न्युयोर्क । गुरुङ (तमु) सोसाइटी अफ अमेरिकाले हरेक वर्ष झै यस वर्ष पनि मौलिक परम्परा र भेषभुषाका साथ न्युयोर्कमा ल्होछार पर्व मनाएका छन् । ल्होछार कार्यक्रमको समाजका जेष्ठ नागरिक शसिकला गुरुङ र टेकबहादुर गुरुङले बुद्धको प्रतिमामा बत्ती बाली उद्घाटन गरेका थिए ।
गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ष र ‘छार’ भनेको नयाँ भनेअनुसार गुरुङ समुदायले हरेक वर्षको पुस १५ को दिनलाई नया वर्ष ल्होछारको रुपमा देश बिदेश सबैतिर मनाउदै आएका छन् । नेपाली वाणिज्यदुतावासका महावाणिज्यदुत नारायणप्रसाद मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न ल्होछार कार्यक्रममा गुरुङ कलाकारहरुले मौलिक गीतसंगीतमा मौलिक गुरुङ नृत्यहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा मौलिक गुरुङ पोसाकमा ठाटिएका कार्यक्रमको संयोजकहरु प्रेम गुरुङले गुरुङ भाषामा र बिजय गुरुङले नेपाली भाषामा स्वागत मन्तव्य दिएका थिए । समाजका अध्यक्ष शेरजंग गुरुङको सभापतित्वमा भएको कार्यक्रममा महावाणिज्यदुत मैनालीले प्रवासमा नेपालको मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नका लागि गुरुङ समाजले ल्होसार पर्वको अवसर पारेर महत्वपूर्ण कार्य गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गरे । विगत वर्ष झै यस पटक पनि गुरुङ समाजको विभिन्न कार्यक्रममा महत्वपूर्ण योगदान पु¥याउदै आएका व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा पेमा टि शेर्पा, गमप्रसाद गुरुङ र इन्दिर गुरुङ प्रमुख अतिथिले प्रमाणपत्र र खादाले सम्मान गरेका थिए । कार्यक्रममा कलाकारहरु राजेश थापा, ज्योति गुरुङ, प्रकाश गुरुङ, जीत गुरुङ, शुरेश गुरुङले गीत गाएका थिए भने बसन्त डान्स सेन्टर र झन्कार सेन्टरका कलाकारहरुले गुरुङ जातिले परम्परागत रुपमा नाच्दै आएको गुरुङ नृत्य शुसेलीराशी र नईचरि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजको बोर्ड अफ डाइरेक्टर रिना गुरुङले न्युयोर्कबासी गुरुङबाट नेपालमा भूकम्प पीडितहरुको लागि संकलन भएको एक करोड ७० लाख रकमले विभिन्न ५ दुर्गम ठाउँमा विद्यालय बनाउने योजना बनाएको जानकारी दिइन् । भूकम्पपीडितको स्थानमा विद्यालय निर्माणको लागि सरकारले अहिलेसम्म स्वीकृत नदिएकोले स्वीकृति पाउन सरकारसँग माग गरिरहेको गुरुङले बताइन् ।
प्रतिक्रिया