वडामा पराजित, नगर सभापतिमा विजयी

इनेप्लिज २०७२ माघ १८ गते ६:०५ मा प्रकाशित

भीमदत्तनगर, १८ माघ । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर सभापतिमा हरि बोहरा भारी मतले विजयी हुनुभएको छ ।

नगर सभापतिमा विजयी बोहराले २८८ मत र प्रतिद्वन्द्वी राजेन्द्र भट्टले ६७ मत पाउनुभएको छ । बेदकोट नगरको सचिवमा दीबहादुर कुँवर र कोषाध्यक्षमा सुवास मल्ल विजयी हुनुभएको छ ।

काँग्रेस कञ्चनपुरका उपसभापतिसमेत रहेका बोहरा गत शुक्रबार सोही नगरपालिकाको वडा निर्वाचनमा पराजित हुनुभएको थियो । वडा नं ७ को निर्वाचनमा पराजय बेहोरेपछि उहाँको जिल्ला सभापति पदका लागि प्रतिस्प्रर्धा गर्ने बाटो बन्द भएको थियो । काँग्रेस कञ्चनपुरको सभापति पदका दाबेदारका रुपमा हेरिएका बोहराले अब २२ गते हुने क्षेत्रीय निर्वाचनमा महाधिवेशन प्रतिनिधि जितेपछि जिल्ला सभापति भिड्न बाटो खुल्नेछ ।

त्यसैगरी झलारीपिपलाडी नगरपालिकाको नगर सभापतिमा ३४० मत ल्याएर जयबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी लोकराज उप्रेतीले २०२ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिवमा देवराज जोशी र कोषाध्यक्षमा जयलाल महता विजयी हुनुभएको छ ।

यहाँको दोधाराचाँदनी नगरपालिकाको नगर सभापतिमा १६२ मत ल्याई डम्बर चन्द विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी नाफुसिंह साउद र पुष्कर जोशीलाई पराजित गर्नुभयो । सो नगर समितिको सचिवमा राजेन्द्र मल्ल र कोषाध्यक्षमा कर्णबहादुर सिंह निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कञ्चनपुरकै कृष्णपुर नगरपालिकामा भक्तबहादुर खत्रीले ११३ मत प्राप्त गरी सभापति पदमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी बलराम पन्तलाई ८४ मतमा समिति पार्नुभयो । खत्री नेतृत्वको नगर समितिको सचिवमा सुरज महता र कोषाध्यक्षमा निर्मला भट्ट विजयी हुनुभएको छ ।

बेल्डाँडी नगरपालिकाको नगर सभापतिमा हर्कदेव जोशी विजयी हुनुभएको छ । एक सय ३९ मत प्राप्त गरी विजयी हुनुभएका जोशीले प्रतिद्वन्द्वी मदन खत्रीलाई ८५ मतमा सीमित राख्नु भयो । बेल्डाँडी नगर सचिवमा गजबहादुर विष्ट र कोषाध्यक्षमा सरस्वती शाही विजयी हुनुभएको छ ।

त्यस्तै पुनर्वास नगरपालिकाको नगर सभापतिमा एमप्रसाद पौडेल विजयी हुनुभएको छ । पौडेलको १६३ मत छ भने उहाँका प्रतिद्वन्द्वी हरि अधिकारीले ११२ मत प्राप्त गर्नुभएको थियो । सो समितिको सचिवमा लोगबहादुर कार्की र कोषाध्यक्षमा निर्मल खडायत विजयी हुनुभएको छ ।

त्यसैगरी बेलौरी नगरपालिकाको नगर सभापतिमा रामलाल राना विजयी हुनुभएको छ । उहाँले १२४ प्राप्त गर्नुभयो । त्यसैगरी समितिको सचिवमा मोहनदेव भट्ट र कोषाध्यक्षमा रघुवीरसिंह भण्डारी विजयी हुनुभएको छ । भीमदत्तनगरपालिकाको मतगणना आज हुँदैछ ।

प्रतिक्रिया