उदयपुरमा आगलागी

इनेप्लिज २०७२ फागुन ३० गते ३:१२ मा प्रकाशित

aaglagi1गाईघाट (उदयपुर), ३० फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको हँडिया गाविस र जोगिदह गाविसको फुलजोर वन क्षेत्रमा तीन दिनदेखि आगलागी सुरु भएको छ ।

फुलजोर क्षेत्रको महाभारत सामुदायिक वन क्षेत्र र देउराली वन क्षेत्रमा तीन दिनदेखि आगलागी भएको स्थानीयवासी हर्कध्वज खड्काले बताउनुभयो ।

फुलजोर क्षेत्रको उत्तरी वन क्षेत्रबाट सुरु भएको आगलागी अहिले स्थानीय गाउँ छेउसम्म आइपुगेका कारण स्थानीय गाउँघरसमेत आगलागीको खतरामा परेको हँडिया देवधारका तेजेन्द्र चौधरीले बताउनुभयो ।

आगो अहिले फुलजोर क्षेत्रमा झन्डै १० किमी जङ्गलको क्षेत्रफलसम्म चारैतिर फैलिएका कारण यस क्षेत्रका झन्डै ५०० घर आगलागीको जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासी बद्री थापा भन्नुहुन्छ – “दुई दिनअघि नै जङ्गलको उत्तरी भागबाट आगलागी सुरु भएछ, आफूहरुलाई आगो फैलिएपछि मात्र थाहा भयो, अब गाउँलेले नियन्त्रण गर्नसमेत कठिन भएका कारण अहिले तीन गाउँ क्षेत्र आगलागीको जोखिममा परेको छ ।”
अहिलेसम्म आगो नियन्त्रणमा जिल्ला वन कार्यालय र स्थानीयवासीको समेत पहल भएको छैन ।

स्थानीयवासीले नै वन जङ्गलमा गएर गाई वस्तु चराउने सुर्ती, बिँडी पिउने र लापर्बाही तथा मनपरी आगो फाल्ने गरेका कारण आगलागी भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।

अहिले भइरहेको आगलागी समयमा नै नियन्त्रण नहुने हो भने हँडिया, जोगिदह हुँदै त्रियुगा नगरपालिका क्षेत्रको चप्पन, साउने खाँबु हुँदै सात गाविसको वन क्षेत्रसम्म आगो फैलिन सक्ने स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया