चोरीमा संलग्न पूर्व प्रहरी पक्राउ

इनेप्लिज २०७२ माघ ३ गते १३:२८ मा प्रकाशित

भीमदत्तनगर, ३ माघ । कञ्चनपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी तथा लुटपाट गर्दै आएका एक पूर्व प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले काठमाडौँबाट नियन्त्रणमा लिइएको छ ।

भीमदत्तनगरपालिका क्षेत्रमा पटकपटक मोटरसाइकल चोरी र बेल्डाँडी सडक खण्डमा लुटपाट गर्दै आएका कञ्चनपुरको झलारीपिपलडी नगरपालिका–५ का २२ वर्षीय रविन्द्र साउदलाई काठमाडौँको बागबजारबाट नियन्त्रणमा लिई शनिबार यहाँ ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गत साउनमा पूर्व प्रहरी जवान साउदले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी मार्ने प्रयास गरेपछि उनी जागरिबाट निलम्बित भएका थिए । पक्राउ परेका साउदलाई जिल्ला अदालत कञ्चनपुरमार्फत आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया