घडेरी दिन्छौँ, प्रहरी चौकी चाहियो

इनेप्लिज २०७२ फागुन २० गते १:५३ मा प्रकाशित

जाजरकोट, २० फागुन । यहाँका एक गाउँका स्थानीयवासीले प्रहरी चौकी निर्माणका लागि घडेरी दिन्छौँ भन्दै प्रहरी चौकीको माग गरेका छन् ।

जिल्लाको भुरको पोख्राका स्थानीयवासीले यस्तो माग गरेका हुन् । द्वन्द्वकालमा विस्थापित भएको यहाँको प्रहरी चौकीलाई पोख्राका स्थानीयवासीले भवन निर्माणका लागि घडेरी दिन्छौँ भन्दै पुनः चौकी स्थापना गर्न माग गरेको स्थानीयवासी भक्ति शर्माले जानकारी दिनुभयो ।

प्रहरी चौकी नहुँदा यहाँ धेरै आपराधिक गतिविधि हुनुका साथै शान्ति सुरक्षासमेत प्रभावित हुँदै आएको शर्माको भनाइ छ ।

प्रहरी चौकी निर्माण गर्नका लागि दुई रोपनी जग्गा दिनेसमेत शर्माले घोषणा गर्नुभयो । फागुन १९ गते प्रहरी चौकी निर्माण गर्नका लागि घडेरी हेर्न जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्ललाई पोख्राका स्थानीयवासीले बोलाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरी चौकी निर्माणका लागि धेरै जग्गा दिने स्थानीयवासी भेटिएको मल्लले बताउनुभयो ।

यहाँका आधा दर्जन गाउँमा प्रहरी चौकी नहुँदा स्थानीयवासी न्याय निसाफ खोज्न एक दिन हिँडेर जगतीपुरको कुदुमा आउने गरेको जिल्ला प्रहरी कार्यालयले वताएको छ ।

कुनै घटना घट्दासमेत कुदु प्रहरी चौकीबाट पोख्रा, भुर, कालाभुरलगायतका दर्जन ठाउँमा जान प्रहरीलाई समेत दिनभरि लाग्ने गरेको एनेकपा (माओवादी) जाजरकोटका अध्यक्ष पूर्णदेव शर्माले बताउनुभयो । शर्माकै गाउँ रहेको यो ठाउँमा प्रहरी चौकी छिटो स्थापना गर्न स्थानीयवासीले माग गरेका छन् ।

स्थानीयवासीको मागअनुसार छिट्टै पोख्रामा प्रहरी चौकी स्थापना गरिने प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो । भवन निर्माणका लागि जग्गा पास गरेर चैत महिनाभित्र प्रहरी चौकी स्थापना गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया