सोमबार, माघ ५ २०७७
काठमाडौं २०:०१
वासिङटन डिसी 09:16

१ खिल्ली चुरोटले पनि ५ मिनेट आयु छोट्याउँछ !

इनेप्लिज २०७२ फागुन २२ गते ०:१६ मा प्रकाशित

Uday-Gauram-345x316

चुरोट लगायतका सुर्तीजन्य पदार्थको सेवनले केके रोग लाग्छ हामी सर्ब-साधारणले एक-एक गरी सबै जानिराख्नु जरुरी छैन । जानिसाध्य पनि छैन जबकी सुर्तीमामात्रै ३ हजार भन्दा बढी प्रकारका रासायनहरु पाइन्छन् ।
त्यही सुर्तीमाथि उत्पादन गर्ने कम्पनीहरुले मान्छेमा सेवन गर्ने बानी परोस, र उनीहरुको सामान सदैब बिकिराखोस् भनी कलुषित मनाशयले मिसाउने बिभिन्न रंग तथा बास्नादार रासायनिक मिश्रणसमेत भएको चुरोट, बिंडी, कक्कड़, तमाखु, सिगार, आदिमा आगो लागाउँदा त अन्य अनेकौं थरी अनगिन्ति रासायनिक प्रतिक्रिया पनि हुन्छन् ।
हालसम्मको अनुसन्धानमा सुर्तीजन्य पदार्थमा ७ हजार प्रकारका सम्म रासायनहरु भेटिएका छन् । ती मध्ये ७० प्रकारका त पूर्णत क्यान्सरजन्य (Carcinogen) भएको कुरा पनि धेरै बिशेषज्ञहरुले धेरै पटक प्रमाणित गरिसकेका छन् |
तसर्थ आजको प्राथमिकता भनेको सुर्तीजन्य पदार्थमा अझै अरु पनि हानिकारक तत्वहरु पाइन्छन् कि भनेर अनुसन्धान गर्नु नभई यस्तो नरसंहारकारी बिष सेवनको लत लाग्नुबाट मान्छेलाई कसरी जोगाउने, र लत लागिसकेकाहरुको लत कसरी छुटाई उनीहरुको जीवन बचाउने भन्ने हो ।
बर्सेनी कति मान्छे मर्छन् त धुम्रपानले ?
हाल प्रत्येक मिनेटमा ६.५ जना मान्छे सुर्तीजन्य पदार्थ सेवनको कारणले मरिरहेका छन् । एउटामात्र चुरोट खाँदा पनि मान्छेको जीवन ५ मिनेटसम्म छोटो हुन सक्छ । यसको हिसाब कस्तो हुन आउँछ भने यदि कसैले दिनको १ खिल्ली चुरोट १ बर्षसम्म खान्छ भने उसको प्राकृतिक आयु करिब १ महिना, र ५० बर्षसम्म खान्छ भने ४ बर्ष जति घट्छ ।
देश अनुसार सुर्तीजन्य पदार्थको प्रकार र प्रयोग बिधि अलिअलि फरक छ, तथापि जसरी प्रयोग गरे पनि त्यो सुर्तीकै बिभिन्न रुप हो । यस्ता पदार्थहरु नै कारक बनी अकाल मर्ने मान्छेहरुको अनुपात पनि भुटान बाहेकका देशहरुमा करिब-करिब उस्तै छ । भुटानले सुर्तीमा प्रतिबन्ध लगाएर विश्वमा ठुलो उदाहणीय कार्य गरेको छ ।
स्थिति यस्तो भयाबह छ कि चुरोट खानुकै कारणले अमेरिकामामात्रै प्रत्येक बर्ष करिब ४ लाख ८० हजार जनाको मृत्यु हुन्छ । यसको सिधा अर्थ यदि ५ जना मान्छे मरे भने १ जना चुरोट सेवनको कारणले मर्छ, अथवा करिब २०% अमेरिकनलाई चुरोटले मार्छ ।
अहिलेकै अवस्थामा समग्र विश्वको स्थिति हेर्यो भने बर्षेनी ६० लाख मान्छे सुर्तीजन्य पदार्थ सेवनको कारणले अकाल मरिरहेका छन् । २०३० सम्ममा यो संख्या ८० लाखसम्म हुने कुरा विश्व स्वास्थ्य संगठनले आंकलन गरेको छ ।
हाम्रा अनुसन्धानकर्ता र डाक्टर साहेबहरुका धुम्रपान सम्बन्धि अनुसन्धान प्रतिबेदनहरु त सत-प्रतिशत सही छन, तर धुम्रपानले बर्सेनी यति धेरै संख्यामा मान्छे मार्छ भन्ने भनाई सर्बसाधारणले राम्ररी नबुझ्ने प्रकारको भएर तथ्य नै अलि अपत्त्यारिलो हुनगई धुम्रपानमा लत बसाल्नु हुँदैन अथवा धुम्रपान गर्नु हुँदैन भन्ने कुरामा त्यति बल पुर्याइरहेको छैन ।
आखिर चुरोटको सर्को तान्दातान्दै आफ्नै अगाडि डङ्ङ ढलेर कोही मान्छे मरेको त कसैले पनि देखेको हुँदैन ! धुम्रपान नगर्ने व्यक्ति पनि पक्षघातले, फोक्सोको क्यान्सरले, अन्य क्यान्सरले, अन्य रोगले मरेको धेरैले देखेकै हुन्छन् ।
धुम्रपान सम्बन्धि लेख, लेखन मापदण्ड अनुसारको होइन कि सजिलै बुझ्ने हुनु पर्दछ !
आम जनताको जीवनसँग प्रतक्ष सरोकार राख्ने धुम्रपान जस्ता नरसंहारकारी बिषयमा शोधग्रन्थ (Thesis) तथा अनुसन्धान प्रतिबेदन (Research Report) तयार पार्दा, अथवा कलम चलाउँदा लेखनका मापदण्ड (Format), आकार, स्वरूप र सृंगार (Beauty) मा आधारित हुनु भन्दा कसरी सरल किसिमले सर्वसाधारणले प्रस्ट बुझ्न सक्छन् भन्ने कुरा मनन गरियो भने त्यो क्रमभंगता नै जीवन बचाउने अभियानको कोसेढुङ्गो हुन आउँछ ।
जस्तो कि “सुर्तीजन्य पदार्थको सेवनले पक्षघात हुन्छ” भनी ठ्वाक्क अर्थ नलाग्ने गरी भन्नु भन्दा सुर्तीजन्य पदार्थको सेवन नगर्ने व्यक्तिलाई पनि पक्षघात हुन सक्छ, तर सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई नगर्नेलाई भन्दा ६०% बढी पक्षघात हुने सम्भावना हुन्छ भन्नु,“धुम्रपानले फोक्सोको क्यान्सर हुन्छ” भन्नुभन्दा मान्छेलाई फोक्सोको क्यान्सर हुन्छ, जसमध्ये ८७% फोक्सोको क्यान्सर नियमित धुम्रपान गर्नेलाई हुन्छ भन्नु, अनि “सुर्तीमा अमोनिया पाइन्छ” भन्नु भन्दा सुर्ती, चुरोट आदि खाने मान्छेको मुख गनाउँछ त्यसको कारण सुर्तीमा पाइने अमोनिया ग्यास हो, जुन रासायनिक मल बनाउन पनि प्रयोग गरिन्छ, भनरे भन्दा त्यसको सिधा अर्थ लागि मान्छेमा उक्त भनाइको तुरुन्तै प्रभाव परी चेतना जाग्ने सम्भावना बढी हुन्छ ।
धुम्रपानको लतबाट जोगिने र जोगाउने ४ ब्रह्मास्त्रहरु !
