त्रिवेणी धाममा दर्शनार्थीको घुइँचो

इनेप्लिज २०७२ माघ २५ गते २:४२ मा प्रकाशित

परासी, २५ माघ । माघे औँसीको अवसरमा नवलपरासीका त्रिवेणी धामलगायत चर्चित तीर्थस्थलहरुमा आज बिहानैदेखि तिर्थालु भक्तजनको घुइँचो लागेको छ ।

नवलपरासीको त्रिवेणी धामसहित नारायणी नदी आसपासका क्षेत्रमा बिहानैदेखि स्नान साथै पूजाआजा गर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको हो ।

त्रिवेणी धाममा लुम्बिनी अञ्चलका विभिन्न जिल्ला, चितवनसहित आसपासका जिल्ला र छिमेकी भारतीय क्षेत्रका हजारौँ तीर्थालुको उल्लेखनीय सहभागिता रहेको छ ।

विशेषगरी आज माघे औँशीको अवसरमा विभिन्न धार्मिक तीर्थस्थलमा गई स्नानका साथै पूजाआजा गर्नाले पारिवारिक सुख समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

त्रिवेणी धाममा नेपाल र भारतबाट आएका तीर्थालुमध्ये आज मात्रै बिहान करिब दुई लाख बढी दर्शनार्थीले त्रिवेणी धाममा स्नान गरेको अनुमान छ । यसैक्रममा त्रिवेणी धाममा ठूलो मेलासमेत लागेको छ ।

प्रतिक्रिया