शनिबार, साउन ९ २०७८
काठमाडौं २२:५२
वासिङटन डिसी 13:07

समाचारले झस्किए गच्छदार

इनेप्लिज २०७२ पुष २२ गते ३:१८ मा प्रकाशित

20160102_132341झापा, २२ पुस । उपप्रधान एवम् भौतिक पूर्वधार मन्त्री विजय गच्छदारलाई ६ वर्षपछि मेची पुलको सम्झना आयो । ६ वर्षअघि उनले नै पुलको शिलन्यास गरेका थिए । पुलको शिलान्यास गर्दै गच्छदारले ३ वर्षभित्रमा निमाणकार्य नसकिए राजनीतिबाट हात धुने कसम खाएका थिए ।

६ वर्ष बितिसक्दा पुलको आधा पनि काम नभएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि गच्छदारका झस्किए । समाचार देख्नासाथ उनी पुल हेर्न शनिबार झापा आए । पुलको अवलोकन गरिरहँदा गच्छदारले ६ वर्षअघि सोही स्थानमा बोलेको कुरा सम्झिए ।
यसपटक उनले सन्यास लिने कुरा त गरेनन् । तर, पुलको निर्माणकार्य सन्तोषजनक नभएकोे गुनासो गरे । निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका गच्छदारले यही आर्थिक वर्षभित्र पुलको उद्घाटन गर्ने गरी निर्माण कार्यलाइ अघि बढाउन प्राविधिकलाई निर्देशन दिए ।

विकासको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासालाई सम्बोधन गर्दै उनले भने, ‘मैले नै शिलान्यास गरेको हुँदा यो पुलको उद्घाटन पनि म आफैँ गर्न चाहन्छु । आफूले करिब दुइसय पुलको शिलान्यास गरिसके पनि अन्य पुलभन्दा यो विषेश महत्व भएकाले बढी चासो राखेको उनले बताए ।

भद्रपुरका अधिकांश नागरिकले गच्छदारलाई ठेकेदारको ढिलासुस्तिका कारण समयमा पुल बन्न नसकेको सुनाए । ‘नकरात्मक सोच्नु हुँदैनँ । म मन्त्री भएकाले यतिको काम भयो,’ नागरिकका गुनासा सुनिसकेपछि गच्छदार जङ्गिए, ‘के यसलाई अब यत्तिकै छाडिदिउँ त ?’

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदारले पुलको अनुगमन पछि भद्रपुरमा कार्यकर्तासँग भेटघाट गरे । पुलको अनुगमनमा गच्छदारसँग सांसदद्धय जितु गौतम र सुमित्रा चौधरी, सडक विभागका महानिर्देशक माधवकुमार कार्की, सडकका क्षेत्रीय निर्देशक शिवहरी सापकोटा, मेची पुलका ठेकदार उमेश श्रेष्ठ, हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका योजना प्रमुख सैलेन्द्र त्रिपाठीलगायत थिए ।

सडकका महानिर्देशक कार्कीले हालसम्म ७५ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेकाले अब छिटै सम्पन्न हुने मन्त्रीलाई आश्वासन दिए । फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकले पुलको विषयमा भद्रपुरबासीको धेरै गुनासा आएकाले यसको समाधान अभिलम्ब गराइदिन गच्छदारसँग अनुरोध गरेका थिए ।

चार महिना अघिदेखी पुललाई हेर्दै आएका योजना प्रमुख त्रिपाठीले भने इन्धनका कारण काम छिटो नभएको वहाना बनाए । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सर्तसहित धरानकोे अनक सुर्य जेभी कन्ट्रक्सन कम्पनीले ३७ करोड ३६ लाख ८५ हजार रुपैयाँमा पुलको ठेक्का पाएको थियो । गच्छदारले ०६६ माघ २१ गते पुलको शिलन्यास गरेका थिए । भारतको बिहारसँग जोडिएको १७ वटा पिलरसहितको पुलको लम्बाइ ५६० मिटर छ ।

प्रतिक्रिया