सात वर्षमा सात किलोमिटर कालोपत्रे

इनेप्लिज २०७२ माघ २५ गते ६:१३ मा प्रकाशित

धनगढी, २५ माघ । सुदूरपश्चिमको समग्र विकासमा महत्व राख्ने निर्माणाधीन सेती लोकमार्ग सडक सात वर्षको अवधिमा सात किलोमिटर मात्रै कालोपत्रे गरिएको छ ।

कैलालीको टीकापुरबाट निर्माण थालिएको यो सडक यस अवधिमा बझाङ्को चैनपुरसम्म गरी कुल ४५ किलोमिटर लामो भागमा ‘ट्र्याक‘ खोल्ने काम पूरा भएको छ । रेखाङ्कन गरिएको कैलालीको टीकापुरबाट बौनियासम्मको सात किलोमिटर लामो भागमा मात्रै सेती लोकमार्ग सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो ।

सेती लोकमार्ग निर्माण आयोजनाका प्रमुख अमृतमणि रिमालले चालु वर्षमा बझाङ्ग र अछाम जिल्लामा निर्माण कार्य केन्द्रीत गरिएको बताउनुभयो । यी दबै जिल्लामा गरी तीन ‘प्याकेज‘मा सेती लोकमार्ग निर्माणका लागि तीनवटा निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।

यसवर्ष अछामको साँफेबाट बैजनाथसम्मको झण्डै अढाइ किलोमिटरमा कालोपत्रे, अछामकै चित्रेबाट लोडघाटसम्मको १२ किलोमिटरमा तथा बझाङ्गको टमेलबजारदेखि १५ किलोमिटर भागमा ट्र्याक खोल्ने काम गर्न लागिएको आयोजनाका प्रमुख रिमालले बताउनुभयो । यसका लागि चालु वर्षमा रु १४ करोड ३४ लाख बजेट विनियोजन भएको बताइएको छ ।

कैलालीको बौनियादेखि चुरे पहाडतर्फको भागमा जङ्गल परेकाले तत्काल सडक निर्माणको काम रोकिएको बताइएको छ । जङ्गल क्षेत्रको वातावरणीय प्रभाव मूल्याङकन (इआइए) गरिसकेपछि मात्र सडक निर्माण गरिने हुँदा यसको स्वीकृतिका लागि वन मन्त्रालयसँग पत्राचार गरिएको छ ।

सेती लोकमार्ग निर्माण कार्य यसअघिसम्म सुदूरपश्चिममा रहेका सडक डिभिजन कार्यालयमार्फत हुँदै आएकामा गएको असोजदेखि अछामको साँफेमा सेती लोकमार्गको कार्यालय स्थापना गरी कार्यालयमार्फत् निर्माणको कार्य भइरहेको छ ।

आर्थिक वर्ष २०६५/६६ बाट यो राजमार्गको निर्माण कार्य सुरु गरिएको हो । सुदूरपश्चिमको समग्र विकासमा महत्वूर्ण मानिने यो सेती लोकमार्ग सडक कैलालीको टीकापुरबाट डोटी, अछाम, बझाङ्ग हुँदै नेपाल—चीनको सीमा क्षेत्र ताक्लाकोटसम्म झण्डै ३०० किलोमिटर लामो रहेको छ ।

कैलाली जिल्लाको हकमा यो राजमार्गको रेखाङ्कन आफुखुसी गरेर शक्ति र पहँुचको बलमा नेताहरुले आ–आफ्नो क्षेत्रबाट रेखाङ्कन गरी बाङ्गोटिङ्गो बनाइएको भन्दै बौनिया क्षेत्रका बासिन्दाले विरोध गरेका छन् ।

नयाँ नक्शाङ्कन गरिएबमोजिम टीकापुर नजिकको दुर्गौलीबाट प्रतापपुर, लोहागाड, बेलुवा हुँदै सडकपुर बौनियासम्म यो सडक निर्माण हुनुपर्ने माग सेती लोकमार्ग सुधार सङ्घर्ष समितिले राख्दै आएको छ ।

मागको सुनुवाइ नगरी पहुँच पुगेकाको बलमा पूर्व—पश्चिम राजमार्गको समानान्तर हुने गरी सेती लोकमार्ग सडक निर्माण गर्नुको औचित्य नहुने सङ्घर्ष समितिका अध्यक्ष वीरबहादुर हमाल बताउनुहुन्छ ।

आयोजना प्रमुख रिमालले भने आफू आयोजनामा भरखरै आएकोले विवादबारे जानकारी नभएको बताउनुभयो ।

प्रतिक्रिया