“धुम्रपानको लत” रुपी यो महारोगको निदान नै नभएकोचाहिँ होइन । निदान त के यसलाई उन्मुलन नै गर्न सकिन्छ । तर त्यसको लागि जिम्मेवारीको बोध, नियतमा सच्चाइ, बेलैमा चेतना, र दृढ आत्मबल जस्ता सजिला ४ अस्त्रहरुलाई एकैचोटी प्रयोग गर्नु पर्ने हुन्छ ।
जनताको स्वास्थ्य र जीवन रक्षाको जिम्मेवारीको बोध सरकारले गर्नु पर्दछ, सरकारका समारोहहरुको प्रायोजक बनी अर्थमन्त्रीलाई प्रभाब पार्ने र कम हानिकारक भन्दै सुर्तीको फूलदेखि जरासम्म सबै बिकाउनको लागी बिभिन्न परिकार उत्पादन गर्ने बदनियत उत्पादकहरुले छाड्नु पर्छ, १३-२२ बर्षका चुस्त मस्तिष्क भएका होनहार बाबुनानीहरुले यो धुम्रपान नामक राक्षसले पुर्याउने कालको बाटोलाई सदैब तिरस्कार गर्नु पर्छ, अनि यसको पन्जामा परिसकेका निरीह जनहरुले अदम्य साहस र आत्मबल निकालेर यसका जन्जिरहरु तोडिछाड्ने हिम्मत गर्नु पर्छ ।
मान्छे करिब २२ बर्ष कटेपछि धुम्रपान गर्न सिक्ने र यसको लत बस्ने सम्भावना एकदमै न्यून हुने कुरा पनि प्रमाणित त्यथ्य हुन् ।
परन्तु, विडम्बनाको कुराचाहिं के छ भने सुर्तीभित्र सकुनिको राजनीति, किन्सको अर्थशास्त्र, अनि बिकसित मस्तिष्कको कमजोर आत्मबल लुकेको छ ।
सुर्तीजन्य पदार्थ प्रयोगको छोटो इतिहास !
पहिले-पहिले राष्ट्रहरुको आम्दानीको श्रोत खासै थिएन । बिज्ञान र परीक्षण बिधि पनि अर्ध-बिकसित नै थिए । साथै कुनै पनि बस्तुको असर सही किसिमले नाप्न सक्ने मापन यन्त्रहरुको अविस्कार नभैसकेकोले सुर्तीरुपी बिषको सर्वपक्षीय हानिकारक असरको जानकारी पनि थिएन मान्छेलाई ।
सुर्तीको सर्बप्रथम ब्यबसायिक उत्पादन नगदेबालीको रुपमा सन् १६१२ तिरबाट अमेरिकामा हुन थालेको हो । प्रयोगको हिसाबले ईसापूर्व कालदेखि नै केही मात्रामा ठाउँठाउँमा प्रयोग गरिए पनि सर्बब्यापी प्रचार र प्रयोग भने यही समयदेखि सुरु भएको हो ।
त्यति बेला ब्रमाण्ड, पृथ्वी, समुद्र सबैका ब्याख्या किम्बदन्तीमा आधारित थिए । पृथ्वी चेप्टो थियो, समुद्रको बिचमा कतै गहिरो खाडल थियो, परमेश्वरको इच्छामा मान्छे जिउँथ्यो मर्थ्यो आदिआदि ।
मान्छेको यही अल्पज्ञानको नाडी पक्डेर सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरुले चुरोट लगायतका पदार्थको सेवन गर्नुमा फाइदै-फाइदा भएको एकोहोरो प्रचार रटाए । चुरोट, कक्कड़, तमाखु, सुर्ती आदि सेवन गर्ने व्यक्तिलाई परिपक्क, ठूलाबडा, नेता, अभिनेता, अभिनेत्री, आकर्षक, सफल, पौरखी, चिन्तक, विचारक, महाकवी सबै बनाइदिए ।
यी त अल्ली पुराना कुरा भए । मैले माध्यमिक तहमा पढ्दा हामीलाई नेपाली पढाउने गुरुले अत्यधिक चुरोट खानु हुन्थ्यो । एकदिन कामविशेषले शिक्षककोठामा जाँदा चुरोट सल्काउन ठिक्क पर्नु भएको रहेछ ।
“गुरु चुरोट खानु हुँदैन, स्वास्थ्य किताबमा लेखेको छ” भनेको त “किताबको चुरोट हो खान नहुने, बट्टाको त हुन्छ” भन्दै बिजुली चुरोट सल्काएर लामालामा २ सर्का तानी फूउउउउ गरी धुवा उडाएर “देबकोटाको ओछ्यान डढेर चाल्ना परेको थियो, उनले एउटा चुरोटले अर्को चुरोट सल्काउँथे” पो भन्नु भयो गौरबकासाथ !
