बिहीबार, माघ १५ २०७७
काठमाडौं १४:४६
वासिङटन डिसी 04:01

नाका सहज, अभाव यथावत

इनेप्लिज २०७२ माघ १९ गते १४:४९ मा प्रकाशित

ppppलक्ष्मी काफ्ले
झापा, २० माघ । पूर्वी नाका काँकरभिट्टाबाट इन्धन सहज रुपमा भित्रिइरहेको छ । असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएसँगै ७ गतेदेखि भारतले लगाएको नाकाबन्दी बिस्तारै हट्दैछ । बिना कुनै अवरोध पूर्वी नाकाबाट दिनहुँ मालबाहक सवारी भित्रिँदैछन् । नाकाबन्दी सुरु हुनुअघि यो नाकाबाट जुन परिमाणमा इन्धन भित्रिन्थ्यो, अहिले त्यही परिमाणमा भित्रिइरहेको छ ।

नाका सहज हुँदा पनि झापाका पेट्रोल पम्पमा भने अझै सहज रुपले इन्धन पाइएको छैन । जिल्ला प्रशासन कार्यालय झापाले कुपन प्रणाली बन्द गरेको झण्डै एक महिना भयो । नाका सहज भएसँगै काँकरभिट्टास्थित वैकल्पिक बसपार्कमा सञ्चालित अवैध बजार पनि प्रशासनले बन्द गर्यो । तर, तेलको हाहाकार भने उस्तै छ ।

आईतबार झापाका अधिकांश पेट्रोल पम्प बन्द थिए । पम्पमा कोही पनि कर्मचारी थिएनन् । डिजल हाल्नका लागि ट्रक र बसको लाइन लामो थियो । ‘किन यस्तो भइरहेको छ भनेर हामी पनि बुझ्न खोज्दैछौँ,’  मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लय भण्डारी भन्छन्, ‘भित्रिएको इन्धनको अनुपात हेर्दाखेरी सवारीचालकले लाईन बस्नु नपर्ने हो ।’

मेची पेट्रोलियम डिलर्सले अञ्चलका सबै पम्पमा नियमित पेट्रोल पठाएपनि मोटरसाइकल चालकले किन पेट्रोल पाइरहेका छैनन्, रहस्यको विषय बनेको छ । ‘वितरण राम्रै छ, हामी रेगुलर दिइरहेका छौँ,’ भण्डारीले भने, ‘सबैतिरबाट पेट्रोल नपाइएको गुनासो आइहेको छ ।’ भण्डारीका अनुसार डिजेल भने नियमित रुपमा राजधानी पनि पठाईंदैछ । त्यसैले यहाँ डिजेलको मात्रै समस्या हुनुपर्ने उनको बुझाई छ ।

‘काँकरभिट्टा हुँदै भित्रिएको डिजेलमध्ये ५५ प्रतिशत काठ्माडौँ पठाउनै पर्छ,’ उनले भने, ‘डिजेलको अभाव हुनुको कारण यहि हो, तर हामीले पेट्रोल चाहिँ पठाएका छैनौँ अहिले ।’ आखिर कहाँ जाँदैछ त पेट्रोल ? पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष भण्डारीको भनाई गलत भएको बताउँछन् झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला । आइओसीले पेट्रोल र डिजेल दुबै राजधानी पठाउँदै गरेको उनी बताउँछन् ।

‘नाकाबन्दी हुँदा १५० केएल यहाँ राखेर अरु पठाइन्थ्यो,’ सहायक प्रजिअ निरौलाले भने, ‘अहिले चाहिँ यहाँ जति आएपनि आइओसीले १०० केएल बिराटनगर पठाउँदैछ, त्यसैले अभाव भएको होला जस्तो मलाई लाग्छ ।’ अन्य नाकाको तुलनामा मेची भन्सारमा इन्धन कम आएकाले समस्या भएको उनको तर्क छ ।

पेट्रोल, डिजेल र हवाई इन्धनको ढुवानीका लागि पुर्वाञ्चलमा २ सय ६० वटा ट्याङकर सञ्चालित छन् । ती ट्याङकरले भारतको डिपोबाट इन्धन ल्याउँछन् ।  सिलिगुढीमा लोड भएको ट्याङकर बिना अवरोध चारआलीमा रहेको निगमको डिपोमा आइपुग्छ । नाकाबन्दी अघि पूर्वी नाकाबाट दैनिक झण्डै २ सय किलोलिटर इन्धन नेपाल आउने गथ्र्यो । अहिले पनि उत्तिकै परिमाणमा इन्धन आएको भएपनि आयल निगम, प्रशासन र ब्यवसायीका कारण अभाव उत्पन्न भएको हो । तेल अभावको फाइदा उठाउँदै झापामा कालोबजारी बढेको छ ।

एम्बुलेन्स चालकको गुनासो
झापाको चारपानेस्थित गौरव पेट्रोल पम्पले एम्बुलेन्सका लागि इन्धन नदिएको एम्बुलेन्स चालकहरुले गुनासो गरेका छन् । इन्धन आएको दिन अन्य सवारीलाई दिएर एम्बुलेन्सलाई नदिएको उनीहरुको आरोप छ ।

शुक्रबार अपरान्ह इन्धन भर्नका लागि वाणिज्य संघ शिवगञ्ज, थुम्बेदिन ताप्लेजुङ, मङ्गल प्रणाम सुरुङ्गा, प्रधान डाइग्नोस्टिक सेन्टर सुरुङ्गा र कन्चनजङ्घा हस्पिटल बिर्तामोडको एम्बुलेन्स सो पम्पमा पुगेका थिए । ‘घरि यता जा भन्छ, घरि उता जा भन्छ,’ एम्बुलेन्स चालक चन्द्र विकले भने, ‘एम्बुलेन्स देखेपछि पम्पको ढोका नै बन्द गर्छन् ।’

ट्याक्टर, छोटा हात्ती, बस र ट्रिपरलाई भने आफूहरुकै अगाडि तेल दिएको उनीहरुको भनाइ छ । एम्बुलेन्स चालकका अनुसार पम्पका कर्मचारीले ‘हामीलाई बस, ट्रयाक्टर भए हुन्छ, एम्बुलेन्सलाई किन दिनु तेल ?’ भन्दै हप्काउने गरेका छन् ।

प्रतिक्रिया