महाकविको तस्बिर राखेर लोगो बनाइने

इनेप्लिज २०७२ माघ १६ गते ४:०६ मा प्रकाशित

laxmi-prasad-devkotaकाठमाडौँ, १६ माघ । मध्य बानेश्वरस्थित श्रीरत्न पुस्तकालयले आफ्नो लोगोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिर अङ्कित गर्ने भएको छ ।

पुस्तकालयका अध्यक्ष शशीविक्रम राणाको अध्यक्षतामा सम्पन्न तेस्रो साधारणसभाले पुस्तकालयलाई ई–लाइब्रेरीका रुपमा विकास गर्न अनुमति दिएको छ ।

विसं २०१९ मा बानेश्वरका तत्कालीन जुझारु युवा साहित्यकारको पहलमा स्थापना गरिएको उक्त पुस्तकालय मुलुकका सबै साहित्यकारका लागि पुराना पुस्तक र नयाँ पत्रपत्रिका अध्ययन गर्ने साझा चौतारीका रुपमा रहँदैआएको छ ।

उक्त पुस्तकालयले यसअघि आफ्नो लेटरप्याडमा समेत ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने महाकविको कवितालाई स्लोगनका रुपमा अङ्कित गर्दै आएको छ ।

साधारणसभाले पुस्तकालयको गत वर्षको लेखा परीक्षण र चालु आवको अनुमानित आयव्ययको प्रतिवेदनका साथै लेखापरीक्षकको नियुक्ति र विधान संशोधन प्रस्तावलाई अनुमोदन गरेको छ ।

पुस्तकालयले महाकवि देवकोटाको नाममा अक्षयकोष, रक्तसेवा कोष स्थापनाका साथै अर्बुद रोग सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दुई ८० सदस्य रहेको उक्त पुुस्तकालय परिसरमा नेपालका मूर्धन्य साहित्यकार देवकोटा, धरणीधर कोइराला, भूपी शेरचन, पारिजात, चित्तधर हृयद र पहलमान स्वाँरका अर्धकदका सालिक स्थापना गरिएको छ ।

पुस्तकालयमा हाल साहित्यलगायत विविध विधाका गरी करिब आठ हजार पुस्तक सङ्कलित छन् ।

प्रतिक्रिया