घट्यो लोडसेडिङ

इनेप्लिज २०७२ फागुन ३० गते १४:१५ मा प्रकाशित

load-seddingकाठमाडौँ, ३० फागुन । नेपाल विद्युत् प्राधिकरणले प्रवेशिका परीक्षालाई ध्यानमा राखेर दैनिक एक घण्टा विद्युत्भार कटौती कम गर्ने भएको छ ।

प्राधिकरणका भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीका अनुसार ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप भएको ८० मेगावाट जलविद्युत् र कुलेखानीलाई पूर्ण क्षमतामा चलाएर प्रवेशिका परीक्षामा सहभागी हुने विद्यार्थीलाई केही राहत दिने उद्देश्यका साथ भारकटौती एक घण्टा कम गरिएको हो ।

उहाँकाअनुसार कुलेखानी पहिलो र दोस्रोबाट कुल ९० मेगावाट विद्युत् नियमित उत्पादन गरिनेछ । पछिल्लो केही दिन भने कुलेखानीमा पानीको सतह केही कम भएकाले पूर्ण क्षमतामा सञ्चालन गरिएको थिएन ।

नदीमा जलप्रवाह घटेको भए पनि मुलुकको सम्पूर्ण ध्यान एलएलसी परीक्षामा नै केन्द्रित भएकाले थोरै भए पनि राहत दिन लागिएको उहाँको भनाइ छ ।

दैनिक १३ घण्टा विद्युत्भार कटौती गर्दै आएको प्राधिकरणको पछिल्लो घोषणापछि दैनिक १२ घण्टा मात्रै विद्युत् कटौती हुनेछ । यस्तै प्राधिकरणले हाल एक हजार ३५० मेगावाट कुल माग भइरहेकामा आपूर्ति भने ५७५ मेगावाट मात्रै रहेको छ ।

यस्तै प्राधिकरणले पछिल्लोपटक निजी क्षेत्रलाई विशेष फिडरमार्फत दिँदै आएको विद्युत् काटेपछि केही विद्युत् बचत भएको जनाइएको छ ।

प्रतिक्रिया