नेपाल टेलिभिजनले अस्ति भरखरसम्म “सहासिको पहिचान” भन्दै शिखर चुरोट खाने मान्छे सजिलै सगरमाथाको टुप्पोमा पुगेको देखाएको बिज्ञापन सायद प्राय नेपालीले देखेकै हुनु पर्छ । मेरा केही साथीहरुले “एमालेको पहिचान सूर्य चुरोटको सान” भन्दै लामो सूर्य चुरोट ठड्याएर लामालामा सर्का तानेको कुरा पनि आँखा अगाडि आइरहेको छ यति बेला ।
कसरी परे महिलाहरु पनि धुम्रपानको जालमा ?
पुरुषहरुलाई माहमूर्ख बनाएरमात्र पुगेन चुरोट उत्पादकहरुलाई । आधा आकाश ढाक्ने महिलाहरुलाई समेत १९६८ मा“भर्जिनिया स्लिम” नामक चिटिक्कको राम्रो, मसिनो, हिस्सी परेको चुरोट उत्पादन गरी, उक्त चुरोट खाएर कुनै केटी राम्री, पातली, र हिस्सी परेकी भएको देखाई सुर्तीको जालमा पारे ।
सुने अनुसार अधिकाम्स महिलाहरुको जीवनकोको पहिलो लक्ष नै राम्री, पातली, र हिस्सी परेकी बन्नु हुन्छ रे ! अनि त एक्कासी एकदमै धेरै महिलाहरुले चोरऔंला र माझिऔंलाले च्यापेर आकाशतिर धुँवाका गोला बनाउंदै दन्काउन थाले भर्जिनिया स्लिम !
त्यसपछि त सुर्ती माफियाहरुले संसार जितिहाले, अनि आजसम्म पनि एकछत्र राज्य गरिरहेकै छन् । सुर्तीजन्य बस्तुमा हुने निकोटिनको असर बारेका छ्यापछ्याप्ती बाहिर आउने लेख र भनाइहरु जस्तै:- निकोटिन स्वास्थ्यको लागी हानिकारक छ, निकोटिनले क्यान्सर हुन्छ” आदि पनि सुर्ती माफियाहरुले नियतबस मान्छेलाई भ्रम पार्न भाडाका लेखकमार्फत लेख्न लागाएका जस्ता छन् ।
निकोटिनले कसरी असर गर्छ त शरीर र मस्तिष्कलाई ?
एकदमै ताजा अनुसन्धान अनुसार निकोटिनले शरीरका सद्दे कोषहरुलाई असर गर्ने, र केही हदमा क्यान्सरका कोषहरुको बृधिको साथै फैलावटमा भूमिका खेल्ने कुरा प्रमाणित भएको छ, तर निकोटिनले क्यान्सरचाहिं हुँदैन ।
सरल किसिमले भन्दा निकोटिन एउटा बिष हो, एकैचोटी धेरै प्रयोग गरेमा यसले श्वासप्रश्वास प्रक्रियामा भूमिका खेल्ने संपूर्ण तन्तुहरूको गति रोकिदिन्छ, र मान्छे तत्कालै मर्न सक्छ । तर थोरै मात्रामा प्रयोग गरिरह्यो भने, यसले दिमाग र शरीरको रासायनिक संयन्त्रलाई यसरी बदलिदिन्छ की प्रयोग कर्तालाई यसबाट सन्तुस्टी भएको, थकाइ मेटिएको, एकाग्र हुन सकेको, बौद्धिकता फुरेको आदि भान गराइदिन्छ । अनि यो आफै पनि शरीरलाई छिनछिनमा चाहिने अवाशक तत्व बन्नगै शरीरले यसलाई सदैब चाहिरहन्छ ।
त्यो भनेको नै बानी बस्नु वा लत लाग्नु हो ।कतिपयलाई त यसले यो नखाई जाँगर नलाग्ने, निद्रा नलाग्ने, दिसा नआउने समेतका मनोबैज्ञानिक भ्रम समेत सिर्जना गरिदिन्छ ।
धुम्रपानले मान्छे मार्ने वास्तबमा सरकारहरु नै हुन् !
