ऊँट र हात्ती सफारी मेलाको आकर्षण

इनेप्लिज २०७२ फागुन २० गते १:५५ मा प्रकाशित

बुटवल, २० फागुन । बुद्ध मावली रुपन्देहीको देवदहमा लागेको दोस्रो देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा ऊँट र हात्ती सफारी मेलाको आकर्षण बनेका छन् ।

मेलामा ऊँट हेर्ने र हात्ती सफारीका लागि दर्शकको घुइँचो बढेको मेला सचिवालयले जनाएको छ ।

भारतको राजस्थानबाट मेलामा भित्र्याइएको ऊँट अहिले प्रदर्शनका लागि मात्र राखिएको छ । केही दिनपछि देवदहका पर्यटकीय क्षेत्रको अवलोकनका लागि ऊँटको सफारीसमेत गराइने मेला आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपालप्रसाद ढकालले जानकारी दिनुभयो ।

‘देवदहमा उद्योग व्यापार विस्तार गरौँ, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, कृषि एवम् पर्यटकीय नगरीका रुपमा परिचित गराऔँ’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि देवदहको बुद्धनगरमा सुरु भएको मेला फागुन २९ गतेसम्म चल्नेछ ।

मेलामा कृषि, कृषिजन्य उत्पादन, गार्मेन्ट, कृषि औजार, अटो पेभेलियन, हस्तकलालगायतका स्थानीय उत्पादनका करिब २०० कक्ष राखिएको सचिवालय संयोजक प्रमोद खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया