हात्ती आक्रमणबाट बचाउने घेराबेरा तयार

इनेप्लिज २०७२ फागुन ७ गते १:४७ मा प्रकाशित

भद्रपुर, ७ फागुन । झापाको उत्तरपूर्वी क्षेत्रका मेचीनगर नगरपालिका र बाहुनडाँगी गाविस अब जङ्गली हात्तीको आक्रमणबाट बच्ने भएका छन् ।

भारतको आसामबाट बर्सेनि आउने जङ्गली हात्तीले मेची नदी पार गरेर बाहुनडाँगी, बुधबारे, शान्तिनगर गाविस तथा मेचीनगर नगरपालिका क्षेत्रमा विध्वंश मच्चाउने गरेका थिए ।

हात्तीले मानवलाई आक्रमण गर्नुका साथै अन्नपात खाइदिने, घर भत्काउनेजस्ता कार्य बर्सेनि गर्दै आइरहेको अवस्थामा स्थानीय जनताको मागअनुसार जिल्ला वन कार्यालय झापाले हात्ती प्रवेशद्वारमा शौर्य विद्युतीय तारबारको काम सम्पन्न गरेको छ ।

इलामको जिर्मले देखि दक्षिणतर्फ मेचीनगर नगरपालिका वडा नं १० स्थित धारी रेष्टुराँसम्म जम्मा १८ किमी विद्युतीय तारबारको काम सम्पन्न गरेको छ ।

हात्ती प्रवेश गर्न खोजे तारमा रहेको विद्युत्ले झट्का हान्ने र हात्ती पुनः आएको बाटोतर्फ नै फर्कने भएकाले अब यस क्षेत्रमा आगन्तुक हात्तीले आक्रमण गर्न नसक्ने जिल्ला वन कार्यालयका प्रमुख इन्द्रमणि भण्डारीले जानकारी दिनुभयो ।

पाँच फिट उचाइमा चार फेज तारमा तीन फेजमा विद्युत् आपूर्ति हुने र एक फेज न्यूट्रल रहने सो तारबारमा कुल रु एक करोड ५५ लाख लागतमा भारत केरला फेन्ज गार्ड कम्पनीले निर्माण गरेको बताइएको छ ।

पाँच दशकअघिदेखि यस क्षेत्रमा सयौँका सङ्ख्यामा जङ्गली हात्ती प्रवेश गरी अहिलेसम्ममा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने हात्तीको आक्रमणबाट मृत्यु हुने परिवारलाई सरकारले गएको वर्षदेखि रु पाँच लाख क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया