जातजाति मिले मात्र सङ्घीयता सुदृढ हुन्छ: नेता नेपाल

इनेप्लिज २०७२ पुष २२ गते १३:२५ मा प्रकाशित

Madhav_Kumar_Nepal2गाईघाट (उदयपुर), २२ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सबै जातजाति मिलेर बसे मात्र सङ्घीयता सुदृढ हुने बताउनुभएको छ ।

उदयपुर जिल्लाको हँडिया गाविस–२ स्थित ज्यामिरे झोरमा भर्खरै निर्माण सम्पन्न भएको श्री जनज्योति प्राथमिक विद्यालयको नयाँ भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले मधेस र जनजातिका नाममा अहिले भइरहेको आन्दोलनले सङ्घीयता र गणतन्त्रलाई नै सङ्कटमा पार्ने खतरा रहेको बताउनुभयो ।

मधेसका जनताका जायज माग सम्बोधन गर्न राजनीतिक दल तयार रहेको पनि उहाँले बताउनुभयो ।

उक्त कार्यक्रममा सहरी विकास राज्यमन्त्री तथा उदयपुर क्षेत्र नं २ का सभासद् मञ्जुकुमारी चौधरीले वर्तमान संविधानले महिला, दलित, मधेसी तथा आदिवासीलाई पर्याप्त अधिकार प्रदान गरेको दाबी गर्नुभयो ।

चार कोठे उक्त विद्यालय भवन रु २० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

उक्त भवन मलेसियाको भिभिआइ कम्पनी र हँडियाका समाजसेवी नरेन्द्र राउतको आर्थिक सहयोगमा एक वर्षभित्र निर्माण सम्पन्न गरिएको हो ।

नेता नेपाल बिहीबार सगरमाथा अञ्चलस्तरीय पार्टी प्रशिक्षण भेला र नयाँ संविधानको प्रचारात्मक अभियानका क्रममा आजै उदयपुर आइपुग्नुभएको हो ।

प्रतिक्रिया