म्याग्दीमा रेडपाण्डाको संरक्षण अभियान तीव्र

इनेप्लिज २०७२ माघ ५ गते १०:०९ मा प्रकाशित

red-pandaबेनी (म्याग्दी), ५ माघ । म्याग्दीको विकट लुलाङ गाविसमा सङ्कटपूर्ण अवस्थामा रहेका जङ्गली जनावर हाब्रे (रेडपाण्डा) भेटिएपछि त्यसको संरक्षण अभियानलाई तीव्र बनाइएको छ ।

विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा ‘रेडपाण्डा नेटवर्क’ र हिमाली संरक्षण मञ्चले रेडपाण्डा संरक्षणमा स्थानीयस्तरमै पुगेर कार्यक्रम गरिरहेको छ ।

मरेनी र जलजला समुदायिक वनमा दिसा भेटिएपछि अनुसन्धानसहित रेडपाण्डाको महत्वबारे विद्यालय, समुदायसहित स्थानीयस्तरका सङ्घ संस्थालाई जानकारी गराइएको छ ।

दुईवटा सामुदायिक वनको फरकफरक स्थानमा दिसा, प्रयोग गर्ने आहारा र आवतजावतको क्रममा देखिएको छापसहित अनुसन्धानमा प्रयोग हुने विभिन्न तथ्यसमेत सहजै पहिचान भएकाले पनि निरन्तर खोज र संरक्षण गरे यसको सङ्ख्या अझै बढ्ने रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालले बताउनुभयो ।

निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने भएकाले पनि निगालो भएको आसपासका क्षेत्रमा बढी ध्यान दिने गरी योजनासमेत बनाइएको छ । एक वर्षका लागि अनुसन्धान तथा कार्यक्रम सञ्चालन गरिने दुईवटा सामुदायिक वनमा चारवटा ब्लक बनाइएको छ । प्रत्येक ब्लकमा एकदेखि १.५ किलोमिटरसम्मको अनुगमनका लागि ‘ट्रान्जिट’ बनाइएको छ । यसलाई संरक्षणको महत्वपूर्ण माध्यम मानिएको छ ।

वर्षका चारपटक कार्यक्रममार्फत नै अनुसन्धानकर्ताले अनुगमन गर्नेछन् । वैशाख महिनामा धेरै सिकार हुने, असार–साउनमा बच्चा जन्माउने, असोज–कात्तिकमा हुर्किने र बाहिर आउने र पुस महिनामा रेडपाण्डालाई भाले लाग्ने समय हो ।

रेडपाण्डाको संरक्षणका लागि पहिलो चरणमा गुर्जा, लुलाङ र मुना गाविसमा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी र विद्यार्थीसँग चेतनामूलक कार्यक्रम गरिसकिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार ८०० मिटरको उचाइमा अवस्थित चौडापाते र कोणधारी मिश्रित जङ्गलमा निगालोको झाडीमा बस्ने रेडपाण्डालाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तरर्गत संरक्षितको सूचीमा राखेको छ ।

नेपालमा म्याग्दी, पाँचथर, इलाम र ताप्लेजुङको सामुदायिक वनमा रेडपान्डा देखिएका छन् ।

प्रतिक्रिया