यदि गहिरो गरी सोंच्ने हो भने सुर्तीजन्य बस्तुले यतिबिघ्न नरसंहार गर्ने अवसर पाउनुमा अहिलेका सरकारहरु नै पूर्णरुपमा जिम्मेवार छन् । या त जनताको दबाबबाट सुर्ती माफियाहरुलाई बचाउन अथवा आफै बंच्न सार्बजानिक स्थलमा धुँवा उडाउन नपाइने, बट्टामा तरुनीको फोटो राख्न नपाइने वा टेलिभिजन र रेडियोमा बिज्ञापन गर्ने नपाइने जस्ता देखावटी बहाना बनाइरहेका छन्, या त माफियाहरुका सात घुम्तीहरु बुझिरहेका छैनन् ।
चुरोटमा फिल्टर राख्नु, अझ लामो फिल्टर राख्नु, बिभिन्न कम अथवा बढी मात्रामा निकोटिन भएका चुरोट बनाउनु, धुम्रपान छाड्न सहयोग गर्ने भन्ने कथित चुइंङगम र टाँस्ने प्याच बनाउनु आदि सबै बाहानाहरु सूर्तीको जरा, डांठ, पात, फूल सबै बेचेर मुनाफा कमाउने, र सदैब ब्यापार बिस्तार र प्रबर्धन गर्ने चोर बाटाहरु हुन् ।
जनताको स्वास्थ्य र जीवनको त्यतिबिघ्न मायाँ लाग्ने भए सरकारहरुले सुर्तीबाट आउने करको मायाँ नगर्ने, अनि उत्पादकहरुले मान्छे मार्ने जस्तो जघन्य अपराध भएछ भनी पश्चाताप गरी अर्कै ब्यबसाय गरे भै हाल्यो नि !
तर सूर्ती माफियाहरुले भुलेर पनि त्यस्तो कुरा कालान्तरसम्म पनि कहिलै गर्ने छैनन् किनकि हुन त सुर्ती अन्य लत बसाल्ने बस्तुहरु जस्तै:-चरेस, हिरोइन, कोकिन, भन्दा पनि झनै खतरनाक लागु पदार्थ हो, तर यो बैधानिक रुपले नै अझै सरकारको संरक्षकत्त्व मै बेच्न सकिन्छ | अनि संसारमा सुर्तीमात्र यस्तो बस्तु हो जसलाई खासै रेखदेख चाहिंदैन, त्यति किरो पनि लाग्दैन, अनि जरादेखि टुप्पासम्मको सत-प्रतिशत भाग बेच्न मिल्छ, सुनमा बरु रसायन र जर्ती काटिन्छ !
हाम्रा अर्थमन्त्रीहरुले न त सुर्ती माफियाहरुको सरकारका बिभिन्न कार्यक्रमहरु प्रायोजन गरिदिने, मन्त्रीहरुलाई सित्तैमा गाडी दिने कुराको हिसाब बुझ्छन् न त सुर्तीबाट प्राप्त हुने तुच्छ कर र अनमोल जीवन बिचको अन्तरको हिसाब नै बुझ्छन् ।
सुर्तीजन्य पदार्थमा कर बढाएर लत बसेकाहरुले सेवन गर्न छाड्दैनन् ! त्यसको त झन् उल्टो असर हुन्छ । आखिर सूर्तीजन्य बस्तुको सेवन गर्ने एकदमै ठुलो हिस्सा निम्न-वर्ग र मध्यम-वर्ग न हो ! मूल्य बढ्यो भने यस्तो बर्गले या त आफ्नो साबिको आहार अथवा बच्चाले खान पाउने दूधको मात्राले यस्ता बस्तुको मूल्य वृद्धिलाई पूर्ति गर्दछ या त कमसल दर्जाको ब्रान्डमा ओर्लिन्छ । यी २ मध्ये जे गरे पनि उसको वा उसका परिवारको स्वास्थ्यमा झनै नकारात्मक असर पर्दछ ।
बिष वृक्षलाई इमान्दारितापूर्बक उन्मुलन गर्नु छ भने जरामा नुन खन्याउनु पर्दछ, हाँगा छिमलेर हुँदैन, त्यसो गर्दा त अझै झाङ्गिन्छ ।
सुर्तीको करले होइन चन्दाले पनि बन्न सक्छन् अस्पतालहरु !
सुर्तीको करले अस्पताल बनाउन सकिन्छ भन्ने अर्को एउटा कुतर्क पनि प्रयोग गर्छन् अर्थमन्त्रीहरुले । सुर्तीले मन्छे मारेर भन्दा त बरु चन्दा उठाएर वा दीनबन्धु र नारायणप्रसाद पोख्रेलहरुले जस्तै महायज्ञ लगाएर पनि सकिन्छ नि अस्पताल बनाउन !
चुरोट खाने बानी पर्ने त जसको पनि उस्तैउस्तै माध्यम हुन्छ । भबिष्य नदेखिने अल्लारे बुद्धि, अर्काको लहैलहै र देखासिकी आदिआदि । सिकुन्जेल त सबैले आफूलाई आकर्षक (cool) नै सम्झन्छन् नि !
धुम्रपान गर्नेहरुका अन्य व्यथाहरु !
पैसा नोक्सान भएको त कुरै छाडौं । सिकिसकेपछि त्यसैले दास बनाई परिवारको छिछिदुरदुर हुनु परेको, मुखले नभने पनि अरुले नाक थुनेको वा यो मान्छे चुरोटे हो भनी उसको शरीरले सांकेतिक भाषा (Body Language)बोलेको, कसैसंग कुरा गर्दा आफैले मुख लुकाउनु परेको वा सास दबाएर बोल्नु परेको, मुख खोकल्दै, चुइंङगम चपाउँदै, ल्वांगसुकमेल टोक्दै हिंड्नु परेको, मान्यजनसंग जम्काभेट हुँदा भर्खर सल्काएको चुरोट फ्वात्त फाल्नु परेको वा पैतालामुनि दबाउनु परेको, चुरोट खाने मान्छेको उत्पादकत्व कम हुन्छ भन्दै जागिर दिनेले नदिएको, आधा रातमा पसलपसल चाहार्नु परेको, बेलाबखत अरुसंग हात फैलाउनु परेको, चुरोट खान नपाउंदा तनाब भएको, र कहिलेकाही त आफैले वा अरुले फालेको ठुटो समेत खानु परेको ब्यथा अम्मलीहरुलाईमात्र थाहा हुन्छ ।
त्यसैले सबै अम्मलीले पूर्ण मनन गरेको हुन्छ धुम्रपान गर्नु एकदमै तल्लो दर्जाको निकृष्ट कार्य हो भन्ने । तर के गर्ने ! निकोटिनको काम नै मान्छेलाई दास बनाउनु हो, बनाइदिन्छ ! बिनाहिम्मत दासताबाट मुक्ति पाउन सम्भव हुँदैन ।
कसले चाहंदैन र धुम्रपान छाड्न ?
धुम्रपान कसले छाड्न चाहँदैन र, धुम्रपान गर्ने झन्डै सत-प्रतिशतले नै छाड्न चाहान्छन् । प्रत्येक बर्ष करिब ७०% ले कयौं पटक छाड्ने कोशिस गर्छन, तर ४-७% ले मात्र सधैको लागी छाड्न सफल हुन्छन् । तर यता ७% ले छाड्दा नयाँ १४% ले खान सुरु गरिसकेका हुन्छन् । सुरु गर्दा र जिन्दगीभरि खान्छु भनेर कसले पो सुरु गरेको हुन्छ ! तर निकोटिनले कमाल गरिदिन्छ !
निकोटिनले दिमाग र शरीरलाई रड्डी असर त गर्छ, तर नढाँटी भन्ने हो भने थोरै मात्रामा लिंदा यसले केही प्रकारको आनन्दचाहिं दिन्छ । त्यसको कारण के हो भने जब यसको असर केन्द्रीय स्नायु-प्राणालीमा पर्छ, दिमागले शरीरलाई नजानिँदो रुपमा अड्रेनलिन (adrenaline) उत्पादन गर्ने निर्देशन दिन्छ | Adrenaline भनेको मान्छे डराउंदा, रिसाउँदा, आवेशमा आउँदा, मान्छेले रमाइलो मान्दा शरीरले निकाल्ने एक प्रकारको रासायन (Hormone) हो |
निकोटिन लिने बानी परेपछि हाम्रो शरीरले कुनै निश्चित तह (Level) को निकोटिन सदैब खोजिराख्छ । धुम्रपान गरेको ५ सेकेन्डभित्र निकोटिन मस्तिष्कमा पुग्दछ, अनि त्यसको गहिरो प्रभाब करिब २५ मिनेटमै सकिन्छ किनकी चुरोट जस्ता बस्तुमा निकोटिनको मात्रा एकदम थोरै हुन्छ । प्रभाब घट्ने बित्तिकै शरीरले पुन थप मात्रा माग्छ, त्यो भनेको नै फेरी धुम्रपान गर्न मन लग्नु हो ।
अलि अर्कै प्रकारले भन्ने हो भने मान्छेमा करिब १ महिनामा निकोटिन लिने बानी बस्छ, त्यसपछि शरीरले यसलाई छिनछिनमा खोजिराख्छ । तर यो एक प्रकारको बिष भएको एकैचोटी ठुलो मात्रा शरीरले लिन सक्दैन ।
सजिलै छाड्न सकिन्छ धुम्रपानको लत !
धुम्रपानको लत बसेपछि छाड्न एकदम ग्राहो छ, तर ग्राहो हुनुको कारण बुझ्यो भने छाड्न एकदम सजिलो छ ।
चुरोट खानेले जब २-४ घण्टासम्म खाँदैन, उसको शरीरमा हुनुपर्ने निकोटिनको मात्रा घट्दै जान्छ । यो घटेको मात्रा पुरा गर्न उसको शरीरले तलतलको रुपमा चुरोट खाने मन जगाइदिन्छ र चुरोट खानु पर्छ । यसरी निकोटिन घट्ने प्रक्रियालाई “निकोटिन विथड्रल सीन्ड्रम” भनिन्छ । शरीरमा निकोटिन घटेर पुरै सिद्धिन करिब २४ घण्टा जति लाग्छ । यो बेलामा त चुरोट खान नपाए खाने बानी लागेको मान्छे पागल जस्तै हुन्छ । त्यसपछि पनि करिब २ हप्तासम्म अत्यधिक चाहिरहेको हुन्छ शरीरले निकोटिन, तर चाहाना नजानिँदो गरी घट्दोदरमा हुन्छ ।
चुरोट छोड्दा सुरुमा मान्छेलाई भोक नलाग्ने, रिंगाटा लाग्ने, हातखुट्टा बाउँडिने, जिउ काँप्ने, दिसा नलाग्ने, चिटचिट पसिना आउने लगायतका शारीरिक लक्षण तथा मुड बदलिने, दुबिदा हुने, आत्तिने लगायतका मानसिक लक्षण कुनै या सबै हुन सक्छन् ।
छाड्न चाहने व्यक्तिले यो बेलामा लत्तो छाड्न हुन्न । धुम्रपानले दिएको तनाब र गराएको बेइज्यती सम्झदै यसलाई घृणा गरिराख्नु पर्छ । मर्छु बरु तँलाई छुँदैछुन्न भन्दै त्यसलाई हाँक दिइरहनु पर्छ ।| दोश्रो हप्तापछि पनि खान त मन लाग्छ तर शरीरले निकोटिन चाहने दरचाहिं द्रुतगतिमा घटिरहेको हुन्छ । १ दिनमा एकाध पटकमात्र यसको याद आउँछ | आठ हप्ता भित्रमा त झन्डै ९०% जति सुधार भैसक्छ ।
तर अर्को एउटा जोगिनु पर्ने एकदम खतरनाक कुरा पनि छ । छाडेको बर्सौंसम्म पनि, धोका दिने प्रेमिका वा प्रेमीको जस्तै, बेलाबेलामा यसको झिनो यादचाहिं आइरहन्छ । आआआ छाड्न सकिँदो रहेछ, आज एकदिन खान्छु भनेर कुनै एक पटकमात्र पनि पुन खाइयो भने जीवनमा धेरै पटक, उस्तै परे हरेक महिना छाडिन्छ, तर सधैको लागी भने किमार्थ छाड्न सकिन्न ।

नेपाल संदेश.कम बाट

प्रतिक्रिया