उचित क्षतिपूर्ति पाउन नसकेको द्वन्द्वपीडितको गुनासो

इनेप्लिज २०७२ माघ १६ गते ३:५५ मा प्रकाशित

खोटाङ, १६ माघ । जिल्लाका द्वन्द्वपीडित परिवारले राज्यले उपलब्ध गराउने उचित क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् ।

दश वर्षे द्वन्द्वको समयमा राज्य तथा माओवादीका तर्फबाट हत्याका साथै मानवअधिकार हनन भएकामा अहिलेसम्म उचित क्षतिपूर्तिका साथै अन्य सेवा सुविधा नपाएको गुनासो पीडितले गरेका हुन् ।

सशस्त्र द्वन्द्वको समयमा हत्या भएकालाई सहिद घोषणा गर्नुका साथै राज्यले उचित क्षतिपूर्ति तथा सेवा सुविधाको व्यवस्था गर्ने भने पनि हालसम्म कार्यान्वयन नगरेको पीडित परिवारले बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले शुक्रबार दिक्तेलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी द्वन्द्वपीडित परिवारले राज्यबाट पाउने सेवा सुविधा तत्काल पाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

कार्यक्रममा आयोगका सदस्य श्रीकृष्ण सुवेदीले भन्नुभयो, “तपाईहरु उजुरी दिनुस्, सम्बन्धित निकायमा लगेर कार्यान्वयन गराउन म प्रतिबद्ध छु ।”

आयोगले द्वन्द्वपीडित, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार तथा सरकारी कार्यालयका प्रमुखसँग छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया