत १ गते ५:१४ मा प्रकाशित

उर्लाबारी (मोरङ), १ चैत । डिजेल तस्करी गर्न लागेको अवस्थामा मोरङ विराटनगरको एक पेट्रोल पम्पबाट गए राति ट्याङ्करसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरको नेपाल आयल निगम नजिक रहेको धिताल पेट्रोल पम्पबाट डिजेल तस्करी गर्न लागेको अवस्थामा ना४ख ४१४२ नम्बरको ट्याङ्कर र पम्पका तीन जना कर्मचारीसहित पाँच जनालाई प्रहरीले राति १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पम्पबाट ट्याङ्करमा खन्याएर डिजेल अन्यत्र लैजान लाग्दा प्रहरीले फेला पारेको थियो । प्रहरीले पम्पका कर्मचारी सुनसरी बकलौरी–३ का अन्दाजी ३०/३५ वर्षीय सीताराम चौधरी, विराटनगर– ५ का २८ वर्षीय बजारु चौधरी, मोरङको अमरदह–८ का ३७ वर्षीय रमेशप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

ट्याङ्करका चालक सुनसरी छिटाहा–२ का २४ वर्षीय जोगेन्द्र उराउ र सहचालक सुनसरी प्रकाशपुर–६ का २२ वर्षीय भीमबहादुर माझी पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर कारबाहीका लागि थप अनुसन्धान अघि बढाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया