आइतबार, माघ ११ २०७७
काठमाडौं ०५:३२
वासिङटन डिसी 18:47

प्रधानमन्त्रीको घोषणा- नाकाबन्दी खुलिसक्यो, अब कसैले अवरोध गर्दैन् र गर्न पनि सक्दैन्

इनेप्लिज २०७२ माघ १५ गते १२:३६ मा प्रकाशित

U-19-Cricket

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको द्रुत विकास गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
कम्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आज यहाँ आयोजना गरेको ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ को उद्घाटनका क्रममा उहाँले मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको र त्यसका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
सूचना प्रविधि मेलाको २२औँ संस्करण उद्घाटनको उक्त समारोहमा प्रधानमन्त्री ओलीले विश्वमा हासिल भएका नयाँनयाँ ज्ञान सीपका आधारमा विकासलाई उन्नत र व्यवस्थित बनाउन सकिने बताउँदै त्यसको प्रयोगमा नै हाम्रो विकासको गति निर्भर हुने बताउनुभयो ।
मुलुक अब परम्परागत रुपमा अघि बढ्न नसक्ने बताउँदै उहाँले सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर भरपुर प्रयोग गर्ने र अब विद्युतीय सरकारको अवधारणाअनुसार सरकारका सेवा प्रदान गरिनेमा जोड दिनुभयो ।
एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले दक्षिणी सिमानामा कसैले अवरोध नगर्दा पनि आपूर्तिमा असहज भएको बताउँदै अब त्यो खुल्ने अवस्थामा पुगेको र छिट्टै खुल्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो- नाकाबन्दी खुलिसकेको छ । अब कसैले अवरोध गर्दैन् र गर्न पनि सक्दैन् ।
कार्यक्रममा क्यान महासङ्घका अध्यक्ष इन्जिनियर विनोद ढकालले सूचना सञ्चार प्रविधिको पहुँच ग्रामीण क्षेत्रमा नपुगेसम्म विद्युतीय नेपालको परिकल्पना साकार नहुने बताउनुभयो ।
सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवाको महत्व र आवश्यकतालाई बुझेर इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारसँग आग्रह गर्नुभयो ।
क्यान महासङ्घका महासचिव विश्व बलामीले सूचना प्रविधिसम्बन्धी यस्ता मेलाले मुलुकमा सूचना प्रविधिको विकास र विस्तार गर्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राई, विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा, सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्र, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायत उपस्थित हुनुहुन्थ्यो ।
सुबिसु केबलनेटको मुख्य प्रायोजन तथा हुवावेको सहप्रायोजनमा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित सो मेला यही माघ १५ देखि २० गतेसम्म चल्नेछ भने सो मेलामा सूचना सञ्चार प्रविधिसम्बन्धी १८० स्टल रहेका छन् । क्यानले सन् १९९२ देखि प्रत्येक वर्ष राजधानीमा सूचना प्रविधि मेलाको आयोजना गर्दै आएको छ । रासस

प्रतिक्रिया