सामाजिक उत्तरदाहित्व सहितको पत्रकारिता

इनेप्लिज २०७२ पुष २३ गते ८:५९ मा प्रकाशित

जहिल्यै समाचारको खोजीमा हुने मोरङ राजघाटका पत्रकार तेजन खड्काले समाचार लेखनसँगै सहयोगी हात पनि जुटाई दिन थाल्नु भएको छ ।उहाँले खुट्टाको मासु कुहिएर झर्न थालेपछि ओछ्यानमा थलिएका मोरङ राजघाट—७ का देवान तामाङको पीडा अनलाइन पत्रिकाहरू प्रकाशित गरिदिएपछि हङकङमा रहेका राजघाटवाशीबाट ५० हजार रुपैयाँ उपचार खर्च जुटाइदिनु भएको हो ।
‘आर्थिक अभावमा मृत्युसँग संघर्ष गर्दै ’ देवान भन्ने शीर्षकको समाचार खड्काले विभिन्न अनलाइनहरूमा प्रकाशित गरे लगत्तै राजघाटबाट हङकङ गई बसेका नेपालीहरूले सहयोग गरेको पत्रकार तेजन खड्काले बताउनु भयो । आफ्नो गाउँको साथीको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गर्ने राजघाटबासी हङकङेहरूले समाचार आउना साथ खड्कासँग सम्पर्क गरेका हुन् । सबै वास्ताविकता र अस्पतालको रिपोर्ट हेर्नासाथ त्यहाँ कार्यरत जीवन पोमुको सक्रियतामा नेपाली ५० हजार रुपैयाँ पठाइदिएपछि तामाङको उपचार सुरु भएको पत्रकार खड्काको भनाई छ । तामाङकी ११ बर्षीया छोरी अनिशालाई उक्त रकम हस्तान्तरण गरिसकेको खड्काको भनाई छ । तामाङको उपचारमा सहयोग पु¥याइरहनु भएका समिर तुम्बाहाम्फे,अरनिको उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र सुब्बाको रोहवरमा रकम प्रदान गरिएको हो । हङकङ र जापानमा रहनुभएकी ममता राना मगर र वालिका गुरुङले पनि खड्काले लेखेको समाचार हेरेर १० हजार सहयोग गर्नुभयो ।

पत्रकार खड्काले बिभिन्न देशमा रहेका राजघाटवाशीले उपचारका लागि थप सहयोग जुटाइदिने प्रतिवद्धता ब्यक्त गरेको बताउनु भयो । यसअघि स्थानीय मिनु लामा र मिनु तामाङ,नारायण बस्नेत,राजकुमार योन्जन लगायतका युवाहरुले पनि तामाङको उपचारका लागि ३० हजार रुपैंयाँ स्थानीय दुर्गापुरी बजारबाट संकलन गर्नुभएको थियो ।

यति मात्र होइन ,पत्रकार खड्काले राजघाट –९ की मुनाकुमारी धिमालको दुबै मिर्गौला फेल भएको बेला पनि ११ लाख रुपैयाँ जुटाउन सहयोग गर्नुभयो । उहाँ भन्नुहुन्छ–हामी समाचार लेखेर समस्या उठान मात्र गर्ने हौं । तर अनलाइनमा समाचार आएपछि विदेशमा रहेका गाउँका अग्रज दाजुहरूले तिम्रो अगुवाईमा उपचार खर्च संकलन सुरु गर्न अनुरोध गरेपछि मैले नाई भन्न सकेको छैन् । खड्का थप्नुहुन्छ–सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गरिरहेको बोध हुन थालेको छ । उपचार सुरु भएको झण्डै १८ महिना पछि मुनाको मृत्युभयो । छोरीको उपचारका क्रममा सबै सम्पत्ति सिध्याएका बिष्णुमायालाई ११ लाख सहयोग जुटाइदिँदा पनि २ लाख रुपैयाँ ऋण लागेको छ । खड्काको सामाजिक उत्तरदायित्व यत्ति मै सकिएको छैन् । उर्लाबारीकी ११ वर्षिया एलिसा धिमाल क्यान्सरबाट पिडित भएको बेला पनि खड्काले सहयोगको याचना सम्वन्धी समाचार लेख्नुभयो । बाबुले आफैंले कुदाउने गरेको रिक्सा बेचेर उपचार गरिरहेको समाचार छापिएपछि एलिसाको उपचार गर्नेको बाढी नै लाग्यो । विदेशबाट मात्र हैन् । स्वदेशमा पनि थुप्रै सहयोगी हातहरू जुटे । ७ लाख रुपैयाँ जम्मा भएको थियो । जसमध्ये ३ लाख रुपैयाँ उपचारमा खर्च भयो । तर ,एलिसाको पनि प्राण पखेरु जोगिएन । संकलन भएको मध्ये केही पैसाले एलिसाका बुवालाई सिटी सफारी किनीदिएको र बाँकी पैसाले एलिसा फाउण्डेसन गठन गरिने खड्काको भनाई छ ।खड्काले गत जेठमा ओछ्यानमा थलिएका राजघाट –७ का मोतीप्रसाद खतिवडा उपचार नपाएर छटपटाइरहेको समाचार लेख्नुभयो । कमजोर आर्थिक अवस्थाका मात्रै होइन ,कान समेत नसुन्ने खतिवडाको समस्यालाई खड्काले गज्जवले उठाउनु भयो । समाचार आए लगत्तै ,राम्रै सहयोग जुट्यो । आफन्त नातेदार समेत उपचार र अस्पतालको बारेमा कम जानकार भएपछि खड्का आफैंले खतिवडालाई उपचारका लागि चितवनको क्यान्सर अस्पताल लग्नु भयो । तर खतिवडाको रोग छिप्पिसकेकोले उपचार हुन सकेन ।

उपचार खर्च जुटाउने मात्र होइन, मोरङको इटहरा –१ सोमवारेमा फेला परेकी ८४ वर्षीया वृद्धालाई समेत खड्काले विराटनगर स्थित वृद्धाश्रममा थन्क्याउने काम गर्नुभयो । जहिल्यै चौरस्तामा बसेर मागी खाने ब्राम्हण समूदायकी वृद्धाको विजोग भन्ने शीर्षकमा समाचार लेखेपछि वृद्धाश्रमले पुर्नस्थापनाका लागि ल्याईदिन अनुरोध गरेपछि खड्काले आफैं भ्यानमा राखेर वृद्धालाई विराटनगर वृद्धाश्रम लगिदिनु भएको थियो ।
अशक्त दम्पत्ती कमल र कमला श्रेष्ठको लागि पनि उहाँले महत्वपूर्ण भुमिका खेल्नुभयो । यस्तै,इटहराका एकै घरका ५ जना अपाङ्गता भएका छोराछोरीकोलागि पनि समाचार लेखेर सहयोग जुटाईदिनुभयो । खड्का भन्नुहुन्छ, सामाजिक काममा सहकर्मी सरोज बस्नेत,बिजय धिमाल, बिबेक हिङमाङ,किशोर श्रेष्ठलगायतको हातेमालो रहने गरेको छ ।

त्यस्तै गत बैशाखमा गएको भुकम्पमा खड्का कुलझोडा समुहको टोलीसँग राहत वितरणमा पनि जानुभयो । दोलखा,सिन्धुपाल्चोक,नुवाकोट,धाधिङ लगायतका ठाउँमा राहत बाडिएको खड्काले बताउनुभयो । खड्का गाउँघरको विकास निर्माणमा पनि उत्तिकैसक्रिय हुनुहुन्छ । प्रायः ग्रामिण क्षेत्रको समस्यालाई आफ्नो समचार मार्फत उठान गर्नुहुन्छ ।

12467834_868945989891799_2001278139_n
पत्रकारिताका माध्यमबाट समाज रुपान्तरण गर्ने अभियानमा लाग्नु भएका २३ वर्षीय खड्का कुनै पत्रिकाको वेतनभोगी पत्रकार होइनन् । कान्तिपुर साप्ताहिक लगायत दर्जन बढी अनलाइन पत्रिकामा समाचार लेख्ने खड्का उर्लाबारी पेज नामको अनलाइन सञ्चालन गर्नुहुन्छ । पत्रकारिता कमाउन भन्दा पनि सामाजिक प्रतिष्ठाको लागि गरिरहेको बताउने खड्का भन्नुहुन्छ–आफ्नो गोजीमा चिया खाने पैसा हुँदैन,फोनमा ब्यालेन्स हुँदैन । तर समाजले पत्याइ सकेकोले आफ्नो समस्या लुकाएर समाजको समस्या बोकेर हिडिरहेको खड्काको पीडा छ । भन्नुहुन्छ– विधवा भत्ता थापेको पैसा आमासँग मागेर धेरै सामाजिक काम गर्न हिडेको छु । आमा मालती खड्का भन्नुहुन्छ–पैसा सबै कुरा होइन् ।खान लगाउन उसलाई दुख छैन् । नाम र सामाजिक प्रतिष्ठा कमायो,उसको बुवाको नाम राख्यो भने पुग्यो । खड्का पुर्व जिशिअ खगेन्द्रबहादुर खड्काका छोरा हुन् ।

12489303_900941876669345_9212459294190541388_o

प्रतिक्रिया