प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा

इनेप्लिज २०७२ फागुन ७ गते १३:०६ मा प्रकाशित

kp-sharma-oli-india-visit-10काठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ४६ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नयाँदिल्ली प्रस्थान गर्नुभयो ।

भारतको छ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले बिदाई गर्नुभयो ।

प्रधानमन्त्रीको बिदाईका लागि संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, सांसद, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

सो अवसरमा नेपाली सेनाले प्रधानमन्त्रीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । संविधानसभाबाट संविधान जारी भएपछि निर्वाचित प्रधानमन्त्री ओलीको भारत पहिलो विदेश भ्रमण हो ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्यका साथै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल हुनुहुन्छ ।

त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्यसचिव डा सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा संलग्न हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनु हुनेछ । प्रधानमन्त्री ओली भ्रमणका बेला आजै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६ आँै राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनुहुनेछ ।

प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा आयोजना गरिने विशेष स्वागत समारोहमा सरिक हुनुहुनेछ र उहाँले सेनाको सलामीको निरीक्षण गर्नुहुनेछ । त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्नुहुने कार्यक्रम छ ।

सोही दिन प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयमा औपचारिक बैठक गर्नुहुनेछ । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीको यो भ्रमणले पछिल्लो समयमा दुई देशबीच उत्पन्न तिक्ततालाई चिर्दै मैत्रीपूर्ण सम्बन्धमा रुपान्तरण गर्न उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया