सामूहिक बलात्कार र जबर्जस्ती करणीका घटना

इनेप्लिज २०७२ फागुन ३ गते १२:५७ मा प्रकाशित

balatkar1दोलखा, ३ फागुन । गत माघमा यहाँ चार जबर्जस्ती करणीका घटना दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले सदरमुकाम चरिकोटमा आज पत्रकार सम्मेलन गरी जबर्जस्ती करणीमा परेका पीडितमध्ये तीन जना १४ वर्षमुनिका र एक जना २० वर्ष माथिका युवती रहेको जनाएको छ । कार्यालयका अनुसार माघ १७ गते सुनखानी गासिवसकी एक बालिकालाई सोही स्थानका अनिल परियारले ललाइफकाई तथा त्रास देखाई जबर्जस्ती करणी गरेका थिए ।

पीडित पक्षबाट कानुन बमोजिम कारबाहीका लागी जाहेरी प्राप्त भएपछि अभियुक्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । यसैगरी सुनखानी–९ बस्ने ३३ वर्षीय बोधराज आचार्य पनि जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । उनले भीमेश्वर नगरपालिका महिलालाई प्रलोभनमा पारी पटक पटक जबर्जस्ती करणी गर्दै आएका थिए ।

यसैगरी माघ १० गते मेलुङ गाविसकी एक बालिका माथि जबर्जस्ती करणी भएको छ । माघ १० गते मेलुङ गाविस–६ बस्ने राजेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ र दीपक श्रेष्ठ तथा वडा नं–७ बस्ने सञ्जीव श्रेष्ठ समेतले बालिकालाई बाटामा हिँड्ने क्रममा त्रास देखाई सामूहिक जबर्जस्ती करणी गरेका थिए ।

अभियुक्तविरुद्ध कारबाहीका लागि पीडित पक्षबाट जाहेरी प्राप्त भएपछि अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी फस्कु गाविसकी १४ वर्षीया बालिकाले आफूलाई एक वर्ष अगाडिदेखि पटक पटक बलात्कार गरिएको भनी सोही स्थानका एक युवकविरुद्ध लाई उजुुरी दिएकामा अभियुक्त फरार रहेको र खोजी भइरहेको छ । प्रनाउ पाण्डेका अनुसार पीडितको आर्थिक अवस्था कमजोर भएकाले पनि यस्ता घटना भएको अनुसन्धानबाट खुलेको छ ।

यस्ता किसिमका घटनामा आर्थिक कारोबार गरी गाउँमै मेलमिलाप गर्ने गरेको पाइएको छ । आफ्नो गाउँघरमा यस्ता किसिमका घटना भए प्रहरीमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया