बिहीबार, माघ ८ २०७७
काठमाडौं २०:२८
वासिङटन डिसी 09:43

कामु महानिरीक्षक दुर्जकुमार राईको परीक्षण घडीः यसरी हुनसक्छन् सफल आईजीपी

इनेप्लिज २०७२ पुष ३० गते १४:४२ मा प्रकाशित

Durga-Kumar-768x510

संगठनलाई पारदर्शी र सम्बन्ध सुधार गर्ने दायित्व मानिसका जीवनमा एकचोटी अवसर आउँछ । अवसरले पर्खेर बस्दैन । आफै गतिमा अगाडि बढ्छ । समय र अवसरलाई चिन्न सक्ने मानिस मात्र असल र सफल हुन्छ ।

त्यसैले भनिन्छ मौका आउँछ पर्खदैन बगेको खोला फर्कदैन । यो अवसरलाई आशामा बदल्ने र विश्वासमा ढाल्ने मानिसनै समाजको नायक हो । संक्रमणकालीन समयमा मुलुकको सबैभन्दा कान्छो सुरक्षा संगठनको रुपमा रहेको सशस्त्र प्रहरी बलको नेतृत्व दुर्जकुमार राईको काँधमा आइपरेको छ । राईका लागि यो जिम्मेवारी अवसर र चुनौतिको घेरा भित्र रहेको छ । चुनौतिपूर्ण अवस्थामा रहेको देशको परिस्थित र संगठनको स्थितिलाई सहज रुपमा अवतरण गरेर अगाडि बढ्न सकेको खण्डमा राईले आफ्नो युगको निर्माण गर्नेछन् ।

चुनौतिको पहाड फोड्न सक्ने मानिसनै समाजको हिरो हो । राष्ट्रको सम्पत्ति हो । उनले अवसर गुमाउने छैनन् र चुनौतिको सहजै सामना गर्नेछन् । जहाँ चुनौती छ । त्यहिनै आफ्नो क्षमताको प्रयोग र प्रदर्शन हुन्छ । जसले असामान्य स्थितिलाई सामान्य बनाउँछ । उसलाई समाजले स्यालुट गर्छ । इतिहासले सम्मान गर्छ ।

इमानदार र स्वच्छ छविका भनेर परिचित राईले सशस्त्र प्रहरीको पहिचानलाई थप उचाईमा पुर्याउनका लागि तिन महिने परिक्षण कालमा नै ठोस कार्ययोजना लागू गर्नुपर्ने हुन्छ । यसका लागि राईले हिनेको बाटो एकदमै सहि र सकारात्मक रहेको छ । माँझ किराँत भनेर परिचित भोजपुरको माटोमा हुर्किएका राईलाई कम महत्वकांक्षी र बढी कर्तव्यनिष्ठ व्यक्तिका रुपमा हेर्ने गरिन्छ ।

चैत्रसम्म कार्यकाल रहेका सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई नक्कली बिल बनाएर घोटाला गरेको साथै अन्य अनियमितताको आरोपमा अख्तियारले निलम्बनको कारवाही गर्न सरकार समक्ष गरेको सिफारिस मन्त्रिपरिषद्ले कार्यान्यवन गर्दै कामु महानिरीक्षकको जिम्मेवारी दुर्जकुमार राईलाई दिने निर्णय गरेपछि संगठनको नेतृत्व गर्ने जिम्मेवारी राई समक्ष आएको हो ।

लेखक

लेखक

आफ्नो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्ने र संगठनको हितमा दत्तचित्त भएर लागि पर्ने राईको लागि बामे सर्दै गरेको सबैभन्दा कान्छो सुरक्षा संगठनको नेतृत्वको जिम्मेवारी आफ्नो इमानदारिता प्रस्तुत गर्ने र क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर समेत हो ।

अपारदर्शिता र अनियमितताको आरोपमा आफ्ना पूर्व अग्रजहरुले अख्तियार र अदालत धाउनुपर्ने अवस्था सिर्जना भएकाले राईका सामु संगठनलाई चुस्तदुरुस्त, पारदर्शी, जवाफदेही र अब्बल संगठनका रुपमा परिचित गराउनु मुख्य चुनौती रहेको छ । यसमा राई निकै खरो रुपमा प्रस्तुत भए बने उनले इतिहास रच्ने छन् । उनि अहिले परीक्षणको घडीमा छन् । अग्निपरीक्षामा खरो उत्रका लागि राईले संगठनको सफल सल्यक्रिया गर्नुपर्ने हुन्छ ।

संगठनमा भएका खराब किटाणुलाई नष्ट गर्नका लागि उनि कुन हदसम्म सफल हुनेछन् हेर्न बाँकीनै छ । त्यसका लागि केही कुरा निदान गर्न आवश्यक हुन्छ । त्यो भनेको पारदर्शिता, जवाफदेहिता, निष्पक्षता, चेन अफ कमाण्डमा कठोरता, गुटबन्दीको अन्त्य, राइट पर्सन राइट प्लेसको अवधारणामा प्रतिवद्ध, राज्यका निकायहरुसंग सन्तुलित र समन्वयात्मक भूमिकाको निर्वाह र  अन्य सुरक्षा निकायसँग रहेको तिक्तता हटाउँदै सम्बन्ध सुधार केन्द्रित कार्ययोजना मूलभूत विषयहरु हुन् ।

पछिल्लो समय नेपालका सुरक्षा निकाय आर्थिक अनियमितताका कारण बदनाम बन्दै गएका छन् । यसले सुरक्षा सङ्गठनको
नूर गिरेको छन् । नेपाल प्रहरीले बदनामको हद नाघेको छ । अहिले आएर यो रोग सशस्त्रमा सरेको छ । कामु महानिरीक्षक राईले अख्तियार गरेको पारदर्शिता र जवाफदेहिताको नीतिले सुरक्षा संगठनमाथि आमजनताले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्ने छन् । राईको असल स्वभाव र इमानदार कार्यशैलीले सशस्त्र प्रहरी बलमाथिको जनविश्वास ह्वात्तै बढेर जाने निश्चित छ । लोकतन्त्र स्थापना भएपछि अनियमितताको दलदलमा फसेको सुरक्षा संगठनको धूमिल छवि सुधार गर्नका लागि इमानदार प्रयासको खाँचो छ । त्यसका लागि राई उपयुक्त पात्र हुन् भन्ने कुरामा दुइमत रहन सक्दैन ।

सुरक्षा संगठन भित्र देखा परेको चरम गुटबन्दी अर्को प्रमुख समस्या हो । गुटबन्दी रहित सुरक्षा निकाय आजको आवश्यता हो । संगठनको प्रमुखको मार्गनिर्देशन अपनाउने पद्धतिको विकास भएमात्र संगठनले आफ्नो उदेश्य हासिल गर्न सक्दछ । सुरक्षा निकायलाई राजनितिक हस्तक्षेपबाट टाढै राख्नुपर्छ । यस्ता निकायहरुले स्वतन्त्र र निष्पक्ष भएर काम गर्न पाउनुपर्छ ।

राजनीतिक पूर्वाग्रह र आग्रहको अन्त्य गर्दै योग्यता र क्षमताको कदर भएमा मात्र सुरक्षाकर्मीको मनोबल बढ्छ । सरुवा र बढुवाको लागि चाकडी गर्ने परम्पराको अन्त्य हुन्छ । गरेर देखाउनुपर्छ भन्ने भावनाको विकास हुन्छ । सुरक्षा वृत्तमा एउटा चर्चित उक्ति छ । सेनाको शान, सशस्त्रको काम र  प्रहरीको दाम भनेर भन्ने गरिन्छ ।

सशस्त्र जनयुद्ध चरम उत्कर्षमा पुगेपछि देशको शान्ति सुरक्षाको स्थित जनपथ प्रहरीको नियन्त्रणमा रहन सकेन । तत्कालिन समयमा मुलुकको बिग्रदो परिस्थितिलाई सम्हाल्ने उदेश्यका साथ स्थापना भएको सशस्त्र प्रहरी बलको भूमिका अहिले पनि उतिकै सान्दर्भिक रहेको छ । विपद व्यवस्थापना, दंगा नियन्त्रण, संकटको समयमा उद्धार र राहत, विकास निर्माण, औधोगिक सुरक्षा, नेपाल प्रहरीको सहयोगीका रुपमा राजमार्गको सुरक्षा, सीमा सुरक्षा र अपराध नियन्त्रण जस्ता महत्वपूर्ण जिम्मेवारी सशस्त्र प्रहरी बलले सफलतापूर्वक निर्वाह गरेको छ । चाहे त्यो विनाशकारी भूकम्पको समयमा होस् या बाढी पहिरोको समयमा उद्धार र राहतमा महत्वपूर्ण भूमिका खेल्दै आएको यो संगठनलाई थप ऊर्जासहित गतिशिलता प्रदान गर्ने बिषयमा राईले ध्यान दिनैपर्छ ।

राईको कार्यकालमा संगठन विस्तार र पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिए उनले संगठनमा पुर्याएको योगदान कसैले भुल्दैन । यसका लागि सरकारलाई विश्वसमा लिन सक्नुपर्छ । संगठनमा दरबन्दी थप्नका लागि कार्यक्षेत्र विस्तार, जनताको मन जित्ने र उत्कृष्ट काम गरेर देखाउन सके उनले आफ्नो हैसियत निर्माण गर्नेछन् ।

