सोमबार, जेठ ३१ २०७८
काठमाडौं ००:१३
वासिङटन डिसी 14:28

झापाको शानः हिमाली निमावि

इनेप्लिज २०७२ फागुन ११ गते २३:१७ मा प्रकाशित

IMG_6149

लक्ष्मी काफ्ले/झापा
एउटा कक्षामा दुईजना शिक्षक एकैपटक पढाउँदैछन् । भित्तामा दुईतिरै पाटी झुण्ड्याइएको छ । आधा विद्यार्थीलाई पश्चिम फर्काएर पढाइँदैछ, आधालाई पूर्व । कक्षाकोठा शान्त छ, अलिकति पनि हल्ला छैन । न शिक्षकले आवाज निकाल्छन्, न विद्यार्थीले । अनौठो अनि रमाइलो लाग्छ यो दृश्य देख्नेलाई ।

झापाको लक्ष्मीपुरस्थित हिमाली निमाविको चिटिक्क परेको कक्षाकोठा । कक्षाभित्र फरक क्षमताका २० जना विद्यार्थी छन् । ती विद्यार्थीलाई दुईपटि फर्काएर पढाउँदैछन् शिक्षकद्वय वेदराज आचार्य र हरि अधिकारी । फरक क्षमता भएका विद्यार्थीलाई उनीहरुले पढाएको वर्षौं भइसक्यो । यी विद्यार्थीमध्ये ९ जना कक्षा १ का हुन्, ११ जना कक्षा ५ का । दुईवटा कक्षाका विद्यार्थी एउटै कोठामा रमाइलो मान्दै पढिरहन्छन् ।

IMG_6146कक्षा १ मा ४ छात्र र ५ छात्रा छन् । कक्षा ५ मा ६ छात्र र ५ छात्रा । उनीहरु भद्रपुर, ज्यामिरगढी, बिर्तामोड, शिवसताक्षी, दमक, इलामको चिसापानी, मोरङको टाँडी लगायत स्थानका हुन् । यी विद्यार्थीलाई पढाउने शिक्षक पनि फरक क्षमताकै छन् । आचार्य बहिरा शिक्षक (बोल्न नसक्ने) हुन् भने अधिकारी सुस्त श्रवण । विद्यार्थीलाई उनीहरु साङ्केतिक भाषमा इसाराले पढाउँछन् । ‘कुनै जनावरको बारेमा कुरा बुझाउनुपर्यो भने त्यो जनावरजस्तै बन्नुपर्छ,’ विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझा भन्छन्, ‘बाघको बारेमा बुझाउनुपर्दा उहाँहरु विद्यार्थीलाई बाघको हाउभाउको इसारा गरेर बुझाउनुहुन्छ ।’

विद्यार्थीलाई राज्यले मासिक २५ सय रुपैयाँ छात्रवृत्ती दिने गरेको छ । कक्षाकोठाको भित्ताभरी विभिन्न जनावर तथा चराचुरुङ्गीको चित्र र नाम लेखिएको छ । भित्तामा चित्र बनाएर नाम लेख्न ६० हजार रुपैयाँ खर्च भएको प्रधानाध्यापक ओझा बताउँछन् । त्यही रकमबाट विद्यार्थीलाई खुवाउने, बास बसाउने र उपचार गरिने उनले बताए । ‘राज्यबाट आएको पैसाले पुग्दैन,’ ओझाले भने, ‘दाताहरुले सहयोग गर्दैहुनुहुन्छ, कसैले मुस्ठीदान गर्नुहुन्छ, यसरी चल्दैछ ।’

यो विद्यालय निमावि हो । सामान्य विद्यार्थी कक्षा ७ सम्म अध्ययन गर्छन् यहाँ । तर, यी विद्यार्थीलाई भने कक्षा ५ सम्म मात्र पढाउने व्यवस्था छ हिमाली निमाविमा । ५ कक्षा उत्तीर्ण भएपछि सुरुङ्गास्थित कनकाई माविमा भर्ना गरिन्छ उनीहरुलाई । यो विद्यालयका अलावा झापामा मोहनमाया मावि चारपाने, कनकाई मावि सुरुङ्गा र मङ्गलमय मावि लखनपुरमा फरक क्षमताका विद्यार्थी अध्ययन गर्छन् ।

IMG_6151हिमालीमा अध्ययनरत् फरक क्षमताका विद्यार्थी पढाईमा अब्बल छन् । शिक्षकले इसाराले सिकाएको कुरा उनीहरु छिट्टो बुझ्छन् । नबुझेको कुरा इसारामै सोध्छन् । शिक्षक र विद्यार्थीबीच इसारामै गफ हुन्छ । विद्यालयले नै उनीहरुलाई खाने, बस्ने र रेखदेख गर्ने जिम्मा लिएको छ । नानीहरु अनुशासित छन् ।

