पूर्ण क्षमतामा इन्धन वितरण तयारी

इनेप्लिज २०७२ फागुन १० गते १३:५२ मा प्रकाशित

fuel-at-a-petrol-stationकाठमाडौँ, १० फागुन । सरकारले कारबाहीमा परेका बाहेक सबै पेट्रोल पम्पलाई पूर्ण क्षमतामा इन्धन वितरण गर्ने भएको छ ।

हाल कायम रहेको मोटरसाइकललाई पाँच लि र अन्य चारपाङ्ग्रे सवारी साधनलाई दिइँदै आएको १५ लिको कोटा प्रणाली हटाएर सबैले समान रुपमा इन्धन पाउने गरी आवश्यक व्यवस्था मिलाइएको छ । परिमाणात्मक बन्देज हटाइएपछि उपभोक्ताले सहज अवस्थाको अनुभव गर्ने र भण्डारण गर्ने प्रवृत्तिको समेत अन्त्य हुने सरकारको भनाइ छ ।

आपूर्ति मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गणेशमान पुनले इन्डियन आयल कर्पोरेसनबाट पूर्ण रुपमा इन्धन प्राप्त नभए पनि प्राप्त इन्धनलाई सहज रुपमा वितरण गर्ने प्रणालीको सुरुआत गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “आजदेखि उपभोक्ताले आफूले चाहे अनुसार इन्धन पाउँछन् र पूर्ण क्षमतामा नै खाना पकाउने ग्यास समेत पाउँछन्, त्यसको आवश्यक व्यवस्था मिलाइसकिएको छ ।”

उपत्यकामा बढी इन्धन

काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा भन्दा बढी इन्धन बिक्री वितरण गरिएको छ । आपूर्तिमन्त्रीले तीन लाख ५० हजार लिबाट बढाएर चार लाख ५० हजार लि डिजेल र चार लाख ५० हजार लिबाट बढाएर पाँच लाख लि पेट्रोल आजैदेखि बिक्री वितरण सुरु गरिएको जानकारी दिनुभयो ।

भारतको अघोषित नाकाबन्दी खुलेपछि हाल वीरगन्ज रक्सौल नाकाबाट ७० प्रतिशत मात्रै इन्धन आपूर्ति भइरहेको छ । सामान्य अवस्थामा दैनिक २६ लाख लि इन्धन सो नाकाबाट आयात हुने गरेकामा हाल दैनिक २० लाख लि आयात भइरहेको छ । अन्य नाकाबाट सामान्य रुपमा नै आयात भइरहेको छ ।

यस्तै अभावका समयमा ७.१ केजी खाना पकाउने ग्यास वितरण भइरहेकामा ग्यास उद्योगी सङ्घ तथा अन्य सरोकार भएका निकायको आग्रहमा मङ्गलबारदेखि उपभोक्ताले १४.१ केजी नै ग्यास पाउने मन्त्री पुनको भनाइ छ ।

मन्त्रालयले बजार अनुगमनलाई समेत सघन रुपमा अगाडि बढाउने भएको छ । अभावका बेलामा वा देखाउनका लागि मात्रै विगतमा अनुगमन गरिने गरिएको पाइएकाले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले सघन रुपमा बजार अनुगमन गर्ने उहाँले बताउनुभयो ।

चीनबाट इन्धन आयात

मन्त्री पुनले चीनबाट इन्धन आयात गर्ने विषयमा निकट भविष्यमा नै सम्झौता हुने जानकारी दिनुभयो । “सबै प्रक्रिया अगाडि बढेका छन् । हाम्रो तर्फबाट गर्नुपर्ने सबै प्रयास सम्पन्न भएका छन् । अब दुई पक्षीय रुपमा सम्झौता मात्रै हुन बाँकी छ”– मन्त्री पुनले भन्नुभयो ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले निगम सुदृढीकरणका लागि डिपो सुधार, नयाँ डिपो निर्माण तथा मध्यपहाडी लोकमार्ग लगायत रणनीतिक महत्वका स्थानमा डिपो निर्माण गर्न अध्ययन सुरु भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया