अवैध चोरीसिकारी नियन्त्रणले वन्यजन्तुको सङ्ख्या बढ्यो

इनेप्लिज २०७२ माघ १६ गते ४:०८ मा प्रकाशित

मुस्ताङ, १६ माघ । जङ्गलमा हुने अवैध चोरी सिकारी नियन्त्रण अभियान सफल भएपछि हिमाली जिल्ला मुस्ताङमा वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रभित्र पर्ने जिल्लाका १६ वटै गाविसका वन्यजन्तु संरक्षण र जलवायु अनुकूलन योजना सुरु भएपछि स्थानीयस्तरमा व्यापक जनचेतनाका कारण चोरी सिकारी पूर्णरुपमा बन्द भएको छ ।

अभियानअन्तर्गत हरेक गाविसमा अवैध चोरी सिकारी रोक्न व्यवस्थापन समितिअन्तर्गत छुट्टै समिति पनि गठन गरिएको छ । व्यवस्थापन समितिलाई स्थानीयस्तरमै कारबाही र दण्ड जरिवाना गर्न पाउने अधिकार दिइएको छ ।
तीन वर्षदेखि यो अभियान सुरु गरिएपछि जङ्गलमा हिउँ चितुवा, भालु, स्याउ, मृग र चराचुरुङ्गी बढेको पाइएको एक्याप व्यवस्थापन समिति कुञ्जोका अध्यक्ष तेजेन्द्र गौचनले जानकारी दिनुभयो । “अहिले गाउँगाउँ हिउँ चितुवाले च्याङ्ग्रालगायतका पशुचौपाया खान थालेका छन्, स्याल घरमै आउँछन्”, उहाँले भन्नुभयो, “बथानमै आउने स्यालले त एक दुईजनालाई टेर्दैनन् ।”

तल्लो मुस्ताङको कुञ्जो, कोबाङलगायत कागबेनी, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, छोण्हुप, झोङलगायतका गाविसमा बढी वन्यजन्तुको सङ्ख्या बढेको पाइएको छ । अभियानपछि स्थानीयवासीको सक्रियताले अवैध चोरीसिकारी नियन्त्रणमा आएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताउनुभयो ।

“खासगरी हिउँ चितुवा लोप हुने अवस्थामा पुगेको थियो, तर अहिले यो निकै ठाउँमा देखिन थालेको छ”, उहाँले भन्नुभयो, “यसले मानिसलाई समेत आक्रमण गर्ने भएकाले सचेत हुनुपर्ने देखिएको छ ।” एक्यापले जिल्लाका विभिन्न क्षेत्रमा हिउँ चितुवाको गणना गरेर त्यसको तथ्याङ्क सङ्कलनको काम पनि गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया