फोटोसहितको मतदाता नामावली अद्यावधिक गरिँदै

इनेप्लिज २०७२ फागुन ६ गते २:२६ मा प्रकाशित

photosahit ko namaabaliप्यूठान, ६ फागुन । जिल्ला निर्वाचन कार्यालयले प्यूठानका ३२ वटा गाविसमा फोटोसहितको मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

फोटोसहितको मतदाता नामावलीमा छुटेका नागरिकलाई मतदाता नामावलीमा लिनका लागि अभियानकै रुपमा अद्यावधिक कार्यक्रम सुरु भएको निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य फागुन ९ देखि चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्यूठान जिल्लामा गत असार मसान्तसम्म एक लाख १७ हजार ६३९ मतदाता रहेका छन् । मतदाता नामावलीमा पुरुषको भन्दा महिलाको सङ्ख्या धेरै रहेको छ । यहाँ महिला ६३ हजार १९५, पुरुष ५४ हजार १४३ र तेस्रोलिङ्गी एकजना मतदाता रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा सञ्चालन गर्न लागिएको फोटोसहितको विशेष अभियानबाट एक हजार ५०० थप नामावली सङ्कलन गर्ने लक्ष्य राखेको भन्दै कार्यालय प्रमुख भण्डारीले लक्ष्य पूरा गर्नका लागि गाउँस्तरमा शिक्षक, गाविस सचिव, राजनीतिक दल, सञ्चारकर्मीलगायतसँगको सहकार्यलाई प्रथमिकता दिइएको समेत जानकारी दिनुभयो ।

गाविसस्तरमा मतदाता नामावली सङ्कलन गर्दा गाविस कार्यालयबाहेक अन्य स्थानमा पनि कार्यक्रम लैजानुपर्नेमा जिल्ला सरोकारवालाहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया