भूकम्पपीडितलाई निःशुल्क स्वास्थ्य शिविर

इनेप्लिज २०७२ पुष २६ गते ५:४३ मा प्रकाशित

मेलम्ची, २६ पुस । भौगोलिक विकटता, यातायातको अभाव, निम्न आर्थिक अवस्थालगायतका विभिन्न समस्याबाट ग्रसित र लामो समयदेखिको शरीरमा भएको रोग र स्वास्थ्य अवस्थाबारे बेखबर रहेका सिन्धुपाल्चोक जिल्लाको लिस्ती गाविसका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरणले ठूलो राहत पुगेको छ ।

‘फरक सोच’ नामक स्वदेशी संस्थाले विकट एवम् उच्च हिमाली क्षेत्रमा उक्त शिविर शनिबार सञ्चालन गरेको हो ।

शिविरमा दाँत, बालरोग, प्रसूति तथा चिसोबाट लाग्ने विभिन्न किसिमका रोगको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको संस्थाका अध्यक्ष शाङ्बु शेर्पाले बताउनुभयो ।

शेर्पाले भन्नुभयो – “यस क्षेत्रमा यातायातको असुविधा र आर्थिक अवस्था कमजोर भएका बासिन्दालाई मध्यनजर गर्दै भूकम्प जानु अघि र पछि गरी चार पटक शिविर सञ्चालन गरेका छौँ । यस शिविरबाट प्रत्यक्ष रुपमा ६०० भन्दा बढी बासिन्दालाई सेवा पुगेको छ ।” यस संस्थाबाट आउने दिनमा आँखा परीक्षणका साथै शल्यक्रियाको व्यवस्था पनि हुने गरी शिविर सञ्चालन गर्ने शेर्पाले बताउनुभयो ।

शिविरमा आउनुभएका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं १ नेपाली काँग्रेसका सभासद् मोहनबहादुर बस्नेतले भूकम्पपीडितलाई शिविर सञ्चालनले ठूलो राहत पुगेको र आउने दिनमा पनि उक्त संस्थाले सञ्चालन गर्ने कार्यमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिविर सञ्चालन हुने थाहा पाएपछि आफ्नो स्वास्थ्य परीक्षण गर्न लौरो टेक्दै आउनुभएकी ५८ वर्षीया वृद्धा छे शेर्पाले आफू ढाड, जोर्नी र पेट दुख्ने समस्या लिएर शिविरमा आएको र स्वास्थ्य परीक्षण र औषधिले रोग निको हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले स्वास्थ्य परीक्षण गर्न तातोपानीसम्म जानु नपरेकामा खुसी व्यक्त गर्नुभयो ।

धेरैजसो बालबालिका र वृद्धवृद्धामा चिसोका कारण निमोनिया देखापरेको र भौगोलिक विकटताका कारण उकालीओराली धेरै गर्नुपरेकाले विभिन्न रोग देखापरेका छन् ।

भौगोलिक अवस्था र भूकम्पले तहसनहस भएका यस क्षेत्रका बासिन्दाको स्वास्थ्य अवस्थामा समस्या देखिएको र पटक पटक यस संस्थाले सञ्चालन गरेको शिविरले सिङ्गो लिस्ती गाविसका बासिन्दालाई फाइदा पुगेको लिस्ती स्वास्थ्य चौकीका प्रमुख रेजिन्द्र सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया