चितवन, ७ फागुन । माडी नगरपालिका–१२ दवई खोलामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्जको दवई खोलामा माछा मार्न गएकी स्थानीयवासी ६० वर्षीया सुकमाया मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मगर दम्पती माछा मार्दै गर्दा जङ्गली हात्ती आएपछि श्रीमान् दलबहादुर भागेर बाँच्नुभएको थियो भने श्रीमतीको हात्तीले कुल्चिएर मृत्यु भयो । बिहीबार दिउँसोको घटना भए पनि साँझ मात्र प्रहरीलाई खबर भएपछि आज मात्र शव भरतपुर ल्याइन लागेको प्रहरीले जनाएको छ ।
केही दिनअघि पनि चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको हात्तीको आक्रमणबाट मेघौलीमा एक महिलाको मृत्यु भएको थियो । मेघौली क्षेत्रमा केही दिनयता जङ्गली हात्तीले स्थानीयवासीलाई सताएको छ भने माडी क्षेत्रमा पनि जङ्गली हात्तीको आक्रमण हुन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।
प्रतिक्रिया