केन्द्रीय सदस्यमा धौलागिरिबाट सातजना आकाङ्क्षी

इनेप्लिज २०७२ फागुन २० गते १:५२ मा प्रकाशित

फलेवास (पर्वत), २० फागुन । नेपाली काँग्रेसमा नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएका बेला धौलागिरिबाट एक दर्जनले केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पर्वत जिल्लाबाट दुईजना, बागलुङबाट पाँचजना, म्याग्दीबाट एकजना र मुस्ताङबाट एकजनाले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

बाह्राँै महाधिवेशनमा धौलागिरिबाट एकजना भूगोलमा निर्वाचित हुने व्यवस्था भए पनि यसपटक प्रदेशबाट दुईजना मात्रै चयन हुनेछन् । उनीहरु धौलागिरि र गण्डकी अञ्चल जोडिएर बनेको प्रदेश नं ४ बाट प्रतिस्पर्धा गर्ने तयारीमा छन् । बाह्रौँ महाधिवेशनमा धौलागिरिबाट अर्जुनप्रसाद जोशी र गण्डकीबाट सुरेन्द्र पाण्डे निर्वाचित हुनुभएको थियो ।

बिहीबारदेखि सुरु हुने १३औँ महाधिवेशनमा धौलागिरिबाट अर्जुनप्रसाद जोशी, किरण पौडेल, प्रकाश शर्मा पौडेल, नवराज गुरुङ, रेशमबहादुर बानियाँ, टेकराज शर्मा तथा रत्ना शेरचनले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

बागलुङका किरण पौडेल १२औँ महाधिवेशनमा अर्जुनप्रसाद जोशीसँग पराजित हुनुभएको थियो । शेरचन महिला कोटामा विजयी हुनुभएको थियो । शेरचन महिला कोटा र गुरुङ जनजातितर्फ प्रतिस्पर्धा गर्ने सम्भावना छ । अर्जुनप्रसाद जोशी, किरण पौडेल, प्रकाश पौडेल, रेशमबहादुर बानियाँ र टेकराज शर्मा भने प्रदेशको कोटामा भिड्ने बताइएको छ ।

उनीहरुले मतदाता भेटघाट तथा प्रचारप्रसारलाई तीव्र पारेका छन् । आकाङ्क्षीमध्ये किरण पौडेल, टेकराज शर्मा र नवराज गुरुङ देउवा निकट हुनुहुन्छ । अर्जुनप्रसाद जोशी सिटौला निकट र रत्ना शेरचन, प्रकाश शर्मा पौडेल र रेशम बानियाँ रामचन्द्र पौडेल निकट मानिनुहुन्छ ।

प्रतिक्रिया