विश्व शान्ति स्थापनाका लागि सशस्त्र प्रहरीको भूमिका फैल्याउने कदम चाल्न सक्नुपर्छ । त्यसका लागि क्षमतावान अधिकृतलाई मिसनमा पठाउने संगठनमा गरेको योगदानलाई कदर गरेर पुरस्कृत र दण्डित गर्ने नीति अख्तियार गर्नुपर्छ । युएनको रोजाइमा एपीएफ पर्न सक्ने परिस्थिति निर्माण गर्नसक्नुपर्छ । निर्विवाद र निष्कलङ्क छवि निर्माण गरेर अनियमितताको आरोपबाट मुक्त राख्न कुनै किसिमको प्रलोभनमा फस्नु हुँदैन ।

मुलुकको पुननिर्माणको जिम्मा पनि सशस्त्र प्रहरीलाई दिएको खण्डमा  यसले राष्ट्रलाई हित नै गर्ने छ । भारतीय सशस्त्र सीमा सुरक्षा बलले सीमा नाकामा जुन किसिमको जिम्मेवारी निर्वाह गरेको छ । नेपाल तर्फको सीमा नाका व्यवस्थित बनाउने र सीमा नाकामा सुरक्षा प्रदान गर्ने जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिनुपर्छ । अहिले पनि सीमानामा रहेका सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा थप अधिकार सहित उक्त क्षेत्रमा सशस्त्र बललाई खटाउने विषयमा सरकार गम्भीर हुनैपर्छ ।

लोकतन्त्र स्थापना भएपछि सुरक्षा निकाय राजनीतिक स्वार्थ अनूकुल प्रयोग हुँदै आएको छ । एउटा संगठनको प्रमुखले राजनीतिक नेतृत्वको कुरा नमाने र दबाब अस्विकार गर्न खोजे अर्को सुरक्षा निकायलाई उचाल्ने र अर्को संगठनको बिरुद्धमा प्रयोग गर्ने पद्धति र प्रवृत्ति  बढ्दै गएको छ । सुरक्षा निकायमा राजनीतिक भाइरस प्रवेश गर्नु त्यति राम्रो होइन । यसले संगठनको गतिविधिमा अबरोध खडा हुन्छ र सांगठनिक संरचनामा असर पर्छ ।

सशस्त्र प्रहरी बलको नियमावली परिवर्तन गरेर नेपाल प्रहरीले प्रयोग गर्दै आएको पक्राउ पूर्जी दिन र अभियुक्तलाई समात्न सक्ने अधिकार सशस्त्रलाई दिने गरि नियमावली संशोधन गरेर एकअर्काको क्षेत्राधिकार मिचिने गरि नियम निर्माण गरेपछि दुई संगठनको प्रमुखका बीचमा बोलचालनै बन्द भएको थियो । सार्वजनिक कार्यक्रमामा भेट हुँदा समेत एकअर्कालाई नहेर्ने, हात नमिलाउने र बात नगर्ने परिस्थिति सिर्जना भएको थियो । यसले दुई संगठनबीचको विवाद चरम उत्कर्षमा पुगेको थियो । यसले गर्दा मुलुकको शान्ति सुरक्षामा नै गम्भीर असर परेको थियो । सितयुद्धको अवस्थामा रहेका दुई सुरक्षा निकायको सम्बन्ध सुधार गर्ने र सम्बधलाई नयाँ उचाईमा पुर्याउने काम कामु महानिरीक्षकको अर्को चुनौती हो । यसमा राईले ठोस कदम चालेको जस्तो देखिन्छ । परिणामस्वरुप दुई सुरक्षा निकायका प्रमुख बिचमा हिमचिम निकै बढेको जस्तो देखिन्छ । पछिल्लो समय दुवै संगठनका प्रमुखहरु सार्वजनिक रुपमा नै एकसाथ रहन थालेका छन् । यसले मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने निश्चित छ ।

कायममुकायम महानिरीक्षक दुर्जकुमार राईले पारदर्शिताको ग्यारेन्टी र संगठनको व्यावसायिकतामा ध्यान दिन सके भने सशस्त्र प्रहरी बललाई नयाँ उचाई र पहिचान दिन सफल हुने छन् । र कान्छो संगठन उत्कृष्ट संगठनको रुपमा स्थापित हुनेछ । यसले नै राईको कार्यकालको निर्धारण गर्ने छ । उनि सफल आईजीपी हुनेछन् अथवा निरन्तरता यसको विषयमा टिप्पणी गर्नु अहिले हतारो
हुनेछ ।

प्रतिक्रिया