शिक्षक हरि अधिकारीले ०५६ सालदेखि यो विद्यालयमा शिक्षण सुरु गरेका हुन् । उनले सुरुदेखि नै बहिरा विद्यार्थीलाई पढाए । ‘सुन्ने, बोल्ने ६ वर्षको नानी आउँदा धेरै शव्दभण्डार जानिसकेको हुन्छ, बहिरा विद्यार्थी जीरो अवस्थामा आएको हुन्छ,’ अधिकारीले भने, ‘चरा, किरा, क–ख सबै सिकाउनुपर्छ, बुझाउन गाह्रो हुन्छ ।’ विद्यार्थीले नबुझ्दा कहिलेकाहिँ अप्ठ्यारो हुने उनको भनाई छ । उनले थपे, ‘काका भनेको बुझाउनका लागि बाबुकै भाई ल्याएर पनि देखाउनुपर्छ, यतिसम्म गाह्रो छ ।’

राष्ट्रिय बहिरा महासंघले ०५३ सालमा ६ महिना तालिम दिएको थियो शान्तिनगरमा । अधिकारीले त्यहीँ तालिम लिएर शिक्षण पेशा सुरु गरेका हुन् । अरु कक्षाका विद्यार्थीलाई पढाउन गाह्रो हुन्छ उनलाई । कानमा इयरफोन (श्रवणयन्त्र) लगाउँदा हल्ला बढी आउने, नलगाउँदा नसुनिने समस्या हुन्छ । त्यसैले उनी फरक क्षमताका विद्यार्थीलाई मात्र पढाउँछन्, इशाराले । ‘यस्ता विद्यार्थीलाई पढाउनका लागि साङ्केतिक भाषा नजान्ने शिक्षकको त कामै छैन,’ उनले भने । अर्का शिक्षक वेदराज आचार्य जन्मजात बहिरा हुन् । उनले राजविराजमा शाङ्केतिक विशेष शिक्षा लिएर शिक्षण पेशा सुरु गरेका हुन् ।

शिक्षक अधिकारी

शिक्षक अधिकारी

यस्तो छ विद्यालय
हिमालीको भवन र शौचालय अपाङ्गमैत्री छ । भवन बनाउन दुईवर्षअघि पुराण लगाइएको थियो । पुराणबाट उठेको रकममा शिक्षा कार्यालय, कनकाई नगरपालिका र झापाका सांसदको सहयोगबाट ८ कोठे भवन बनाइएको हो ।

विद्यालयको वातावरण हरियाली, स्वच्छ र शान्त छ । ‘ग्रीन, क्लीन, पीस र सेफ’ को अध्ययनकेन्द्रको रुपमा तोकिएको छ विद्यालय । यहाँको वलक्लव क्रियाशील छ । बाल क्लवले नै हरित विद्यालय बनाएको हो । बाल क्लवले फुलबारी बनाएको छ । विद्यार्थीलाई अनुसासन सिकाउने काम पनि बाल क्लवले नै गर्छ । यस विद्यालयको बाल क्लवले नेपालकै उत्कृष्ट बाल क्लवको रुपमा पुरस्कार पाइसकेको छ । झापामा उत्कृष्ट विशेष व्यवस्थापन भएको विद्यालयका रुपमा घोषणा भएको विद्यालय हो यो । शैक्षिक सामाग्री निर्माणमा पूर्वाञ्चलमै प्रथम पनि भएको थियो विद्यालय ।

यहाँ छुट्टै ‘चेन्जिङ रुम’ छ, महिनावारी हुँदा छात्राले यो कोठा प्रयोग गर्छन् । ‘हामीले सेनेटरी प्याडको पनि व्यवस्था गरिदिएका छौँ,’ प्रधानाध्यापक ओझाले भने, ‘यसले गर्दा छात्राहरु महिनावारी हुँदासमेत आफूलाई सुरक्षित महसुस गर्छन् ।’

ओझाले ल्याएको परिवर्तन
प्रधानाध्यापक केशवप्रसाद ओझा ०६१ सालदेखि यस विद्यालयमा आएका हुन् । विद्यालयलाई सुन्दर बनाउने उनको सपना थियो । त्यति नै बेला तत्कालिन विद्रोही समूहले उनलाई अपहरण गर्यो । अपहरणमुक्त भएपछि पनि उनी विद्यालयमै अहोरात्र खटिरहे । ‘मेरो सपना साकार पर्न सहयोग गर्ने टिम पाएँ मैले विद्यालयमा,’ उनले सुनाए, ‘म आउँदा स्कूलको रुपमा मात्र थियो यो स्कूल, डेढसय विद्यार्थी थिए, विद्यालय प्रावि थियो ।’

IMG_6156उनकै पहलमा ०६५ बाट विद्यालय निमावि बन्यो । अहिले ४२५ विद्यार्थी छन् । ओझाले कक्षा १ बाटै कम्प्यूटर शिक्षा सुरु गरेका छन् । विद्यालयमा २१ जना शिक्षक कर्मचारी छन् । शिक्षा कार्यालय, मन्त्रालय, विभाग हुँदै देशका विभिन्न स्थानबाट विद्यालयको अवलोकन गर्न आउने गरेको ओझा सुनाउँछन् ।

तस्वीरहरुः बुद्ध तामाङ

प्रतिक्रिया