स्थानीय निकायको निर्वाचनका लागि गृहकार्य सुरु: उपप्रधानमन्त्री थापा
बनेपा, ११ माघ । उपप्रधानमन्त्री तथा परराष्ट्र एवम् स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचनका लागि सरकारले गृहकार्य सुरु गरेको बताउनुभएको छ ।
आज काभ्रेपलाञ्चोकस्थित पनौती नगरपालिकाको आव २०७३÷७४ को बजेट तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा उहाँले त्यसका लागि राजनीतिक दलहरुको परामर्श र सहमति आवश्यक छ भन्नुभयो ।
उपप्रधानमन्त्री थापाले भन्नुभयो, “स्थानीय निकायको निर्वाचन चाँडै हुन्छ र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको छ ।” उहाँले मुलुक अब विकास निर्माण र आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै नयाँ संविधानका कारण अब कसैले पनि बन्दुक बोकेर जङ्गल जानुपर्ने र नाकाबन्दी गर्नुपर्ने अवस्था आउने छैन, भन्नुभयो ।
यो संविधानले फरक विचार राख्नेलाई पनि सम्बोधन गर्ने प्रयास गरेकाले जनताप्रति विश्वास राख्ने जो कसैले पनि हिंसात्मक बाटो अवलम्बन गर्नु नपर्ने उपप्रधानमन्त्री थापाले उल्लेख गर्नुभयो ।
समावेशी दृष्टिकोणको आधारमा अहिलेको संविधान अग्रगामी र प्रगतिशील भएको औँल्याउँदै उहाँले राज्यको विभिन्न अङ्गमा दलित, जानजाति, मुस्लिम, आदिवासी, थारु, पिछडिएको समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभयो ।
संविधानसभामा जातीय, क्षेत्रीय, लैङ्गिकलगायत समावेशी चरित्र बोकेको संविधानसधाबाट संविधान निर्माण हुनु आफैँमा जटिल भएको जिकिर गर्दै उपप्रधानमन्त्री थापाले नयाँ संविधानले विश्वका प्रचलित प्रजातान्त्रिक मूल्य र मान्यतालाई समेत आत्मसात् गरेको उल्लेख गर्नुभयो ।
“विगतमा पनि राज्यको पुनःसंरचनाका बारेमा राजनीतिक दलबीच मतभेद थियो र अहिले पनि त्यो यथावत् छ यसलाई संवादका माध्यमबाट टुङ्गो लगाउनुपर्छ”–उहाँले भन्नुभयो ।
सो अवसरमा पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले आब २०७३÷७४ का लागि रु दश करोड ४८ लाख २३ हजार बराबरको आय तथा व्यय प्रस्तुत गर्नुभएको थियो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया