हराउन थाले गौँथली

इनेप्लिज २०७२ फागुन ५ गते ३:१३ मा प्रकाशित

gauthali(बेनी) म्याग्दी, ५ फागुन । कुनै समय बाक्लै देखिने गौँथली बिस्तारै हराउन थालेका छन् ।

सदरमुकाम बेनीबजार, गलेश्वर, दरबाङ लगायत क्षेत्रमा दुई तीन वर्षअगाडि घरैपिच्छे देखिने गौँथली गुँड छाडेर जान थालेका हुन् । जोडी बनाएर बस्ने गौँथलीले मानव बस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभाव लगायत विभिन्न कारणले बिस्तारै बासस्थान परिवर्तन गर्न थालेको वातावरणका अध्येता चन्द्रमणि सापकोटाले बताउनुभयो । “बासस्थान र चरन क्षेत्र प्रमुख कारण हो, भौतिक संरचना गौँथलीमैत्री छैन”, सापकोटाले भन्नुभयो ।

धार्मिक र परम्परागत भनाइमा गौँथली मार्दा पाप लाग्ने बताइने गरे पनि पछिल्ला वर्षमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरेर समेत मार्ने गरिएकोप्रति वातावरण संरक्षणको अभियानमा लागेकाहरु चिन्तित छन् ।

यसैबीच बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक गौँथलीप्रति आकर्षित हुन थालेपछि गुँड निर्माण, चरन क्षेत्रको व्यवस्थापन, बस्ती नजिक रहेको हिलो माटामा मानव सिर्जित फोहोरमा प्रतिबन्ध लगाइएको तातोपानीका होटल व्यवसायी कुमार केसीले बताउनुभयो । “विगतभन्दा कम देखिन थालेका छन्, हामीले गौँथलीलाई संरक्षणका लागि आवश्यक क्षेत्रमा ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो । तातोपानीमा आएका स्पेनका पर्यटकले आफ्नो देशमा गौँथलीलाई भगवान्का रुपमा लिने गरेको बताएको केसीले जानकारी दिनुभयो ।

म्याग्दीका अन्य क्षेत्रको तुलनामा तातोपानीमा गौँथली देखिने गरेका छन् । मानवीय लापरबाहीका कारण लोप हुन लागेको गौँथलीलाई संरक्षणका लागि गुँड नजिक अर्को गुँड बनाउने, आवतजावन गर्ने मार्गमा कुनै अवरोध नगर्ने, घरमा किरा मार्ने विषादी प्रयोग नगर्ने र हिलो भएको ठाउँमा अन्य फोहोर नफाल्ने गरेमा संरक्षण गर्न सकिने वन तथा वातावरणसँग सम्बन्धित व्यक्तिले बताएका छन् ।

प्रतिक्रिया