पार्टी सुदृढीकरणका लागि कटिबद्ध भएर लाग्छु: नेता केसी

इनेप्लिज २०७२ फागुन २६ गते २:३१ मा प्रकाशित

Arjun-Narsingh-KCकाठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी र लोकतान्त्रिक सुदृढीकरणका लागि कटिबद्ध भएर लाग्ने बताउनुभएको छ ।

पार्टीको १३ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले लोकतन्त्रमा जितहार स्वाभाविक प्रक्रिया भएको भन्दै निर्वाचनको दौरानमा उत्पन्न भएका तिक्ततालाई मेटाउँदै पार्टीभित्र उत्साही र प्रितिकर वातावरण बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले महाधिवेशनमा निर्वाचित हुनुभएका पार्टी सभापति, महामन्त्री र कोषाध्यक्षलाई बधाई तथा शुभकामनासमेत प्रकट गर्नुभएको छ ।

केसीले महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न सहयोग पु¥याउने तथा आफूलाई महामन्त्री पदमा मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय सभापति, जिल्ला सभापति र पार्टीका अन्य व्यक्तिलाई विज्ञप्तिमार्फत धन्यवाद दिनुभएको छ ।

उहाँले पार्टीलाई नेतामुखी, नातामुखीभन्दा नीतिमुखी बनाएर, आन्तरिक लोकतन्त्र संस्थागत गर्ने कार्यपद्धति र अनुशासनलाई प्रभावकारी बनाउने, पार्टीभित्र समर्पित र सक्रिय भएका निष्ठावान कार्यकर्ताको न्यायोचित मूल्याङ्कनको परिपाटी बसाल्नु नवनिर्वाचित नेतृत्वको काँधमा आएको भन्दै यसलाई अगाडि बढाउन नयाँ नेतृत्व लाग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया