तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ सार्वजनिक

इनेप्लिज २०७२ पुष २५ गते ५:०९ मा प्रकाशित

भक्तपुर, २५ पुस । तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गाल हिजो यहाँ सार्वजनिक गरिएको छ ।

चलचित्र निर्माण पक्षले भक्तपुरमा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र सार्वजनिक गरेको हो ।

आगामी फागुनको तेस्रो सातादेखि देशभरका हलमा प्रदर्शन गरिने उक्त चलचित्र तामाङ चलचित्र निर्माण भएकामध्ये पहिलो उच्च प्रविधि र ठूलो लगानीमा भएको निर्माता बिकु थोकरले बताउनुभयो ।

रु २५ लाखको लागतमा चलचित्र निर्माण सम्पन्न भएको हो । समाजका गरिब, निमुखा, बिपन्न र उत्पीडनमा परेका वर्गमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज उठाएको सो चलचित्रमा वर्तमान राजनीतिक विकृतिमाथि ब्यङ्ग्य प्रहार गरिएको छ ।

कार्यक्रममा तामाङ भाषाको पहिलो चलचित्र निर्देशक जयनन्द लामाले ‘म्लाङ प्वाँहार’ चलचित्र सार्वजनिक गर्दै आर्थिक अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले निकै आशा जगाएको बताउनुभयो ।

प्रतिक्रिया