भ्रमणको उद्देश्य सम्बन्ध सुदृढिकरण र साझा समृद्धि: उपप्रम थापा

इनेप्लिज २०७२ फागुन ४ गते १३:०८ मा प्रकाशित

kamal-thapa-650x433काठमाडौँ ४ फागुन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको उद्देश्य दुई देशबीचको गाढा सम्बन्ध विस्तार र साझा समृद्धि हुने बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी स्नातकोत्तर कार्यक्रम सञ्चालनको दुई वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित ‘संविधानपछिको कूटनीतिक विकासक्रम’ विषयक अन्तक्र्रियामा मन्त्री थापाले विद्यमान आधारभूत परराष्ट्रनीतिलाई कायम राख्दै राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्तालाई संरक्षण गरी अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्नुपर्ने समय आएको पनि बताउनुभयो ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध एकोहोरो भारतमुखी मानिएकाले त्यसलाई परिवर्तन गरी अन्य देशसँग पनि सम्बन्ध विस्तारको आवश्यकतामा जोड दिँदै उहाँले प्रधानमन्त्रीको भ्रमणका समयमा कुनै असमान सम्झौता नहुने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओली यही फागुन ७ गतेदेखि पाँच दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

कुनै पनि मुलुकको परराष्ट्र नीति निरन्तरता र परिवर्तनशीलतामा आधारित हुने भन्दै उहाँले दुई ठूला देशबीचको नेपालको ती मुलुकसँगको सम्बन्ध चुनौतीपूर्ण रहेको जनाउनुभयो । उहाँले भन्नुभयो–“हामी नेपाली जनताको सद्भाव र शुभेच्छा लिएर भारत जाँदैछौँ, जसको सकारात्मक प्रतिफल प्राप्त हुनेछ ।”

थापाले भन्नुभयो, ‘‘हामी दुई देश महत्वपूर्ण छिमेकी हौँ । त्यसैले अहिलेको प्राथमिकता आपसी सम्बन्धलाई कसरी व्याख्या गर्ने भन्ने हो ।”

उहाँले नेपालका दुई छिकेकी राष्ट्र एकातिर चीनले उल्लेख्य आर्थिक वृद्धि गरी विश्वमा पहिलो हुने तरखरमा रहेको र भारतले आफ्नो आर्थिक वृद्धिदरमा उल्लेख्य सुधार गरिरहेको अवस्थामा नेपालले आफ्नो प्राथमिकतालाई ध्यानमा राखी परराष्ट्र नीतिलाई सन्तुलनमा राखेर अगाडि बढाउनु बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा सविधान जारी गरेपछि भारतले गरेको अघोषित नाकाबन्दी न्यायसङ्गत नभएको बताउँदै उपप्रधानमन्त्री थापाले भारतको यस्तो कदमले भूपरिवेष्ठित मानसिकतालाई आत्मसात् गर्नुपर्र्ने पाठ सिकाएको उहाँको धारणा थियो ।

“संविधान जारी गरेको विषयमा छिमेकी देशबाट नाकाबन्दी हुनु न्यायसङ्गत थिएन यो विषय पछिसम्म सोचनीय हुनेछ”, थापाले भन्नुभयो, “हामीले भूपरिवेष्ठित मुलुकको अधिकार माग्दा भारतमुखी मात्र हुने कारण चीनसँगको ६० वर्षे लामो सम्बन्ध हुँदाहँुदै पनि पारवाहन सम्बन्ध विस्तार गर्न नसकेको यथार्थ हो ।”

कूटनीतिज्ञ डा भेषबहादुर थापाले भारतको अघोषित नाकाबन्दीमा नेपाली जनताले देखाएको धैर्य र राष्ट्रिय स्वाभिमानका लागि सरकारको अडान स्मरणीय रहेको भन्दै अबको सम्बन्ध सुधारमा नयाँ उचाइका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का सांसद तथा कूटनीतिक मामिलाका जानकार डा राजन भट्टराईले संविधानपछिको कूटनीतिक विकासक्रमले नेपाललाई कूटनीतिक क्षेत्र र भारतसँगको सम्बन्धमा सिकाएको पाठलाई ध्यानमा राख्न सचेत गराएको बताउनुभयो ।

संविधानविद् नीलाम्बर आचार्यले नेपालकोे शान्ति प्रक्रियामा विदेशीलाई प्रवेश गराउनु नै गलत भएको भन्दै भारतसँगका विगतका सन्धि सम्झौतालाई पुनरावलोकन गरी अघि बढ्नुपर्छ भन्नुभयो ।

त्रिविको सो कार्यक्रमका संयोजक डा खड्ग केसीले अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र कूटनीतिक विषयमा नयाँ जनशक्ति विस्तार गर्न कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

सो विषयको स्नातकोत्तर कार्यक्रममा प्रतिवर्ष ५० विद्यार्थी भर्ना हुँदै आएका छन् ।

प्रतिक्रिया