सहमति नभए संविधान संशोधन प्रस्ताव पारित गरेर सरकार अघि बढ्छ: वरिष्ठ नेता खनाल

इनेप्लिज २०७२ पुष २२ गते १३:१८ मा प्रकाशित

jhalanath-khanalभक्तपुर, २२ पुस । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानका विवादित विषयमा मधेसी मोर्चासँग सहमति नबने संविधान संशोधन प्रस्ताव पारित गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

आज जिल्ला विकास समिति भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान: जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानमा बोल्दै उहाँले अब संविधान संशोधन प्रक्रिया नरोकिने दृढता प्रकट गर्नुभयो ।

“संविधानका विवादित विषयमा केही दिन अझै सहमतिको प्रयास हुँदैछ, कार्यदलमा हुने छलफलमा सहमतिको प्रयास हुन्छ,” खनालले भन्नुभयो – “सहमति भयो भने ठीक छ । सहमति नभए पनि तीन बुँदे संविधान संशोधन प्रस्ताव पारित गरेर अगाडि बढ्छौँ ।”

उहाँले भन्नुभयो – “केही तत्व सीमाङ्कनको विवाद ल्याएर घोषणा भइसकेको संविधानलाई पुनःलेखन गर्न सकिन्छ कि भनेर बिथोल्न खोज्दै छन् । आन्दोलनका नाममा तोडफोड गर्ने, ढुङ्गा हान्ने, बन्द गर्ने गर्दैछन् । अब जे गरे पनि संविधानलाई तलमाथि गर्न सक्दैन ।”

मधेसी मोर्चाले अङ्गिकृत नागरिकता पाउनेलाई पनि देशको मुख्यमुख्य पदमा जान पाउनुपर्ने भनी राखेको माग कुनै हालतमा पूरा गर्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले संविधानले महिला, जनजाति र दलितलाई समान अधिकार प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया