बिहीबार, माघ १५ २०७७
काठमाडौं ०५:४८
वासिङटन डिसी 19:03

शिक्षक नियुक्तिमा चलखेल !

इनेप्लिज २०७२ माघ २७ गते ३:२४ मा प्रकाशित

teacher-01झापा, माघ २७ । झापामा यस वर्ष अधिकांश शिक्षक कोटा नियुक्तिमा आर्थिक चलखेल भए पनि नियामक निकाय मौन रहेको छ । ६२ वटा उच्च माध्यमिक विद्यालयका लागि यस वर्ष ४१ वटा दरबन्दी र गत वर्ष ७८ वटा राहत कोटामा शिक्षक नियुक्ति गर्दा शिक्षा नियमावली तथा नेपालको ऐन कानुनलाई समेत चुनौती दिँदै गुपचुप ढङ्गले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्राचार्यले शिक्षक नियुक्त गर्दा जिल्ला शिक्षा कार्यालय झापा मौन बसेको हो ।

सरकारले प्रदान गरेको कोटामा न्यूनतम् ५ लाखदेखि अधिकतम् ८ लाख रुपैयाँसम्म आर्थिक चलखेलमा शिक्षक नियुक्ति हुने गरेको रहस्य बाहिर आएको छ । यस वर्ष झापामा ३५ वटा कोटा उच्च माध्यामिक विद्यालयमा बाँडिएको भए पनि कुनै पनि कोटामा शिक्षक नियुक्ति गर्दा सार्वजनिक सूचना प्रकाशन गरेको नभेटिनुले पनि शिक्षक नियुक्ति आर्थिक चलखेलको प्रमुख माध्यम बनेको सरोकारवालाको बुझाइ छ ।

झापामा अधिकांश विद्यालयमा शिक्षा मन्त्रालय र शिक्षा विभागले तयार गरेको निर्देशिकाविपरीत आफूले चाहेको व्यक्तिलाई मात्र नियुक्ति गर्न विद्यालय प्रशासन फाटमा सम्पर्क राखी कागजी प्रक्रिया पूरा गर्न अन्तिम दिन सम्बन्धित विद्यालय र शिक्षा कार्यालयमा सूचना टाँस गरी शिक्षक नियुक्तिलाई वैधानिक बनाएर आर्थिक चलखेलको आधार तयार गर्ने गरेको पाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्राचार्यको तालमेलमा शिक्षक नियुक्त गरेपछि कागजी प्रक्रियालाई वैधानिकता दिन ती क्षेत्रमा अनुगमनको जिम्मेवारी लिएका स्रोत व्यक्ति, विद्यालय निरीक्षक र विद्यालय प्रशासनको जिम्मेवारी लिने फाँट प्रमुखको मिलेमतोमा  शिक्षक नियुक्ति गरेर प्रक्रिया मिल्ने गरेको छ ।

झापामा यस आर्थिक वर्षमा ४१ वटा दरबन्दी आएकोमा ६ वटा कोटा विद्यार्थी सङ्ख्या नपुगेको भन्दै शिक्षा कार्यालयले वितरण नगरी राखेको छ । तर, ३५ वटा कोटामध्ये अधिकांश नियुक्ति गर्दा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र विद्यालयका प्राचार्यले आफूले चाहेको विषयविज्ञलाई राखेर औपचारिकता पूरा गर्न सही गराएर मनोमानी ढङ्गले आफ्नो मान्छे वा पैसा असुलेको निकट व्यक्तिलाई नियुक्ति दिने गरेको पाइएको हो ।

जिल्ला शिक्षा समितिले विद्यालय र विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दी दिने गरे पनि शिक्षा विभागको निर्देशिकाको आधारमा विज्ञापन गरेर मात्र शिक्षक नियुक्ति गर्नुपर्नेमा झापाका अधिकांश उच्च माविले जिल्ला शिक्षा कार्यलयलाई समेत जानकारी नगराई मनोमानी तरिकाले शिक्षक नियुक्त गर्ने गरेका छन् ।

शिक्षा विभागको निर्देशिका विपरीत कुनै विद्यालयले शिक्षक नियुक्ति गरेको औपचारिक निवेदन वा प्रमाण जिल्ला शिक्षा कार्यालयमा नआएको भन्दै जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले  निवेदन आएको खण्डमा तत्काल कारबाही गर्ने बताए । नियम मिच्ने जुनसुकै विद्यालय कारबाहीको भागिदार हुने उनको भनाइ छ ।

तर, झापामा शिक्षामा सबैभन्दा बढी भ्रष्टाचार अस्थायी तथा राहत शिक्षक नियुक्ति प्रक्रियामा हुने गरेको छ । व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, विद्यालय निरीक्षक र स्रोत व्यक्तिको पछिल्लो दिनचर्या खाली पदमा शिक्षक नियुक्ति गर्दा कसबाट बढी रकम झार्न सकिन्छ भन्ने प्रतिस्पर्धात्मक होड चल्ने गरेको छ । भ्रष्टाचारको नियन्त्रण गर्ने निकाय अख्तियारले झापामा कारबाही प्रक्रिया बलियो रुपमा अगाडि बढाउन नसकेको फाइदा उठाउँदै गिरोह चलाएर पदीय दुरुपयोग गरी अवैध असुलीको माध्यम शिक्षक नियुक्ति बनिरहेको छ ।

प्रतिक्रिया