मंगलबार, माघ १३ २०७७
काठमाडौं ०५:५४
वासिङटन डिसी 19:09

जुवाको लत लागु-पदार्थको जत्तिकै खतरनाक हुन्छ !!!

इनेप्लिज २०७२ माघ २६ गते १३:५० मा प्रकाशित

गौतम उदय

स्मरण, गति, एकाग्रता, आनन्द आदि क्रियाकलापलाई संचलान, निर्देशन र नियन्त्रण गर्ने हाम्रो मस्तिष्कका फरक-फरक भागलाई आफ्नो कार्यक्षेत्र अनुसार बिभिन्न सर्किटहरुले सृंखलाबद्ध किसिमले जोडेका हुन्छन् | यसलाई Reward System भनिन्छ |
जब हामी मिठो खाना खाएर सन्तुष्टि हुने, जित तथा उपलब्धी जस्ता कुरामा खुसी हुने, तथा यौनिक कार्यजस्तो उत्तेजना र आनन्द आउने कार्यमा संलग्न हुन्छौं, त्यस्तो बेला यही Reward System मा हुने स्नायुकोषिकाका (Neurons) ले डोपमीन (Dopamine) नामक रासायन उत्पादन गर्दछन्, र मस्तिष्कका खासगरी अगाडिका भाग (Frontal lobes) मा पठाउँछन् |
Dopamine जाँदा एक प्रकारको तरंग (Wave) को रुपमा जान्छ | यसरी तरंग मस्तिष्कमा पुग्दा हामीले सन्तुष्टि र आनन्द भएको महसुस गर्दछौं |
कुनै पनि प्रकारको सन्तुष्टि दिने (Stimulus) कुराले Dopamine उत्पादन हुने प्रक्रियालाई Activate अथवा Trigger गर्नुको साथै यस्ता कुराहरुको फेरिफेरि पनि चाहाना राख्न हाम्रो मस्तिष्कलाई उक्साई रहन्छ | भलै Stimulus को तह र प्रकार अनुसार Dopamine उत्पादनको मात्रा र समयान्तर कम वा बढी, अनि छिटोछिटो अथवा अक्कलझुक्कल किन नहोस् !
जब शरीर र दिमागलाई तुरुन्तै प्रभाब पार्न सक्ने लागु पदार्थहरु जस्तै:- हेरोइन (Heroin), कोकिन (Cocaine), एम्फेटमिन (Amphetamine) लगायत यस्तै प्रकारका अन्य बस्तुहरुबाट मस्तिष्कमा सन्तुष्टिको महसुस हुन थाल्दछ, यस्ता पदार्थको सेवन गर्ने व्यक्तिको Reward System ले साबिकको भन्दा १० गुणासम्म बढी Dopamine उत्पादन गर्न थाल्दछ | जसको परिणामस्वरूप यस्ता पदार्थको सेवन गर्ने व्यक्तिले एकदम मजा र आनन्द आएको महसुस गर्छ, र छिटै नै उक्त बस्तुको सेवन गर्ने बनी बसी सेवन रोक्नै नसक्ने अवस्थामा पुग्दछ |
तथापि लत बसाल्ने यस्ता बस्तुहरुको लगातार प्रयोग गर्दा मस्तिष्कमा जतिखेर पनि, र अत्यधिक Dopamine पुग्न गई मस्तिष्कले यस्ता पदार्थबाट प्राप्त असरप्रति बिस्तारै प्रतिक्रिया नै घटाउँदै जान थाल्छ |
फलतः प्रभाब महसुस गर्न एकातर्फ दुर्व्यसनीले पदार्थको मात्रा बढाउँदै लैजानु पर्दछ भने अर्कोतर्फ आबश्यकतामा पनि दिमागमा Dopamine नपुगेर शरीर र मस्तिष्कको चुस्त संचार स्थापना हुन नसकी व्यक्ति शारीरिकरुपले एकदम दुर्बल हुने, निदाउन नसक्ने, उसको शरीर तथा शरीरका अंग थर्थराउने गर्न थाल्दछन् |
व्यक्तिलाई जति गहिरोगरी लत बस्छ, लत छुटाउन पनि त्यति बढी समय लाग्ने, ग्राहो हुने, र कतिपय अवस्थामा उच्च जोखिमयुक्त समेत हुन सक्छ |
एकदमै नयाँ बिधि र प्रबिधि प्रयोग गरेर अनुसन्धान गरिएका त्रि-पक्षीय; मनोबैज्ञानिक (Psychological), न्युरो-बैज्ञानिक (Neuroscientific) र जेनेटिक (Genetic) सबैका ताजा नतिजाले के देखाएका छन् भने लागु पदार्थको दुर्ब्यसन र जुवा खेल्नुको लत धेरै हदमा लगभग उस्तै हुन्छन् | किनकि लागु पदार्थको प्रयोग गर्दा र जुवा खेल्दा मस्तिष्कका प्रायः उनै Circuit हरुमा उस्तै प्रकारको परिवर्तन आउँदछ |
जसरी लागु पदार्थको दुर्व्यसनीले आफ्नो तलतल शान्त पार्न आफूले सेवन गर्ने पदार्थको मात्रा (Dose) बढाउंदै जान्छ, त्यसरी नै पेसेवर जुवाडेले पनि ठुल्ठुला खाल खोज्दै, र झन् पछि झन् बढी रकमको खेल खेल्दै र झनै ठुलो जोखिम मोल्दै जान थाल्दछ |
अझ खतरनाक कुरा त के छ भने जसरी केही समय लागु पदार्थ नपाउँदा शरीरमा त्यसको असर घट्न गई लागु पदार्थको दुर्व्यसनी उक्त बस्तु प्राप्त गर्न बौलाहा जस्तै बन्दछ, त्यसरी नै जब पेसेवर जुवाडेले टाट पल्टेर पैसाको अभाबमा जुवा खेल्नबाट बन्चित हुन्छ, यस्तो बेलामा ऊ पनि बौलाहा जस्तै बन्दछ |
स्तो अबस्थामा लागु पदार्थको दुर्व्यसनीले एक डोज प्राप्त गर्न, र जुवाडेले एक पटक खेल्न पैसा अथवा थाप्ने बस्तुको जोहो गर्न जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छन् |
यही कारण हो महाभारतमा द्रौपदीलाई जुवाको दाउमा लगाइनु, कतिपय लोकप्रिय नेपाली कलाकारले इज्जतलाई माटोमा मिलाई ढुकुटीको पैसा गुटमुट्याएर क्यासिनो धाउनु, अनि नेपालकी होनहार छोरी ख्यातीको निर्मम हत्या गरिनु |
हालसालै Neuroscientist हरुले जुवाडेहरु माथि गरेका बिभिन्न अनुसन्धानहरु मध्येका केही नतिजाहरु यस्ता छन् |
केही जुवाडेहरुको टाउकोमा मस्तिष्कको रक्तप्रबाह र बिद्दुतीय क्रियाकलाप नाप्ने यन्त्र जडान गरेर आँखा अगाडि कम्प्युटरमा कजिनो (Casino) को जस्तै संयन्त्र स्थापाना गरी तासका बिभिन्न गड्डीका बिभिन्न तासहरु छिटोछिटो जथाभाबी (Random) किसिमले देखाउँदै कुनै तास भन्न र कुनै नभन्न लगाइयो | यसो गर्दा सबै नै जुवाडेहरुले भनेका प्राय तासहरु या त जितेका तास थिए या त हारेका ! जितेका अथवा हारेका तास देख्दा तिनीहरुको मस्तिष्कमा भएका रक्त प्रबाह र चुम्बकीय गतिबिधि, र हारजितसंग खासै सम्बन्ध नभएका तासहरु हेर्दाका गतिबिधि एकदमै बेग्लै थिए |
त्यसरी नै झन्डै उस्तै अन्य ३ वोटा अनुसन्धानमा जुवाडेहरुको टाउकोमा यन्त्र जडान गरी जुवा खेल्न लगाइएको थियो | ती सबै अनुसन्धानहरुले जुवाडेहरुले जित्दा उनीहरुको मस्तिष्कको मुख्य भाग र Reward System मा Electrical Activity हरु एकदम कम देखिएका थिए |
मानिसको मस्तिष्कको अगाडिको भागमा र Reward System मा जति बढी बिद्दुतीय गतिबिधि हुन्छ, जोखिमको परिणाम राम्रोसंग बिचार गर्ने, र गर्न हुने र नहुने कुराको भेद छुट्टयाउने क्षमता पनि त्यति नै बढी हुन्छ |
जुवाडे र लागु पदार्थका दुर्व्यसनीहरु दुबैको मस्तिष्कको मुख्य भाग र Reward System मा Electrical Activity कम हुनुको अर्थ उनीहरुको मस्तिष्कले कुनै पनि कार्यबाट हुने जोखिमको परिणाम हिसाब गर्ने क्षमता, र आफूले गरिरहेको अथवा गर्दैगरेको कुरा राम्रो अथवा नराम्रो भनी तर्क गरी निस्कर्षमा पुग्ने क्षमता गुमाइसकेको छ भन्ने हो |
———–समाप्त———-

प्रतिक्रिया