मेरी भ्यालेन्टाइन्

इनेप्लिज २०७२ फागुन २ गते २२:२६ मा प्रकाशित

 

pitambar pandey

प्रभाती-किरणको स्पर्श होस् या त्यही समयकमा पूर्वेली आकाशमा देखिने मधुर लालित्यको दर्शन, दुबै नपाएको त कयौँ समय बितीसकेको थियो तर त्यो दिन भने मेरो नींद चाँडै नै खुल्यो। तन्द्राबाट निस्केर चेतनामा आए पछि दिमागले सोच्यो- आज त “भ्यालेन्टाइनस्-डे” हो क्यार!” हो त्यो दिन मलाई त्यो सूर्य किरणले पृथ्वीमा स्पर्श गर्न नपाउँदै पूर्वको मधुर ललित्य देख्न मन छ। पढाईका चक्करमा बिदेशमा चार बर्ष बिताउँदा यो अवसर कहिल्यै जुरेन। राती अबेर सम्म कम्प्युटरमा झुन्डिएर बस्दा बिहान सबेरै उठेको सम्झना छैन। त्यसै पनि यो बिशाल गगनमंडलमा “उषा या सन्ध्या कालको सौन्दर्य-पान” होस् अथवा “सौम्य बर्षा जलको तिखो स्पर्श”, यी सबको अनुभूती गर्ने फुर्सद कसलाई पो छ र यो दुनियाँमा? त्यस सौम्यताको अनुभव त त्यसले पाउँछ जो “प्रकृति-प्रेमी” बन्दछ कि चाँहीँ स्वयं नै कसैको प्रेममा पर्दछ। ऐले म यी दुई मध्ये कुन चाहिँमा पर्दछु, मलाई नै थाहा छैन तर बिदेशी ठिटो हुनु अघिको त्यो समय जति खेर प्रकृतिका प्रत्येक अंशमा सुन्दरता देख्दथे, त्यती खेर म शायद प्रेममा थिए। शायद हैन, म त अवश्य नै प्रेममा थिए, तेसैले त म “भालेन्टाइन-डे” मा उसलाई प्रेमको प्रस्ताव राख्ने पनि आँट गरें।

“ऊ” अर्थात् “गंगा” मेरो कलेजमा पढ्ने साथी थिई। त्यो कलेजमा म र समीर भन्ने साथी सँगै जाने-आउने गर्दथ्यौँ। समिर मेरो बालक-कालमा धुले-माटो खेल्ने देखीको साथी थियो। कक्षा ११ को सुरुवातमा परिचय कार्यक्रम पछि थप खोजी गर्दा थाहा पाएका थियौ कि गंगा पनि हाम्रै आफ्नै टोल छेउकी केटी रहिछ। गंगाको परिवार उसको एस्. एल. सी. सके पछि यता आएका रे! पढाईको क्रम र केहि समय पछि हामी तीन जनाको सम्बन्ध अति मिल्ने साथीको रुपमा परिणत् भयो। कलेजका दिन होस् या छुट्टीका दिन, नियमित हाम्रो भेटघाट र बातचित भई नै रहन्थ्यो। परिक्षाका समयमा पनि हामी सबै एकै साथ हुन्थ्यौँ। हामी तिनै जनाका परिवारले पनि हामी राम्रा साथी हौ भन्ने बुझेका थिए। तर गंगा सँगको राम्रो चिनजान र हेलमेलका क्रममा उसको सौन्दर्यताले मलाई ऊ तर्फ खिची रहेको मैले महसुश गर्दै थिए। उसको सुन्दरता र मिठो बोलीले मेरो मनमा त पहिलो दिन नै ठाउँ लिई सकेको थियो, त्यसैले त म उसको साथी बन्न तत्कालै लागि परें अनि एकै ठाउँकी भन्ने थाहा पाउँदा खुशीको सिमा रहेन। उ बोलेको, हाँसेको, हिंडेको अथवा उसले जे सुकै गरेको होस्, उसका हर कृयाकलाप मलाई मन पर्न थाले। पढाईको लागि १२ कक्षाको अन्तिम तिर म र गंगा एक्लै पनि यताउता हिंड्ने गरेका थियौ। त्यहि ताक आफ्नो मनको कुरा उसलाई भनुँ-भनुँ पनि नभएको होइन तर मनको कुरा बहिर कहिल्यै निकाल्न हिम्मत जुटेन। उसको सुन्दरता र सैहार्दपूर्ण व्यवहारले गर्दा उ प्रति त जो कोइ पनि आकर्षित हुने गर्दथे। आँफूलाई अरु बाट आउने प्रेम-पत्रहरु बारे हामी दुईलाई पनि उसले बेला बखत सुनाउने गर्दथी। म सँग जत्तिकै समीर सँग पनि उसको दोस्ती भएकोले पनि म आफूँलाई कहिल्यै त्यो स्थानमा पाउन सकिन जसबाट उ पनि म प्रति बिशेष आकर्षित होस्।

हरेस खाने मान्छे त म थिईन। समयको प्रतिक्षा गर्ने धैर्यता पनि म सँग प्रशस्तै थियो तर बिडम्बना यो थियो कि खुलेर बोल्नको लागि प्रर्याप्त हिम्मत म भित्र थिएन। यही हिम्मत जुटाउँदा-जुटाउँदै १२ कक्षा पनि सकियो। केही गरी भएको सम्बन्ध पनि बिग्रने पो हो कि भन्ने डर पनि कता कता थियो यद्दपी म पछि हटिन। यस्तैमा ” भ्यालेन्टाइनस्-डे” पनि नजिकिँदै थियो। त्यो दिन पनि अरु सामान्य दिन भन्दा केही फरक त थिएन तर त्यसले हिम्मत जुटाउनको लागि भने पर्याप्त रुपमा प्रेरित गर्‍यो। तर उसलाई के भन्ने, कसरी भन्ने, के गर्ने भनेर धेरै सोचें। यिनै “के” र “कसरी”को उत्तरको लागि पत्र-पत्रीका, ईन्टरनेट सबै चाहारेँ तर सबै फिल्मी तरिकाका मात्र पाएँ। परोक्ष रुपमा साथी-भाइ सँग पनि बुझे तर कुनै योजना सुझेन। आखिर म उसलाई नजिकैको पार्कमा भेटी कुरा गर्छु भन्ने सोँचे जहाँ ऊ फुर्सदका समयमा आफ्नो दाईको सानो छोरोलाई खेलाउन लैजाने गर्दथी। सजाउन लगाईएका हरिया रुखहरु र रङ्गी-चङ्गी फूलका बोटहरु सहितको त्यो पार्क पर-पर सम्म फैलिएको, ठुलो थियो। बस्नको लागि पर्याप्त बेन्चहरु र बिचमा फराकिलो घाँसे मैदान पनि भएकोले त्यहाँ खेल्न, बस्न या घुम्न सबै उमेर समुहका मान्छे आउने गर्दथे। ” भ्यालेन्टाइनस्-डे” को बारेमा उसको सोचाइ के थियो, मलाई थाहा थिएन तर त्यो दिन पनि उ सानी फुच्चीलाई खेल्न त्यहिँ लैजाने बुझे पछि मेरो योजना सहि बाटो मै गैरहेको मैले अनुमान लगाएँ।

आफ्नो योजना लिएर साझ पाँच बजे त्यहाँ पुग्दा ऊ पहिल्यै नै पुगिसकेकी रहिछ। म पनि आउँदै छु भनेर उसलाई मैले बताई सकेको थिए। ऊ चाहिँ मनिसहरु काम भएको, पार्कको एउटा कुनाको बेन्चमा धुम्म परेर बसेकी रहिछ। फुच्चे त्यहिँ नजिकै अरु केटाकेटी सँग खेल्दै थियो। म गंगा भए तिर लागेँ। म उसको नजिक जादै गर्दा मेरो मुटुको गति झन् भन्दा झन् बढ्दै थियो। मनमा अनेक तर्कनाको ज्वार्भाटा आउँदै-जाँदै गरेका थिए। सधैं “हिंड्ने डुल्ने साथी त हो”- त्यहाँ पुग्दा सम्म म आँफूलाई सम्हाले अनि सदा झै सामान्य कुराबाट कुराकनी सुरु गरेँ। तर अरु कुरामा धेरै बेर अलमल नगरी भ्यालेन्टाइनस्-डे को प्रसँग ल्याएँ अनि योजना-सोँच अनुसार नै सामान्य रुपले निर्धक्कका साथ भनेँ- “हेर गंगा हामी मिल्ने साथी हौँ।” उसले तत्कालै कुरा काटेर ठट्टा गरी-“मैले हैन भनेकी छु र?” मैले मुख-मण्डलमा मुस्कान ल्याउने प्रयत्न गर्दै भनेँ- “हैन, कुरा अली अर्कै छ।” उ अली गम्भिर भई अनि मेरो कुरामा ध्यान दिएर सुन्न थाली। मैले फेरी भने- “नजिकको साथी भएकोले हामी एक अर्कालाई राम्रो सँग चिनेका छौँ। हामी मात्रै हैन आ-आफ्ना परिवारले पनि हामी एक अर्कालाई जाने-बुझेकै छन्।” उ चुप-चाप सुन्दै गई। म एक क्षणको लागि रोकिएँ, अनि फेरी भन्दै गएँ- “म हाम्रो रिलेसन अझ नजिकको होस् भन्ने चाहन्छु। त्यसैले आज बाट तिमीलाई ‘फ्रेन्ड’ मात्र हैन ‘गर्ल-फ्रेन्ड’ भन्न चाहन्छु।”

ठूलो शाहसले मैले यती त भने तर यती भनी सक्दा-नसक्दै बाट मैले उसको अनुहारमा रङ्ग परिवर्तित भएको पाएँ। नकरात्मक प्रतिउत्तर आए के गर्ने भनेर म ब्याकुल भईरहेको अवस्थामा ऊ आँफै पनि के भन्ने भनेर सोच्न नसकेको मैले बुझेँ। म भित्र फेरी शाहस आयो अनि गोजी बाट एउटा रुमाल जस्तो सानो कपडाको ब्यानर निकालेर दुई हातले ऊसको अगाडि फिँजारे जसमा रातो अक्षरले लेखिएको थियो- आई लभ यु। त्यो देखे पछि ऊ हल्का मुस्कुराइ तर तत्काल त्यस बाट आँखा हटाएर तल जमिनमा कतै हेर्दै मधुर स्वरमा सोधी- “कहिले बाट मन पराउँथ्यौ मलाई?”, मैले तत्काल जवाफ दिएँ- “भेट भएको दिन देखी नै।” उसले मेरो आँखामा हेरी, शायद मेरा शब्दको सत्यता खोज्दै थिई। त्यो ब्यानर पट्याएर उसको हातमा राखी दिएँ । उसले फेरी भनी- “हेर प्रतिक, आइ रेस्पेक्ट योर फिलिङ तर मैले तिमीलाई सधैं साथीको रुपमा हेरिरहेकी छु, मलाई समय चाहिन्छ सोच्न।“ म “माग्ने लाई तातो भात” भने जस्तो प्रतिबाद कसरी गर्न सक्थेँ र? स्विकृत शब्द “हुन्छ” मात्र भन्न सकेँ। ऊ त्यहाँ बाट उठी अनि फुच्चे तर्फ गई। एक हातमा त्यहि कपडा र अर्को हातले फुच्चे डोर्याउँदै उ गई, केही बेर मै पर पुगी अनि मेरो नजर बाट बिलिन भई। म लामो श्वास लिएँ। के जवाफ आउला, कसरी आउला, कती खेर आउला भन्ने प्रश्नका तरङ्गले मन र दिमागमा फेरी ज्वार्भाटा ल्याए। झमक्क साँझ नपर्दा सम्म म त्यही बेन्च मै बस्या-बस्यै भएँ।

घर पुग्दा रात पर्‍यो। खाना खाने बेला हुन लागेको रहेछ। सामान्य निधी-खोजी पछि आमाले भन्नु भयो- “तेरो के समान आ’को छ, हेरेस्। टिभी कोठामा रख्दिएकी छु।”, आमाले फेरी थप्नु भयो- “गंगाकी साथी हुँ भन्दै थिई, दिनेले।” त्यो सुन्ने बित्तिकै म बिजुली सरी त्यो समान समक्ष पुगेँ। अनि आफ्नो कोठामा लगेँ। के रहेछ भन्ने कौतुहलता रोक्ने कुरै आएन। राम्रो सानो डब्बामा प्याक भएर आएको चिज खोली हेर्दा म झसँङ्ग भए। सारा संसार प्रफुल्लित हुने प्रीतिकर शब्दहरु देखेर म भने छाँगाबाट खसे झैँ भए। शब्द तिनै थिए- “आइ लभ यू” तर मैले दिएकै ब्यानरमा। एउटा सानो कागजको टुक्रा पनि सँगै रहेछ जसमा नेपाली- अङ्रेजीमा लेखिएको थियो- “म ऐले पढाई करीअरमा फोकस गर्न चाहन्छु। यु आर स्टिल माइ बेस्ट-बेस्ट फ्रेन्ड, होप यु अन्डरस्ट्यान्ड!” म भित्र प्रेम-बिफलको भावावेश, प्रेमानुरागको ह्रास, क्रोध र पिडा एकै पल्ट यसरी आयो कि म के गरु र कसो गरु भएँ, छट्पटाए। अनि जोडले छेवैको भित्तामा हाने। हातले शरिरीक पिडा पनि थप्यो। म बिस्तारामा ढलेँ।

आज पाँच बर्ष पछि म फेरी त्यहि बिस्तारामा थिएँ। माथी भनी नै सकेँ कि यो दिन मेरो नींद आज चाँडै नै खुल्यो। तन्द्राबाट निस्केर चेतनामा आए पछि दिमागले सोच्यो-आज त “भ्यालेन्टाइनस्-डे हो क्यार!” हो मलाई त्यो सूर्य किरणले पृथ्वीमा स्पर्श गर्न नपाउँदैको समयमै पूर्वको मधुर ललित्य देख्न मन थियो। शायद मलाई “प्रकृति-प्रेम”ले भन्दा पनि कसैको प्रेमले चाडै जगाएको थियो।

म आफ्नो हात हेर्छु, त्यो बेलाको चोटको दाग अझै गएको रहेनछ। म उसको पढाई र करीअरको बाधक कसरी भए मैले कहिल्यै बुझ्न सकिन तर उसले जुन निर्णय लिई, त्यसले शायद दुबैलाई सहयोग गर्‍यो। तीन बर्से पढाई सकेर ऊ बैङ्कमा काम गर्छे, मैले पनि बेच्लर-तहको पढाई सकेँ। तर हे भगवान! त्यो दिन आज फेरी नदोहोरियोस्…

म बाहिर निस्किएर बारण्डामा बसेँ। हल्का चिसो बतासले आङ सिरिङ्ग बनायो। पूर्वको लाली आज साँच्चै नै मनोहर देखिन्थ्यो। मनमा फेरी गंगाकै कुरा खेल्यो। अघिल्लो दिन उसलाई भेट्दा यहाँको एक नयाँ क्याफेमा आउनको लागि बोलाएको थिएँ- उही साँझ पाँच बजे। समीरले पढाउने स्कुलमा सरस्वती पूजा कार्यक्रममा भेटिएकी थिई ऊ। फुच्चे पनि ठुलो भै सकेछ। पाँच बर्षमा हाम्रो ठाउँ-टोलमा परिवर्तन त धेरै नै आएछ तर गंगालाई मैले उस्तै नै पाएँ- सुन्दर, नम्र, अनि मिठो आवाज। मेरो लागि त ऊ स्वयं गंगा कै रुप थिई।

ऊ भनेको समयमा टुप्लुक आईपुगी। भित्र-बहिर दुबै तिर बस्ने प्रशस्त ठाँउ थियो। म बहिर कै टेबल लिएर बसेको थिए। भद्र अभिवादन सँगै मैले उसलाई फूल दिँदै भनेँ “ह्याप्पी भ्यालेन्टाइनस्-डे”। उसले धन्यवाद टक्र्याई। पाँच बर्षको समयवधिमा हामी भौगोलिक हिसाबले टाढा नै भए पनि सामाजिक सन्जाल बाट एक अर्काका समाचार देख्ने-बुझ्ने गरीरहेकै थियौँ। त्यसैले एक अर्का प्रति अभ्यस्त भए जस्तै गरी, हामी सामान्य कुराकानी बाट वार्तालाप शुरु गर्यौँ। म अलिकती परिपक्व भएछु क्यार- मेरो मन पहिलेको जस्तो अधीर र मुटुको गति ब्यग्र तेजमा थिएन। यसपाली म आशाबादी थिएँ। उसले केही खान मन नभएको बताएपछि मैले कफी मगाएँ, उसले चिया लिई।

केही बेर यता-उता र देश-बिदेशका कुरा पछि म फेरी सिधा कुरामा आउने बिचार गरेँ। मैले भने- “गंगा, म तिमीलाई तिम्रो घर मै पनि भेट्न सक्थे तर यहाँ नै भेट्न किन बोलाएँ भन्ने कुरा तिमीले अनुमान गरीसकेकी होउली।” उ केही बोलिन, केवल ध्यान दिएर सुनी मात्र रही। कहिले काहीँ अं/अम् मात्र गर्दथी। म भन्दै गएँ- “त्यो दिन पछी मलाई यो ठाउँ मै बस्न मन लागेन, पढाईको लागि फिन्ल्यान्ड जानु जरुरी थिएन तर पनि एप्लाई गरे अनि गएँ। त्यहाँ म धेरै समय सम्म तिम्रो यादमा बसी रहेँ, तर म भित्रको अहम जती खेर सेलायो तव मात्र फकेबूक एक्टिभेट गरेर तिमीलाई एड गरेको थिएँ।” बोल्दै गर्दा मैले उसको मुख-मन्डल पनि नियाली रहेको थिए। उसका आँखामा मेरो लागि सहानुभूती झल्किन्थ्यो। सहानुभूती पनि प्रेमको अर्को रुप हो। म फेरी भन्दै गएँ- “बिदेशमा केटी जती पनि थिए, राम्रा पनि थिए, नराम्रा पनि थिए। बिदेशी, नेपाली सबै थिए तर गंगा थिएनन्। यदी मेरो लागि तिम्रो मनमा कुनै स्थान छ भने, म अझै पनि तिम्रो लागि भनेर कुरेर बसेको छु।” उ मेरो आँखामा एक टकले हेरेर बसेकी थिई। म फेरी उहि पुरानै तरिकाको कपडाको “आई लभ यु” लेखेको ब्यानर निकाले, त्यही शैली मै उसलाई देखाएँ अनि पट्याएर हातमा राखी दिएँ। उ टाउको झुकाइ। मेरा ती कुराहरु सुनेर उ अति नै भावूक भएकी रहिछ, तल फर्किएर कपाल मिलएको बाहनामा आँशु पुछेको मैले देखेँ। मैले आफ्नो कुरा त सबै गरेँ तर उसको जीवनमा अरु के-के चल्दै छ त्यो मैले बुझ्न खोजिन क्यार! मैले गल्ती गरेँ कि भन्ने पनि लाग्यो। एक छिन सन्नाटा छाए जस्तो भयो। केहि बेर मै उ आँफूलाई ठीक गर्दै हल्का रुन्चे स्वरमा उसले भनी- “यी सब कुरा पहिले कहिल्यै किन भनेनौ?, म भित्र पनि धेरै कुरा छन् तर पछि बताउँला” उसले उठ्दै फेरी भनी- ” तर ऐले मलाई समय चाहिन्छ!”

हे भगवान! म फेरी पाँच बर्ष अघिकै अवस्थामा पुगेँ। बसेर कुरा गरौँ न त भनी आग्रह गर्दा उसले मानिन। “स्त्री चरित्र दैब नजाने” भन्थे बुढाहरुले, यही नै होला। उ त्यो ब्यानर लिएर फेरी भिँडमा हराइ। म समिरलाई डाँके। मेरो पुरानो कथा उसलाई सबै थाहा थियो। एक घण्टामा उ आईपुग्यो। सबै कुरा बताएँ, उसको सान्त्वना दिने मात्र काम भयो। म घर पुग्दा रात परिसकेको थियो। माथिल्लो तल्लाको बरान्डामा म झोक्राएर बसेको थिए। तल घन्टी बज्यो। कुनै अपरिचित केटी मान्छेको आवाज सुनियो। केही बेर मै बहिनी आएर मेरो हातमा सानो डब्बा थमाएर गई। पहिले कै जस्तो त्यो बट्टाले फेरी मेरो मन र तनलाई शिथिल बनायो। उहि कोठामा गएँ, गिफ्ट पेपरले बेरेको डब्बा खोलेँ, म जे नहोस् भन्ने सोच्दै थिएँ, त्यही नै हुँदै थियो। म फेरी झसँङ्ग भए। सारा संसार प्रफुल्लित हुने प्रीतिकर शब्दहरु देखेर म फेरी छाँगा बाट खसे झैँ भए। हो, त्यहि कपडा फिर्ता आएको थियो-दोस्रो पल्ट। त्यो कपडा टेबल तिर मिल्काएँ। म आफ्नो रीस र भावबेगलाई नियन्त्रित गर्न खोज्दै थिएँ, आँखा फेरी त्यही कपडामा पर्‍यो। तर  त्यसमा मेरो दोस्रो पल्ट द्रिस्टि परे पछि भने अकस्मात सबै क्रोध, द्वेश र पिडा सबै थर्ममिटरको पारो झैँ स्वात्तै तल झर्यो। मेरो मन एकै चोटि साम्य भयो। मेरो नकारात्मक सोँच सबै बिलिन भएर गए। म त्यो कपडा नजिक गएँ अनी बिस्तारै उठाएर हेरेँ। भावनाले गंगाको प्रतिरुप र प्रेमको तरङ्ग म भित्र फेरी संचार गरी दियो। ब्यानरको पछाडि पट्टी कलमले लेखिएको थियो- ” आइ लभ यु टु!” म मा खुशीको कुनै सिमा रहेन। म पूर्णनन्दित भएँ। ठुलो श्वास फेर्दै बिस्तारामा पल्टिएँ। धन्य हो कृष्ण तिम्रो लीला, आधा ज्यान नै लिने पनि। मन प्रफुल्लित थियो। के गरुँ के गरुँ भयो। हठात् उसलाई फोन बाट एक मेसेज पठाएँ-

“थ्याङ्क्यु!”

कुरेर बसेकी रहिछ, तत्त्कालै स्माइली आइकन पठाई – “ J J J ”

मैले फेरी लेखेँ- यती भन्दिन ५ बर्ष लगाइ दिने!

उत्तर आयो- अब देखी लगाउँदिन J

मैले सोधेँ- म नराम्रो थिएँ र?

“अहँ, थिएनौ!”

“अनी?” — मैले सोधेँ।

उसले लेखी– पहिले क्युट मात्र थियौ, ऐले ‘ह्यान्ड्सम्” पनि भएछौ J

[Follow the Writer@ Facebook.com/PitambarPandeyOfficial]

प्रतिक्रिया