आइतबार, साउन १० २०७८
काठमाडौं १५:२९
वासिङटन डिसी 05:44

राष्ट्रघात हुने माग पूरा हुनै सक्दैन: उपप्रम रावल

इनेप्लिज २०७२ पुष २८ गते १३:०१ मा प्रकाशित

bhim-rawalनेपालगन्ज, २८ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले संविधानले अधिकार दिएन भन्नेहरु नेपाली जनताका हितैषी हुन नसक्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित नेकपा (एमाले) भेरी–कर्णाली अञ्चलस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आफुलाई मधेसका मसीहा र नेता भन्नेले संविधानप्रति जनतामा भ्रम छरेका छन्, मुलुकलाई द्वन्द्वको दिशामा लाने प्रपन्च गरेका छन् ।”

जातीयताका आधारमा प्रदेश निर्माण गर्नुपर्छ, आत्मनिर्णयको अधिकार दिनुपर्छ, सेनामा एक समुदायको समूहगत प्रवेश हुनुपर्छ भन्ने माग राष्ट्रघात गर्ने सोचबाट प्रभावित छ, यो माग कदापी पूरा हुँदैन’—उहाँले भन्नुभयो ।

नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनुभएका मन्त्री रावलले सम्पूर्ण नेपाली जनतालाई समान अधिकार दिएर जनताका प्रतिनिधिले बनाएको संविधानले मधेसी समुदायलाई विभेद ग¥यो भन्नु मधेसमा जमिन्दारी प्रथा कायम राख्ने मधेसी मोर्चाका नेताहरुको बठ्याई मात्र हो भन्नुभयो ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान निर्माण गर्ने शक्तिहरुबीच आपसी एकता हुनुपर्नेमा जोड दिँदै अहिलेको नेपाली राजनीतिको माग पनि यही हो भन्नुभयो ।

नेपालले अब छिमेकी राष्ट्र चीन र भारतसँग समानताका आधारमा सम्बन्ध विस्तार गर्नुपर्छ भन्दै उहाँले इतिहासबाट पाठ सिकेर आत्मनिर्भरताको बाटोमा मुलुकलाई हिँडाउन अनिवार्य भइसकेको उल्लेख गर्नुभयो ।

संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियानअन्तर्गत आयोजित दुई दिने कार्यकर्ता भेलामा पार्टीका उपमहासचिव घनश्याम भुसालले पनि बोल्नुभएको थियो ।

भेलामा भेरी र कर्णाली अञ्चलअन्तर्गत जिल्लाका करिब ५०० अगुवा कार्यकर्ताको सहभागिता छ ।

यसैबीच, उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलले बाँके जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै राष्ट्रसेवक कर्मचारी जनपक्षीय हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया