बुटवल, २६ फागुन । रुपन्देहीको सैनामैनास्थित दानव खोलामा मङ्गलबार मृत भेटिएका रामप्रसाद थारुको हत्या आरोपमा प्रहरीले नातामा ज्वाइँ र जेठान पर्ने दुई जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१ का २५ वर्षीय दिनेश कुँवर र बुटवल उपमहानगरपालिका–१८ का २४ वर्षीय हरिनारायण चौधरी छन् । चौधरी कुँवरका बहिनीज्वाइँ हुन् । उनीहरु दुवैले मिलेर थारुको हत्या गरेको प्रहरीको आरोप छ ।
दुवैले अभियोग स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनुभयो । उनीहरुले यही फागुन २५ गते रामप्रसादको हत्या गरेर सैनामैना–१३ समावेशी टोल पूर्वमा रहेको दानव खोलामा फालेका थिए ।
फागुन २५ गते राति ९ बजे अभियुक्तमध्येका कुँवरले आफू घरमा पुग्दा आफ्नी आमा र रामप्रसाद कोठामा सँगै बसेको देखेपछि सहन नसकी थारु र आफ्नै आमालाई कुटपिट गरेको स्विकारेका छन् । कुटपिट गर्दा भागेका थारुको हत्या गरी आफूहरुले दानव खोलामा फालेको बताएका छन् । थारुले गाउँघरमा हुने विवाह तथा उत्सवमा ‘नर्तक’ बनी जीविकोपार्जन गर्दै आएका थिए ।
प्रतिक्रिया