शनिबार, माघ १० २०७७
काठमाडौं ०३:४६
वासिङटन डिसी 17:01

सिटौला समूहद्वारा उम्मेदवारी घोषणा

इनेप्लिज २०७२ फागुन १९ गते १५:३३ मा प्रकाशित

krishna-sitaulaकाठमाडौं, १९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी सिटौला समूहले उम्मेदवारी घोषणा गरेको हो । सिटौला सभापतिको उम्मेदवार हुने समुहबाट महामन्त्रीमा गगन थापाले र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिनुहुने भएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा तीनवटै पदका उम्मेदवारहरुले पार्टीमा रहेको गुटको अन्त्य गर्न र पार्टीलाई ऊर्जाशील बनाउन आफूहरुको उम्मेदवारी भएको बताउनुभएको थियो । उहाँहरुले आफूहरु कुनै गुटको नभई सबै नेता तथा कार्यकर्ताहरुको भवनाको प्रतिनिधित्व गर्न जुर्मुराएको चर्चा गर्नु भयो ।

सभापतिका उम्मेदवार सिटौलाले शान्तिप्रक्रिया र संविधान निर्माणको काम सकिएकाले अब त्यसको कार्यान्वयनको जिम्मेवारी आफूहरुले पूरा गर्ने बताउनुभयो । उहाँले पार्टीलाई गतिशील, विचारशील र अग्रगामी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्वको आवश्यकता भएकाले आफूले नेतृत्व लिन तम्सिएको स्पष्ट पार्नुभयो ।

महामन्त्रीका उम्मेदवार थापाले आफ्नो नसामा विपीको रगत नभई विचार बगेको बताउनुभयो । उहाँले भन्नु भयो“पार्टी रगतले होइन विचारले चलाउने हो त्यसैले मेरो नसा नसामा विपीको विचार बगेकाले विपीको विचारअनुसार नै पार्टीलाई चलाउने अठोट गरेको छु ।”

कोषाध्यक्षका उम्मेदवार चौधरीले पार्टीभित्रको भागबण्डको अन्त्यका लागि आफूहरुले उम्मेदवारी दिएको बताउनुभयो । पार्टी चलाउने विराशतले होइन विचारले हो भन्दै नेता चौधरीले विचारशील नेता तथा कार्यकर्ताले आफूहरुलाई उत्साहित पारेको बताउनुभयो ।

कार्यक्रममा केही केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रतिक्रिया