बिहीबार, माघ ८ २०७७
काठमाडौं १९:५०
वासिङटन डिसी 09:05

ताप्लेजुङ फाइनलमा

इनेप्लिज २०७२ पुष २९ गते १४:३६ मा प्रकाशित

DSC03855पाँचथर, २९ पुस । ताप्लेजुङ जिल्लाको कर्ण सिंह सोनाम मेमोरियल क्लब फिदिममा जारी पूर्वाञ्चलस्तरीय सातौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा काम्ब्राङ फुटवल क्लब सिक्किमलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै कर्ण सिंह सोनाम मेमोरियल क्लब फाइनल प्रवेश गरेको हो । खेल अवधिभर दबाबमा परेको सिक्किम खेलको तेस्रो मिनेटमै गोल खान पुगेको थियो । ताप्लेजुङ तर्फबाट खेलको तेस्रो मिनेटमै रोजिन धिमालले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफकै २७ औँ मिनेटमा सिक्किमका विकेश लिम्बूले गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ एक÷एक गोलको बराबरी सकिए पनि दोस्रो हाफमा ताप्लेजुङले उत्कृष्ट प्रर्दशन गर्दै लगातार चार गोल गर्न सफल भयो । ५५ औँ मिनेटमा पुन रोजिन धिमालले गोल गरी टिमलाई २–१ को अवस्थामा पुर्‍याए । ६३ औँ मिनेटमा दीपक राई, ७२ आँै मिनेटमा सेगुन इथेयो र खेलको इन्जुरी समयमा खमिर विल्सन लिम्बूले गोल गरी टिमलाई ५–१ को फराकिलो अन्तरमा विजयी गराए । आजको खेलमा दुई गोल गरेका ताप्लेजुङका रोजिन धिमाल म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन फिदिम स्पोटिङ क्लब र चर्च ब्वाइज यूनाइटेड क्लब काठमाडौँबीच खेल हुनेछ ।

नेपाल र भारतका गरी आठ टोली सहभागी प्रतियोगिताका विजेताले रु एक लाख ११ हजार १११ र उपविजेताले रु ५५ हजार ५५५ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम खेल आगामी माघ २ गते हुनेछ ।

प्रतिक्रिया